१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार महिनामा नै सवा तीन अर्बको जीवन बिमा पोलिसी सरेन्डर

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१५:oo

विगत चार महिनाको अवधिमा तीन अर्ब १४ करोड रुपैयाँबराबरका २५ हजार तीन सय ५२ वटा बिमा पोलिसी सरेन्डर भएका छन् । बिमा समितिको तथ्यांकअनुसार गत पुस महिनादेखि चैतसम्ममा सो रकमबराबरको पोलिसी सरेन्डर भएको हो । तुलनात्मक रूपमा प्रतिमहिना सरेन्डर रकम बढ्दै गएको छ । 

समितिको तथ्यांकअनुसार गत पुस महिनामा ६६ करोड २५ लाख रुपैयाँबराबरका ६ हजार सात सय ५८ वटा बिमा पोलिसी सरेन्डर भएका छा्  । माघ महिनामा ६१ करोड १७ लाख रुपैयाँबराबरका चार हजार नौ सय २५ वटा पोलिसी सरेन्डर भएका छन् । फागुन महिनामा ८६ करोड ८४ लाख रुपैयाँबराबरका पाँच हजार नौ सय ५७ वटा बिमा पोलिसी सरेन्डर भएका छन् भने चैत महिनामा एक अर्ब ६६ लाख रुपैयाँबराबरका सात हजार सात सय १२ रुपैयाँबराबरको बिमा पोलिसी सरेन्डर भएको छ । 

बिमा पोलिसी सरेन्डर गर्दा ९० प्रतिशत रकम फिर्ता
बिमितले बिमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बिमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुनेछ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिनेछ ।बिमा समितिले जीवन बिमालेख निर्देशिका, २०७८ जारी गर्दै बिमा पोलिसी समर्पण मूल्य निर्धारण गरेको छ । निर्देशिकाअनुसार बिमा पोलिसीअनुसार फरक–फरक रहेको छ । निर्देशिकाअनुसार सावधिक तथा अग्रिम भुक्तानी सावधिक बिमालेखको सरेन्डर मूल्य समितिले निर्धारण गरेको मितिअनुसार गणना गर्नुपर्नेछ । सोबाहेकको पोलिसीको हकमा भने बिमकले बिमांकीबाट सरेन्डर मूल्य गणना गर्ने विधि तयार गरी स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था गरेको छ । 

एकल बिमाशुल्क भुक्तानी बिमा पोलिसीको हकमा भने बिमा पोलिसी जारी भएको तीन वर्ष पूरा भएपश्चात् बिमाशुल्कको ८० प्रतिशत रकम र आर्जित बोनस फिर्ता हुनेछ । बिमालेख जारी भएको चार वर्ष पूरा भएपश्चात् बिमाशुल्कको ८५ प्रतिशत र आर्जित बोनस फिर्ता गर्नुपर्नेछ । बिमा पोलिसी जारी भएको पाँच वर्ष पूरा भएपश्चात् बिमाशुल्कको ९० प्रतिशत र आर्जित बोनस फिर्ता हुनेछ । पोलिसी सरेन्डर भ्यालु कम्पनीको बोनस दरमा निर्भर हुने हुँदा बिमितहरूले पोलिसी खरिद गर्दा बोनसमा बढी फोकस गर्नुपर्ने नेपाल बिमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । बिमा समितिले कम्पनीसँग नै सरेन्डरको गणना विधि माग गर्ने हुँदा बोनस कम भएका पोलिसीको सरेन्डर मूल्य थोरै मात्र हुने उनको दाबी छ । 

पोलिसी सरेन्डर गर्दा बिमित र कम्पनी दुवैलाई घाटा हुने बिमा समितिका प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता राजुरमण पौडेलले बताए । उनका अनुसार केही अभिकर्ताले बिमितलाई फकाएर पोलिसी सरेन्डर गर्न लगाएको भन्ने पनि सुनिएको छ । तर, यसले अभिकर्ताबाहेक अरूलाई नाफा नहुने उनको तर्क छ । 

पोलिसी बिक्री गरेबापत अभिकर्ताहरूले कम्पनीबाट निश्चित रकम कमिसन पाउँछन् । समितिको ऐनमा नै यस्तो व्यवस्था गरिएको छ । ऐनअनुसार अभिकर्ताले बिमितको आवश्यकता हेरी बिमितलाई बिमा पोलिसीको सल्लाह दिनुपर्छ । तर, अभिकर्ताले बढी कमिसनका लागि बिमितलाई फकाएर पोलिसी सरेन्डर गर्न लगाउने गरेको पाइएको छ । एउटा कम्पनीको पोलिसी सरेन्डर गरी अर्को कम्पनीको पोलिसी खरिद गर्न लगाई अभिकर्ताले धेरै कमिसन आम्दानी गर्ने गरेको जानकारहरू बताउँछन् ।

पोलिसीको फाइदाबारे अनभिज्ञ बिमितिहरू
नेपालमा अझै पनि बिमा पोलिसीका बारेमा बुझेर खरिद गर्ने बिमितको संख्या धेरै कम छ । आफन्त, साथी वा चिनेजानेका अभिकर्ताले जबर्जस्ती गरेपछि पोलिसी खरिद गर्ने प्रचलन अझै व्याप्त छ । यसरी पोलिसी खरिद गर्दा बिमितले पोलिसीको विस्तृत जानकारी नलिने गरेको बिमा समितिको भनाइ छ । 

नेपालमा सञ्चालित बिमा कम्पनीहरूले धेरै प्रकारका बिमा पोलिसी सञ्चालन गरेका छन् । सबै पोलिसी सबै व्यक्तिका लागि उपयोगी नहुन सक्छन् । त्यसैले बिमितले आफ्नो आवश्यकता र क्षमताअनुसारको पोलिसी खरिद गर्नुपर्छ । तर, नेपालमा धेरै मानिस बिमाप्रति सकारात्मक नहुँदा नेपालमा अझै पनि बिमा फोर्सफुल्ली व्यवसाय मात्रै बनेको छ । त्यसैले अभिकर्ताले बिमा पोलिसी बिक्री गर्दा बिमितलाई राम्रोसँग सम्झाएर मात्रै पोलिसी बिक्री गर्नुपर्ने समितिका प्रवक्ता पौडेलको भनाइ छ । 
 

ad
ad