‘ऐना झ्यालको पुतली’ फिल्म निर्माण गर्न आठ वर्ष लाग्यो । बनाएर थान्क्याएको पनि दुई–तीन वर्ष भइसक्यो । बल्ल हलमा प्रदर्शनको तयारी भइरहेको छ । यसबीच विदेशका केही फिल्म फेस्टिभलमा प्रदर्शन भए पनि नेपालमा भने देखाएको छैन ।
बुसान चलचित्र महोत्सवमा त मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म नै बन्यो । यस्तै, ढाका फिल्म फेस्टिभलमा एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड पनि जित्यो । हुन त मैले ‘ऐना झ्यालको पुतली’ विदेशी फेस्टिभलमा पठाउँछु भनेर बनाएको पनि होइन । नेपालकै हलमा देखाउन बनाएको हो । अर्को विषय मलाई मनमा लागेको कथा फिल्ममार्फत भन्नु थियो, भनेँ ।
विदेशमा महोत्सवमा मेरो फिल्म देखाउन पाएकोमा खुसी नै छु । फेस्टिभल फिल्म मेकरका लागि ‘एक्स्पोजर प्लेटफर्म’ पनि हो । यस्ता स्थानमा फिल्मको बजार र सम्भावनाको ढोका खुल्छ । तर, हामीले फिल्म फेस्टिभलका लागि मात्रै बनाएको हो कि भन्ने आशंका गरिन्छ, त्यो गलत हो । नेपालमा एक्स्पोजर नपाएर विदेशी बजारमा जानुपरेको हो । ‘ऐना झ्यालको पुतली’लाई पनि हलमा रिलिज गर्ने हो ? भनेर प्रश्न गर्छन् । कतिपयले ‘डकुमेन्ट्री’ हो ? भनेर सोध्छन् । हलमा नदेखाउने भए किन सिनेमा बनाउनु ? हलमा देखाउने सिनेमामा हिरो, फाइट हुनुपर्छ, दुई–तीनवटा गीत हुनुपर्छ भन्ने बुझाइ छ । हाम्रा लगानीकर्ताको बुझाइमा पनि यस्तै छ । हिरोको फाइट र गीत नभएको सिनेमामा निर्माताले लगानी सुरक्षित देख्दैनन् । झुर भए पनि फर्मुला सिनेमामा लगानी सुरक्षित देख्छन् । केही निर्मातामा त सिनेमामा पैसा नउठे पनि हिरो–हिरोइनसँगको फोटो सामाजिक सञ्जालमा हाल्न पाइन्छ भन्ने लोभ हुन्छ ।
हामी एउटा बुझाइबाट फिल्म निर्माण गरिरहेका हुन्छौँ, जसको कुनै मूल्य नै छैन । हाम्रो फिल्मलाई थोरै दर्शकले हेर्छन् । हाम्रो दर्शकमा सिनेमा लिट्रेसी छैन । यो भनिरहँदा दर्शक लिट्रेसी बढाउने पनि हाम्रै जिम्मा हो । विदेशतिर फेस्टिभलमा पठाउनकै लागि फिल्ममा बजेट छुट्याइएको हुन्छ । नेपालमा त फेस्टिभलमा जाने फिल्ममा बजेट छुट्याउनु कल्पना मात्रै हो । फेस्टिभलमा फिल्म पठाउन पनि खर्च छैन । फिल्म बनाउन मात्रै दुःख छैन्, फेस्टिभलमा पठाउन झन् दुःख छ । फिल्ममा निर्माताको दायित्व धेरै हुन्छ । फिल्म अध्ययन गरेर निर्माता बन्न आएका पनि छन् । नेपालमा निर्माताको स्टेटमेन्ट र इन्टेसन पनि निर्देशकले बनाइदिनुपर्ने हुन्छ । सिनेमामा जति काम हुन्छ, सबै निर्देशकले गर्नुपर्छ । धेरै काम गर्दागर्दै निर्देशक थाकेको हुन्छ ।
नेपालमा निर्देशन, अभिनय सिक्ने, छायांकन, सम्पादन गर्ने सबै छन् । तर, निर्माता बन्छु भनेर आउने कोही छैनन् । निर्माता आफ्नै सिकाइबाट बन्नुपर्छ । आधिकारिक रूपमा निर्माता बन्न सिक्ने ठाउँ नै छैन । निर्देशक, एक्टर बन्छु भनेर आएका नै पछि निर्माता बन्छन् । सिनेमालाई प्रडक्ट मान्ने हो भने यसलाई बिक्रीयोग्य बनाउनुपर्छ । यसको मार्केटिङ गर्ने काम पनि निर्माताको हो । निर्देशकजत्तिकै उत्तरदायी हुन्छ निर्माता । विदेशमा निर्देशकभन्दा निर्माताको भ्यालु धेरै हुन्छ ।
मैले फिल्म निर्माणका क्रममा धेरै आर्थिक समस्या झेल्नुपर्यो । आर्थिक अभावकै कारण सुटिङ रोक्नुपर्यो । करिब १० दिन सुटिङ गर्न सकिनँ । पैसा जुटाउन गाह्रो भयो । यस्ता खालका फिल्मलाई लगानी जुटाउनै गाह्रो छ । म मात्रै नभएर धेरै साथीले आर्थिक अभाव झेल्नुपरेको छ । सिनेमा बनाउन धेरै विषयले असर गर्ने रहेछ । कथा, बजेट छ, कलाकार सबै कुरा तयार छ । तर, पनि काम नहुँदो रहेछ ।