![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/winner-representatives2022-05-21-03-13-23.jpeg)
लमजुङका आठ स्थानीय तहमध्ये तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाको बेँसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन । जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन् । जिल्लाको आठ स्थानीय तहमध्ये चार स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए ।
जिल्लाको बेँसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् । उनले नेपाली कांग्रेसका श्रीकान्त घिमिरेलाई हराएका हुन् । जिल्लाको मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन् । यसअघि पाँच वर्ष काम गरिसकेका पाण्डे पुनः एमालेका राजकुमार श्रेष्ठलाई हराएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । यस्तै, जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुन: एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले काग्रेसका लोकनाथ घिमिरेलाई पराजित गरी फेरि गाउँपालिकाको अध्यक्षको पदभार सम्हालेका हुन् । लमजुङको आठ स्थानीय तहमध्ये चारवटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ । लमजुङमा स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेस ,माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएकोे थियो । यसअघि ०७४ को स्थानीय तहमा लमजुङमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।
०७४ मा दुईवटा स्थानीय तह प्रमुख जितेको कांग्रेसले अहिले चारवटा स्थानीय तह प्रमुख र एउटा स्थानीय तहको उपप्रमुख जितेको छ । यसअघि पाँच स्थानीय तहको प्रमुख जितेको एमालेले अहिले चारवटा स्थानीय तह प्रमुख र पाँचवटा स्थानीय तहमा उपप्रमुख जितेको छ । यस्तै, ०७४ को स्थानीय तहमा दोर्दी गाउँपालिकाको प्रमुख र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख जितेका माओवादी केन्द्रले यसपटक राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख जितेको छ ।