१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नवीन अर्याल काठमाडाैं
२०७९ जेठ ४ बुधबार ०९:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार सय ८० आरोही सगरमाथा चुचुरोमा

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ जेठ ४ बुधबार ०९:००:००

यो सिजनमा अनुमति लिएका बाँकी आरोही पनि यसै साता शिखरमा पुगिसक्ने पर्यटन विभागको भनाइ

चालू वर्षको वसन्तकालीन सिजनमा शेर्पासहित चार सय ८० आरोहीले सगरमाथाको चुचुरो चुुमेका छन् । अधिकांश आरोही यसै हप्ताभित्र शिखरमा पुगिसक्ने पर्यटन विभाग पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले बताए । नयाँ अनुमति लिने र छिटपुट आरोहीहरू ३१ मेसम्म सगरमाथा चढ्ने क्रम जारी रहनेछ ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म नेपालसहित ५८ देशका तीन सय १७ आरोहीले अनुमति लिएका छन् । वसन्त ऋतुका लागि अझै आरोहणको अनुमति लिने क्रम जारी नै छ । विभिन्न मुलुकबाट आएका आरोहीलाई चुचुरोसम्म पुर्‍याउन शेर्पालगायत सहयोगी कर्मचारीहरू पनि शिखरसम्म पुग्ने गर्छन् ।

सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा चढ्न विभिन्न देशका चार सय आठ आरोहीले अनुमति लिएका थिए, जसमध्ये एक सय ८३ आरोही र दुई सय ७६ सहयोगी कर्मचारी गरी चार सय ५९ सगरमाथा चुचुरोमा पुगेको विभागका अधिकृत भट्टराईले बताए । विभागका अनुसार आरोहणका सहयोगी दलले विभागबाट अनुमति लिनुपर्दैन । यस वर्ष हिमाल आरोहणका लागि मौसमले पनि साथ दिएको उनको भनाइ छ ।

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पासहित ११ जनाको टोलीले ७ मे (२४ वैशाख)को साँझ चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएपछि यस सिजनको विधिवत् सगरमाथा आरोहण सुरु भएको थियो । कामिरिता शेर्पाले आफ्नो यसअघिको रेकर्ड तोड्दै २६औँपटक सगरमाथा चढेका छन् । यही सिजनमा लाक्पा शेर्पाले १०औँपटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमानी बनाएकी छिन् । 

गायक राजु लामासाहित २७ जनाको टोली सोमबार बिहान ६:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यस्तै, अश्वेत अल्पसंख्यक समुदायबाट ‘अल ब्ल्याक अमेरिकन’ टोली चुचुरोमा पुगेर अश्वेत समुदायबाट सामूहिक रूपमा सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन् । 

‘फुल सर्कल एभरेस्ट’ नाम दिइएको पूरै अश्वेतहरूको टोलीबाट १० जनाले अनुमति लिए पनि गत बिहीबार ६ जना मात्रै शिखरमा पुग्न सफल भएको सांग्रिला नेपाल ट्रेक प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताए । 

यस सिजनमा सगरमाथा आरोहणका लागि ५८ देशका तीन सय १७ जनाले अनुमति लिएका छन्, जसमध्ये ७३ महिला छन् । सगरमाथा आरोहणका लागि अमेरिकाबाट ६५, बेलायतबाट ३४, रसियन फेडेरेसनबाट १७, नेपालबाट २१, भारतबाट २३, फ्रान्सबाट १३, चीनबाट १४, क्यानडाबाट १७, अस्ट्रेलिया र अस्ट्रियाबाट ११–११ जनाले अनुमति लिएका छन् । यीमध्ये धेरै चुचुरोमा पुगिसकेको र कतिपय विभिन्न शिविरबाट उकालो लागिरहेको पर्यटन विभागले जनाएको छ ।