१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Friday, 05 July, 2024
सुवास भट्ट काठमाडौं
रमेश रावल सुर्खेत
२o७९ जेठ ६ शुक्रबार o६:५o:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शीर्ष नेताहरूको गृहवडा/नगरमा कस्तो छ चुनावी नतिजा ?

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडौं
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार o६:५o:oo

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल

देउवा, ओली, खनालले आफ्नै गृहवडामा जिताउन सकेनन्

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् । देउवा मतदाता रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेस उम्मेदवार पराजित भएका हुन् । सो वडामा कांग्रेस (बिपी)का नरेश भण्डारीले वडाध्यक्ष जिते । प्रधानमन्त्री देउवा बस्ने बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेका मिठाराम अधिकारी र उनको गृह वडा १ मा एमालेकै सुरेन्द्र लामा विजयी भए । 

एमाले अध्यक्ष केपी ओलीको गृहवडामा कांग्रेस विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेसका प्रदीप कार्की एक हजार ५११ मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार विश्वराज विष्टले एक हजार ३०५ मत ल्याए । नगरपालिकामा भने एमालेले जितेको छ । 

ओलीको गृहनगर झापाको दमक नगरपालिकामा भने मतगणना जारी छ । नगरपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी र राप्रपाबीच गठबन्धन छ । गठबन्धनबाट प्रमुखमा राप्रपाबाट राम थापा र उपप्रमुखमा कांग्रेसबाट रेगिना भट्टराई उम्मेदवार छन् । एमालेबाट प्रमुखमा गीताकुमारी पौडेल अधिकारी र उपप्रमुखमा अम्बिकाप्रसाद खनाल छन् । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामा एमाले हारेको छ । नगरपालिकाको मेयरमा कांग्रेसका केदार थापा निर्वाचित भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीको स्थानीय तहमा एमाले हारेको छ । उनी मतदाता रहेको गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवालीले एमालेका हिमालकुमार श्रेष्ठलाई हराए । ज्ञवालीको घर रहेको वडा नम्बर ४ मा भने एमालेले नै जितेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मघर इलाम नगरपालिका–१ मा एकीकृत समाजवादी पराजित भएको छ । वडामा एकीकृत समाजवादीका वडासदस्यका उम्मेदवार इन्द्रबहादुर कटुवाल एमाले उम्मेदवारसँग पराजित भएका हुन् । बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मतदाता रहेको धादिङको गजुरी गाउँपालिकामै एकीकृत समाजवादी हारेको छ । गाउँपालिकामा माओवादीका गणेशलाल श्रेष्ठ विजयी भए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मतदाता रहेको डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा एमालेका दुर्गादत्त ओझा विजयी भए । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र गुरुङले माओवादीका नवराज पुडासैनीलाई पराजित गरे । श्रेष्ठको घर भएको वडा नम्बर ८ मा कांग्रेसका दलमान गुरुङ विजयी भएका छन् । माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहवडामा कांग्रेस विजयी भएको छ । शर्मा मतदाता रहेको रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका–५ मा कांग्रेसका समीरजंग मल्ल विजयी भएका हुन् । नगरपालिकाको मेयरमा भने माओवादी र कांग्रेसको प्रतिस्पर्धा छ । 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मतदाता रहेको गोरखाको पालुङटार नगरपालिकामा माओवादीका मेयरका उम्मेदवार विवश चिन्तन विजयी भएका छन् । जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङ पराजित भए । उनको गृहवडामा भने जसपाका कृष्णबहादुर परियार वडाध्यक्षमा निर्वाचित भएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर मतदाता रहेको सर्लाहीको बलरा नगरपालिकामा माओवादीले जितेको छ । मेयरमा माओवादीका उम्मेदवार रामाशंकरप्रसाद कुशवाहा विजयी भए । लोकतान्त्रिक समाजवादीका उम्मेदवार अभयकुमार सिंह पराजित भए । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिल झा मतदाता रहेको रौतहटको दुर्गा भगवती गाउँपालिकामा माओवादी विजयी भएको छ । माओवादीका उम्मेदवार शम्भुकुमार सिंह अध्यक्षमा विजयी भए । 

राप्रपाकी महामन्त्री कुन्तिकुमारी शाहीको गृहनगर दैलेखको नारायण नगरपालिकामा एमालेका लोमन शर्मा मेयरमा विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको गाउँपालिकामा माओवादी विजयी भएको छ । उनी मतदाता रहेको प्युठानको झिमरुक गाउँपालिकामा माओवादीका पितबहादुर महतरा क्षेत्री विजयी भएका छन् ।

