मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Wednesday, 12 March, 2025
अर्जुन अधिकारी काठमाडाैं
२o७९ जेठ ८ आइतबार o५:५o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्यका सात कर्मचारी विनानिम्तो गए डब्लुएचओको सम्मेलनका नाममा जेनेभा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार o५:५o:oo

डलर अभावले आर्थिक संकटमा फस्नबाट जोगिन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर खर्च कटौतीको प्रयास गरेको छ । तर, कर्मचारी भने उक्त संकटको प्रवाह नगरी कामविना नै विदेश सयरमा निस्किएका छन् । 

स्वास्थ्य मन्त्रालयका १० कर्मचारीको टोली विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को साधारणसभामा भाग लिन भन्दै स्विट्जरल्यान्डको जेनेभा गएको हो । स्वास्थ्यमन्त्रीसहित तीनजनाका लागि मात्रै औपचारिक निम्ता भए पनि मन्त्रालयका उच्चपदस्थ कर्मचारीदेखि मन्त्रीका स्वकीय सचिवसमेत थप सातजना जेनेभा गएका हुन् । डब्लुएचओको ७५औँ साधारणसभा आइतबारदेखि शनिबारसम्म सात दिन जेनेभामा हुँदै छ । 

डा. रोशन पोखरेल, स्वास्थ्यसचिव
मसहित मन्त्री र विभागका महानिर्देशकको खर्च सरकारले व्यहोर्छ । बाँकी को–को कहाँको खर्चमा हिँडेका हुन् मलाई जानकारी छैन । उनीहरूको खर्च राज्यले लगाएको छैन । उनीहरूको भ्रमणबारे मन्त्रीले निर्णय गरेकाले मलाई धेरै थाहा छैन ।

सम्मेलनका लागि डब्लुएचओले स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकको नाम र टिकट मात्रै पठाएको छ । स्वास्थ्यसचिव डा. रोशन पोखरेलले निम्ताबाहेकका कर्मचारी पनि टोलीमा रहेको स्विकारे । तर, उक्त निर्णय स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको उनको दाबी छ । को–को कहाँबाट, कसको खर्चमा आएको भन्नेमा आफू जानकार नभएको पनि उनले बताए । ‘मसहित मन्त्री र विभागका महानिर्देशकको खर्च सरकारले व्यहोर्छ । बाँकी को–को कहाँको खर्चमा हिँडेका हुन् मलाई जानकारी छैन । उनीहरूको खर्च राज्यले लगाएको छैन,’ उनले भने, ‘उनीहरूको भ्रमणबारे मन्त्रीले निर्णय गरेकाले मलाई धेरै थाहा छैन ।’

स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकबाहेक विभागको समन्वय महाशाखा प्रमुख डा. संगीता मिश्रा, प्रशासन शाखा प्रमुख मदन भुजेल, गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, योजना महाशाखाका उपसचिव प्रकाश अधिकारी भ्रमण टोलीमा छन् । त्यस्तै, निक सिमोन्स इन्स्टिच्युट (एनएसआई)का वरिष्ठ कार्यक्रम प्रबन्धक कासिम साह, मन्त्रीका निजी सचिव मधु मिजार र स्वकीय सचिव सुरज थापा पनि टोलीमा छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार उक्त भ्रमणमा एकजनाको दैनिक खर्च दुई सयदेखि दुई सय ५० डलर हुन्छ । 

हाल आर्थिक संकट व्यहोरिरहेको बंगलादेशले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । भ्रमण स्वीकृत भएका अधिकारीको पनि रद्द गरेको छ । तर, नेपालका स्वास्थ्यका कर्मचारी भने डब्लुएचओको सम्मेलनका नाममा घुम्नका लागि विदेश गएका छन् । 

जेनेभा सम्मेलनमा डब्लुएचओका सदस्यराष्ट्रका प्रतिनिधिमण्डल उपस्थित हुन्छन् । कार्यकारी बोर्डले तयार गरेको विशेष स्वास्थ्य एजेन्डामा सम्मेलन केन्द्रित हुनेछ । विश्व स्वास्थ्य सभाको मुख्य काम संगठनका नीतिहरू निर्धारण गर्ने, महानिर्देशक नियुक्त गर्ने, वित्तीय नीतिहरूको निरीक्षण गर्ने र प्रस्तावित कार्यक्रमको बजेटको समीक्षा र अनुमोदन गर्ने हो । स्विट्जरल्यान्डको जेनेभामा हरेक वर्ष स्वास्थ्य सम्मेलन हुने गर्छ । 

अतिरिक्त को–को गए ?
डब्लुएचओले निम्ता पठाएकाबाहेक स्वास्थ्य सेवा विभागको समन्वय महाशाखा प्रमुख डा. संगीता मिश्रा, प्रशासन शाखा प्रमुख मदन भुजेल, गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, योजना महाशाखाका उपसचिव प्रकाश अधिकारी भ्रमण टोलीमा छन् । त्यस्तै, निक सिमोन्स इन्स्टिच्युट (एनएसआई)का वरिष्ठ कार्यक्रम प्रबन्धक कासिम साह, मन्त्रीका निजी सचिव मधु मिजार र स्वकीय सचिव सुरज थापा पनि टोलीमा छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार उक्त भ्रमणमा एकजनाको दैनिक खर्च दुई सयदेखि दुई सय ५० डलर हुन्छ ।