१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
जिल्ला ब्युरो काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०६:१३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय गुणस्तरहीन मल किन्न बाध्य

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०६:१३:००

धादिङका किसान महँगोमा मल किन्न बाध्य 
मकै र धानमा मल हाल्ने समयमा युरिया मल अभाव भएपछि धादिङका किसान मर्कामा परेका छन् । करिब १० रोपनी जमिनमा मकैखेती गरेकी नीलकण्ठ नगरपालिका– १२ की सुशीला कुमालले भनिन् ‘मल नहाली खेती हुँदैन । मल आउला र हालेर गोडमेल गरौँला भन्दाभन्दै धेरै दिन बितिसक्यो । हामी त कृषिमै आश्रित छौंँ । उत्पादन घट्ने चिन्ताले पिरोलेको छ ।’ 

चैतेधान खेती गरेका किसान पनि मल नपाइने भएपछि नीलकण्ठ नगरपालिका–९ का तुलबहादुर गुरुङ दोहोरो मकै गोडेको बताउँछन् । उनले भने– ‘जेठभरिमा पनि मल पाइएलाजस्तो छैन । पछि हालेर काम छैन । जसरी नि मर्का किसानलाई नै हो ।’ मल अभाव भएपछि प्रतिबोहोरा दुई हजार आठ सय तिरेर किनेको एक किसानले बताए ।उनले भने ‘पैसाभन्दा मल महत्व छ यतिखेर । सरकारले मल दिन सकेन । व्यापारीले महँगो गर्‍यो भनेर के गर्नु, आखिर किन्नैपर्छ ।’ श्री नीलकण्ठ सहकारीले जिल्लाका किसानहरूलाई युरिया मल प्रतिबोरा एक हजार ३० रुपैयाँमा विक्रि गर्ने गरेको संस्थाका अध्यक्ष बलराम श्रेष्ठले बताए । तर, अहिले स्टोरमा मल नै नभएको उनको भनाइ छ । उनले भने– ‘२०७८ माघ देखि ४ जेठसम्म डिएपी ४५ र युरिया ४० बोरा मल आयात भएको थियो । प्रतिकिसानलाई १५ केजीका दरले वितरण गर्यौँ । सहज रूपमा वितरण गर्ने हो भने धादिङमा ३० हजार बोरा मल चाहिन्छ ।’ 

चितवनमा ३० हजार टन माग,आपूर्ति १० हजार टन
सुन किन्न पाइन्छ, तर मल किन्न पाइन्न हामी कस्ता देशका कृषक । चितवनको चर्को घाममा मध्याह्न १ बजे नारायणगढको साल्ट ट्रेडिङमा मल पाउने आसमा व्यावसायिक केराखेती गर्ने किसान धननाथ महतोले मल नपाएपछि गुनासो गरे ।   चिनवनमा वार्षिक ३० हजार टनभन्दा बढी मलको माग रहेको छ । तर, अघिल्लो वर्ष १० हजार टन मल मात्रै आयात भएको साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडको तथ्यांकले देखाउँछ । जिल्लामा यी दुई संस्थाले मल आपूर्तिको जिम्मा पाएका छन् । भरतपुर महानगरपालिकाको माग मात्रै ७५ सय मेट्रिक टन छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्य सहकारी संस्थाका व्यवस्थापक राजु पौडेल किसानको दबाब थेग्न नसकेपछि कम्प्लेसल रासायनिक मल वितरण गर्दै आएको बताए । उनले भने ‘मल कहिले आउँछ भन्ने कुनै टुंगो छैन ।’ 

 भैरहवामा एक लाख टन युरियाको माग, तर ४४ हजार टन मात्रै पाइने 
मागअनुसार सरकारले मल समयमै आयात गर्न नसक्दा यो वर्ष पनि मलको अभाव हुने देखिएको छ । अहिले सबैभन्दा बढी युरिया मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायणप्रसाद शर्माले बताए । ‘कृषकका लागि आवश्यक पर्ने डिएपी, पोटास र युरिया मलमध्ये कम्पनीसँग युरियामलको स्टक शून्य छ’ शर्माले भने ‘पोटास र डिएपीको हकमा माग आएमा केही समयका लागि धान्न सक्ने स्टक छ ।’  

कम्पनीले लुम्बिनी प्रदेशको रुकुमबाहेकका अन्य जिल्लामा मल पठाउँछ । रुकुमलाई सरकारले अर्गानिक जिल्लाको रूपमा बिकसित गर्ने निर्णय गरेका कारण मल नजाने उनले जानकारी दिए । त्यसैगरी, कम्पनीले गण्डकी प्रदेशको स्याङ्जा र पश्चिम नवलपरासी पनि हेर्ने गर्छ । त्यसैगरी, कर्णाली प्रदेशको सल्यान र सुर्खेत, सुदूरपश्चिमको धनगढी, डोटी र महेन्द्रनगरसम्म मल पठाउने काम गर्दछ ।