जहाँ अहिले पनि मतगणना जारी छ

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा मतगणना जारी छ । नगर प्रमुख पदमा कांग्रेसका इन्द्रबहादुर बुढाथोकी एमालेका गोपालचन्द्र बुढाथोकीसँग पछि परेका छन् । शर्माको गृहनगर वडा नम्बर १ मा एमालेका रामकुमार राई विजयी भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदाता रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । मतगणनामा माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहालले १७ हजार मत कटाउँदा एमालेका विजय सुवेदीले बल्ल १४ हजार कटाएका छन् । ऊर्जामन्त्री पम्फा भुसाल मतदाता रहेको ललितपुर महानगरपालिकामा कांग्रेसको फराकिलो अग्रता छ । महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन दोब्बरभन्दा बढी मतान्तरसहित अगाडि छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल मतदाता रहेको बुटवल उपमहानगरपालिकामा कांग्रेसले फराकिलो अग्रता हासिल गरेको छ । उपमहानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेयले एमालेका बाबुराम भट्टराईलाई पछि पारेका छन् । पौडेलको गृहवडा नम्बर ८ मा भने कांग्रेस र एमालेको टक्कर छ । 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मतदाता रहेको विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता छ । कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइराला पाँच हजारभन्दा बढी मतान्तरले एमालेका सागरकुमार थापाभन्दा अघि छन् । 

राप्रपाका महामन्त्री धवलशमशेर राणा मतदाता रहेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपा पछि परेको छ । उपमहानगरको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट एमालेका पशुपतिदयाल मिश्राभन्दा करिब दोब्बर मतान्तरले अगाडि छन् ।

त्रियुगा–१२ को मतगणना अझै अन्योलमा
उदयपुरको त्रियुगा नगरपालिका–१२ को मतदान केन्द्रको विवादले मतगणना सुरु नभएपछि एकजना उम्मेदवार अदालत पुगेका छन् । त्रियुगा नगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार चित्रबहादुर कार्की तत्काल मतगणना गर्न वा विवादित मतदान केन्द्रमा पुनः मतदान गराउन माग गर्दै अदालत पुगेका हुन् । कार्कीले मतगणना गर्ने भए छिटो गर्न र पुनः मतदान गराउने भए पनि छिटो गराउन माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् । ‘बिहीबार उच्च अदातलका न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटलाई के कति कारण विवाद भएको भनी कारण देखाउन आदेश दिएको दिएको छ,’ उनले भने । 

जो आफ्नो गृहवडा/पालिकामा पार्टीका उम्मेदवार जिताउन सफल भए

कांग्रेस नेता रामचन्द्र पौडेल मतदाता रहेको व्यास नगरपालिका–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका काशीराम श्रेष्ठले चुनाव जिते । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मतदाता रहेको सुर्खेतको गुर्भाकोट नगरपालिका मेयरमा कांग्रेसका हस्त पुन विजयी भएका हुन् । खड्काको घर रहेको वडा नम्बर ८ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार किरणकुमार विक विजयी भए । 

कांग्रेस उपसभापति धनराज गुरुङ मतदाता रहेको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र उनको घर रहेको वडा नम्बर २ मा पनि कांग्रेस नै विजयी भएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस विजयी भएको छ । माओवादीसँग गठबन्धन गरेर नगर प्रमुखमा प्रतिस्पर्धा गरेका कांग्रेसका गणेश पोखरेलले एमालेका असारु राजवंशीलाई पराजित गरेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाको वडामा कांग्रेस विजयी भएको छ । काठमाडौं महानगरपालिका–३० को वडाध्यक्षमा कांग्रेसका दलबहादुर कार्की विजयी भएका छन् । माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन मतदाता रहेको रोल्पा नगरपालिकामा माओवादी विजयी भएको छ । नगरपालिकाको मेयरमा माओवादीका सुरेन्द्र थापाले कांग्रेसका शेरबहादुर थापालाई पराजित गरे । महराको वडा नम्बर १ र पुनको वडा नम्बर ७ मा माओवादीले जितेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले मेयर जितेको छ । पार्टीका उम्मेदवार शम्भु साहले लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्तालाई पराजित गरे । नेपाल बस्ने काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको भने मतगणना जारी छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पालिका हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी भएको छ । राजेन्द्रका भाइ रवीन्द्रले दोस्रो कार्यकालका लागि हल्दिबारी गाउँपालिका अध्यक्षमा जित हासिल गरेका हुन् । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् । 
 

ad
ad
ad
ad