१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
भेरी घटनामा मारिएका युवकका आमाहरू बुधबार गृह मन्त्रालय परिसरमा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भेरी नदी किनारमा नवराज विकसहित  ६ युवाको सालिक बनाउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१८:oo

गृहमन्त्री खाणले जनाए प्रतिबद्धता, दोषी खुलेआम हिँडेको भन्दै पीडित परिवारको गुनासो

जाजरकोटको भेरी नगरपालिका–८ रानागाउँका नवराज विकसहित ६ युवाको भेरी नदी किनारमा सालिक बनाउन पीडित परिवारले माग गरेका छन् । मृतकका आमाहरूले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरूले पीडितले न्याय पाउनुपर्ने र घटनास्थलमा मृतकका सालिक निर्माण गर्नुपर्ने माग राखेका हुन् । 

गृह मन्त्रालयमा भएको भेटमा नवराजकी आमा उर्मिलादेवी विक, गणेश बुढाकी आमा राधिका बुढा, टीकाराम नेपालीकी आमा गीता नेपालीलगायत सहभागी थिए । गृहमन्त्री खाणले मृतकका नाममा घटनास्थलमा पार्क निर्माण गर्ने र पार्कमा मृतकका सालिक निर्माण गर्न प्रतिबद्धता जनाएको नवराजकी आमा उर्मिलादेवीले बताइन् । ‘घटना भएको दुई वर्ष बित्यो, तर हामीले अहिलेसम्म न्याय पाएनौँ । अपराधी धरौटीमा छुटेका छन् । उनीहरूलाई पक्राउ गर्नुप¥यो । घटनास्थलमा मृतकको नाममा पार्क बनाउन र मृतकका सालिक राख्न गृहमन्त्रीसँग भनेका छौँ । उहाँले प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भनिन् । जाजरकोटबाट न्याय माग्न सोमबार काठमाडौं आइपुगेका उनीहरू मंगलबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । 

उर्मिलादेवीका अनुसार कसुरको मुख्य योजनाकार नवराजकी प्रेमिका र उनकी आमा हुन् । उनीहरूलाई जिल्ला अदालत रुकुम पश्चिमले धरौटीमा छाडेको थियो । कसुरका मुख्य योजनाकारहरूलाई पुनः पक्राउ गर्नुपर्ने उर्मिलादेवीको भनाइ छ । ‘मेरो छोरालाई मारेर भेरी नदीमा बगाए । जन्ती गएका अन्य पाँचजनालाई पनि मारेर फाले । घटनाको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरे पनि अदालतले धरौटीमा छाड्यो । उनीहरू खुलेआम गाउँ हिँडिरहेका छन् । यो देख्दा हाम्रो मुटु पोल्छ । दुई वर्ष बित्यो, घटना भएको । हामीले न्याय पाएनौँ । त्यही भएर हामी सिंहदरबार आएका हौँ,’ उनले भनिन् ।

घटनामा संलग्न भएको अभियोगमा दुई वर्षअघि नै पश्चिम रुकुम चौरजहारी गापा–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, सन्तोष मल्ल, वीरबहादुर मल्ल, रमेश मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्लसहित २३ जना पुर्पक्षका लागि कारागारमा छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले गाउँका ३४ जनालाई पक्राउ गरेको थियो । बाँकी ११ जनालाई भने प्रहरीले छाडेको छ । यहीक्रममा नवराजकी प्रेमिका र उनकी आमा हिरासतमुक्त भएका थिए । ‘हामी घटनामा संलग्न सबैलाई कानुनी कारबाही भएको हेर्न चाहन्छौँ । तर, त्यसो भएको छैन । घटनामा संलग्न छुटेका छन् । पुर्पक्षमा रहेकाहरूविरुद्ध पनि अदालतले अहिलेसम्म फैसला गरेको छैन । उनीहरूलाई जन्मकैद भएको हामी हेर्न चाहन्छौँ,’ उर्मिलादेवीले भनिन् ।

१० जेठ ०७७ मा दुलही लिन जानेक्रममा नवराज विकसहितका १९ जनामाथि रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँका स्थानीयले सांघातिक आक्रमण गरेका थिए । यसक्रममा नवराजसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । हत्यापछि भेरी नदीमा बगाइएका उनीहरूको शव नदीको किनारमा फेला परेको थियो । 

रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँकी एक युवतीसँग नवराजको प्रेम थियो । उनको अर्कैसँग विवाह गर्न लागेको खबर पाएपछि युवतीले नवराजलाई खबर गरेकी थिइन् । नवराज दुलही लिन जन्ती लिएर चौरजहारीस्थित उनको घर पुगे । तर, बाटो ढुकेर बसेका चौरजहारीका कथित उपल्लो जातिका युवाले नवराजसहितका जन्ती टोलीलाई घेरा हाले । उनीहरूविरुद्ध गाउँ उल्टियो । नवराज र उनका जन्तीविरुद्ध कुटपिट भयो । ज्यान जोगाउन सबै भाग्न थाले । तर, उत्तेजित युवाले उनीहरूको पिछा जारी राखे । जब उनीहरू भेरी नदीको छालमा बगेको पक्का भयो, अनि उनीहरू शान्त भएर गाउँ फर्किए । घटनामा अन्य १२ घाइते भएका थिए ।

ad
ad