लुम्बिनी प्रदेशमा मागभन्दा ६० प्रतिशत कम मल आयात 
लुम्बिनी प्रदेश क्षेत्रमा वार्षिक एक लाख युरिया, ६० हजार टन डिएपी र पाँच हजार टन पोटास मलको माग रहेको छ । तर, प्रोदेशिक कार्यालयले माताहतका जिल्लाका लागि वार्षिक ४४ हजार तीन सय टन युरिया मल पठाउने लक्ष्य राखेको छ । किसानको माग र सरकारको आपूर्तिमा करिब ६० प्रतिशत अपुग हुने प्रादेशिक कार्यालयका प्रमुख शर्माले बताए । सहज रूपमा मल नपाइने भएपछि सीमावर्ती क्षेत्रका कृषक भरतीय बजारमा निर्भर हुन थालेका छन् । भारतमा विभिन्न कम्पनीका मल फरक–फरक मूल्यका उपलब्ध छन् । तर, नेपाली कृषकलाई महँगो मूल्यका बोरामा कम गुणस्तरको मल राखेर ठग्ने गरेको किसानको गुनासो छ ।

 गण्डकीमा छैन युरिया मल चैतेधान रोपेका किसानलाई समस्या
गण्डकी प्रदेशको सबै प्रदेशमा युरिया मल अभाव देखिएको छ । किसानले मकै गाड्ने समयदेखि नै युरिया मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका निमित्त प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए । ‘पोखरामा मात्र होइन, अहिले गण्डकी प्रदेशका कुनै पनि जिल्लामा युरिया मल छैन । देशभर नै अहिले युरिया अभाव छ’ उनले भने ‘कृषकले युरियाको सट्टा डिएपी मल प्रयोग गर्न सक्छन् ।’ तर, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरिया युरियाको चरम अभावले उत्पादनमै असर पर्ने बताउँछन् । किसानले मकै गोड्दादेखि नै युरिया नपाएको उनले जानकारी दिए । ‘एकातिर खाद्यान्नको आयात र मूल्य दुवै बढेको छ । यही उत्पादन बढाउन खोज्ने कृषकलाई पनि प्रोत्साहित गर्ने कसरी भन्नेजस्तो भएको छ’ उनले भने । 

उनका अनुसार चैतेधान लगाएका कृषकका लागि अहिले युरिया मलको तत्काल आवश्यकता छ । तर, बजारमा उपलब्ध नहुँदा कृषक समस्यामा छन् । गण्डकी प्रदेशमा वार्षिक सात हजार एक सय मेट्रिक टन युरिया मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका निमित्त प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए । तर, यो आर्थिक वर्षमा जम्मा तीन हजार ८१ मेट्रिक टन युरिया मात्र गण्डकी प्रदेशमा भित्रिएको छ । उनका अनुसार यो सबै खपत भएर अहिले शून्य मौज्दातको अवस्थामा छ । गण्डकीमा चार हजार १९ मेट्रिक टन युरिया मल मागभन्दा कम आपूर्ति छ । जम्मा मागमध्ये ७० प्रतिशत आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत आपूर्ति साल्ट ट्रेडिङ कर्पोरेसनले गर्ने गरेको छ ।  

 प्रदेश १ मा मौज्दात छैन डिएपी र युरिया 
मुख्य बाली धान रोप्ने सिजन नजिकिए पनि प्रदेश १ मा डिएपी, पोटास र युरिया मलको हाहाकार देखिएको छ । प्रदेश १ को विराटनगरस्थित कृषि कम्पनी र साल्ट ट्रेडिङ कम्पनीमा मल मौज्दात रित्तिएको छ । साल्ट ट्रेडिङ विराटनगरका प्रमुख  राधेश्याम चौधरीले गोदामा मल स्टक नभएको, तर २५ जेठसम्म आइपुग्ने बताए । उनका अनुसार विराटनगरमा मात्र पाँच हजार टन डिएपी मल आइपुग्नेछ । कृषि कम्पनी विराटनगरका स्टोर किपर होमप्रसाद पराजुलीका अनुसार सरकारले मल खरिदका लागि सम्झौता गरिसकेकाले धानबालीको सिजनमा आवश्यक डिएपी मल आइपुग्ने बताए ।

 प्रदेश १ मा चालू वर्ष हिउँदेबाली गहुँ र मकैका लागि पनि मोरङ र सुनसरीका कृषकहरूले रासायनिक ‘डिएपी’ मलको चरम अभाव भोगे । गहुँ र हाइब्रिड मकैबाली लगाउने पिक सिजनमा आवश्यकताअनुसार ‘डिएपी’ मल पाउन नसकेपछि कृषकहरू भारतीय बजारको भर पर्न बाध्य भए । मल अभावको फाइदा उठाउँदै भारतमा उत्पादन गरिएको भनिएका कम गुणस्तरीय पोटास र डिएपी मल वैधानिक मार्गबाटै ल्याएर बिक्री गरिए । चरम अभावले गर्दा कृषक बाध्य भएर महँगो मूल्यमा कम गुणस्तरीय मल खरिद गरेर प्रयोग गर्न बाध्य भए ।