मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १२ बिहीबार १६:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु बस दुर्घटना : नाै महिनापछि मृतकका परिवारले पाए बिमा रकम

Read Time : > 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १६:२५:००

मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले पाँच लाख रुपैयाँका दरले बिमा रकम पाएका छन्। बस दुर्घटना भएको करिब नाै महिनापछि मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले वितरण गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

छायानाथ यातायात प्रालिको पहलमा लुम्बिनी इन्स्योरेन्स प्रालिबाट निकासा भएको बिमाबापतको एक करोड ६५ लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको हो। गत असोज २६ गते नेपालगन्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस छायानाथ–रारा नगरपालिका– ७ पिना गाउँनजिकै तपने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गएको थियो। गाडीमा सवार अधिकांश विद्यार्थी थिए।

‘श्रीमान् गुमाएको नाै महिनापछि बिमा रकम पाइयो,’ छायानाथ–रारा नगरपालिका– ५ कार्कीबाडा गाउँकी २५ वर्षीया धौली कार्कीले भनिन्, ‘श्रीमान् फर्किने छैनन्। यो  पैसाले नाबालक तीन  छोरीलाई पालनपोषण र पठनपाठन गराउँछु।’ नेपालगन्जदेखि दसैँ मान्न घरतर्फ आएका उनका पतिसहित अन्य व्यक्तिको घरनजिकै दुर्घटनामा परी मृत्यु भयो। नाै वर्ष, सात वर्ष र तीन वर्षका नाबालक छोरी र बुढीसासूको पालनपोषण गर्ने पति गुमाउँदाको पीडा सम्झेर उनले दुखेसो पोखिन्।

उक्त दुर्घटनामा छोरी गुमाएकी मनरूपा बुढाको पीडा पनि उस्तै छ। ‘पैसाले छोरी फर्केर आउँदिनँ। दसैँ मान्न हिँडेकी छोरी घर आइनपुग्दै गाडी खसेर मृत्यु भएको खबर आयो,’ मनरूपाले गहभरि आँसु निकाल्दै भनिन्, ‘आमा म अबको आधा घन्टा–एक घन्टामा घर पुग्छु भनेर छोरीले फोन गरेकी थिइन्। तर, त्यो नै उनको अन्तिम शब्द भयो,’ उनी भक्कानिइन् 

बद्रीराम सावतको पीडा पनि उस्तै छ। आफ्ना १८ वर्षीय छोरा अम्मर सावतको मृत्युबापतको बिमा रकम बुझेर उनले भने, ‘छोरा त छैन। अब यही पैसाले बुहारीको पेटमा हुर्कँदै गरेको छोराको चिनो जन्मेपछि पालनपोषण र पठनपाठन गराउनेछु।’
 
गाडी दुर्घटनाका घाइतेहरूको उपचारका लागि हेलिकाेप्टरमा उद्धार गरी नेपालगन्ज लग्दाको यातायात भाडा र अस्पतालमा उपचार गराउँदाको उपचार खर्च नेपाल सरकारले दिने भनिए पनि हालसम्म निकासा नभएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए। मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार, कर्णाली प्रदेश सरकारले एक लाखका दरले रकम उपलब्ध गराएको उनको भनाइ छ।