काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन भन्ने भाष्यविरुद्ध काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा यसपटक ‘स्वतन्त्र’ उम्मेदवारको उपस्थिति सशक्त देखिने अनुभव गरिएको छ । मतगणनाको सम्पूर्ण कार्य सम्पन्न गर्न अझै कति दिन लाग्ने हो, यकिनसाथ केही भन्न सकिने अवस्था छैन । मतगणना प्रक्रिया जति–जति अगाडि बढ्छ, हालको अवस्थामा परिवर्तन पनि आउन सक्छ । यहाँ हालसम्मको मतगणनाका आधारमा सतहमा पोखिएको ‘स्वतन्त्र’ प्रवृत्तिबारे चर्चा गर्ने प्रयास गरिएको छ । त्यसो त निर्वाचन सम्पन्न भएका सात सय त्रिपन्न स्थानीय तहबारे अहिल्यै निष्कर्ष निकाल्ने प्रयत्न गर्नु निश्चय पनि हतार हुनेछ । मतगणनाको गति हेर्ने हो भने केही अपवादबाहेक अहिले जेजति परिणाम प्राप्त भइरहेका छन् तिनलाई प्रारम्भिक मान्दा नै उपयुक्त हुन्छ । मत परिणामको अवस्था प्रारम्भिक नै भए पनि यसबाट केही संकेतको बोध भने अवश्य गर्न सकिन्छ र गर्नु पनि पर्छ ।
देशको संघीय राजधानी काठमाडौं, मधेस तथा धनगढीलगायत केही सहरी क्षेत्रमा ‘स्वतन्त्र’ उम्मेदवारप्रति मतदातमा देखिएकोे आकर्षण बडो अर्थपूर्ण छ । यस क्रममा काठमाडौंमा बालेन (बालेन्द्र) साह, जनकपुरमा मनोज साह, धनगढीमा गोपाल हमाल, बर्दीबासमा प्रल्हादकुमार क्षेत्री, धुलिखेलमा विदुर बस्नेतजस्ता ‘स्वतन्त्र’ले अहिलेको प्रतिस्पर्धामा आफूहरूलाई अग्रस्थानमा स्थापित गर्दै लोकतन्त्रमा दलीय उम्मेदवारलाई चुनौती दिइरहेका छन् । यो सूची यतिमा मात्र सीमित छैन । विराटनगरमा उमेश यादव, धरानमा हर्क साङपाङ, जनकपुरमा बलराम महतो र जानकीशरण साह, भरतपुरमा जगन्नाथ पौडेल, पोखरामा गनेस पौडेल, काठमाडौंमा सुमन सायमी, जुम्लामा राजुसिंह कठायत र धनबहादुर कामी आदि यस्तै केही थप नाम हुन्, जसले सम्बन्धित पालिकामा निर्वाचनको सम्पूर्ण समीकरण प्रभावित गर्न सक्छन् ।
उल्लिखित नाममध्ये कतिपयले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै विजय प्राप्त गरेछन् भने आश्चर्यको विषय हुनेछैन । माथि चर्चा गरिसकियो, अहिलेको मत परिणामलाई प्रारम्भिक मान्नुपर्छ । अन्तिम परिणाम जे पनि हुन सक्छ । अहिले सशक्त देखिएका ‘स्वतन्त्र’ले अपेक्षित परिणाम प्राप्त नगर्न पनि सक्छन् । तर, यिनको प्रभावलाई अस्वीकार गर्न सकिने स्थिति भने छैन । यहाँ उल्लिखित अधिकांश नाम सम्बद्ध दलसँग विद्रोह गरी स्वतन्त्रको चोला भिरेकाहरू हुन् । केही नाम यथार्थमै स्वतन्त्र हुन् । उनीहरू सामाजिक अभियन्ता हुन् । त्यसो त यहाँ उल्लिखित यी नामबाहेक अन्य नाम पनि हुन सक्छन्, जो कम महत्वपूर्ण छैनन् । तर, अहिले देशव्यापी रूपमा चर्चाको शिखरमा छन् बालेन साह । यहाँ उनकै सन्दर्भमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
बालेनले चुनाव जित्लान् या हार्लान्, त्यो पछिको विषय हो, तर अहिले उनको उम्मेदवारी र हालसम्मको मतपरिणामले आफूहरूले देशको राजनीतिको मूलधारलाई नियन्त्रणमा राखिरहेको दाबी गर्नेहरूलाई पक्कै पनि सोच्न बाध्य बनाएको हुनुपर्छ
देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका प्रमुखका लागि ‘स्वतन्त्र’ रूपमा प्रस्तुत भएका बालेनले चुनाव जित्लान् या हार्लान्, त्यो पछिको विषय हो, तर अहिले उनको उम्मेदवारी र हालसम्मको मत परिणामले आफूहरूले देशको राजनीतिको मूलधारलाई नियन्त्रणमा राखिरहेको दाबी गर्नेहरूलाई पक्कै पनि सोच्न बाध्य बनाएको हुनुपर्छ । बालेनका पक्षमा काठमाडौँले व्यक्त गरेको जनमत दलहरूका लागि चुनौतीको विषय हो भन्नु असंगत हुनेछैन ।
बालेनले पाएको मतलाई दलहरूप्रतिको वितृष्णाका रूपमा मात्र बुझ्नु अनुचित होला, तर बालेनप्रतिको मत अभिव्यक्तिलाई दलहरूले निश्चित रूपमा विश्लेषण गर्नु भने जरुरी छ । काठमाडौँमा देखिएकोे ‘बालेन क्रेज’ राजनीतिक दलका लागि निश्चय पनि ठूलो पाठ बन्न सक्नेमा विमति हुन सक्दैन । काठमाडौँका जनताले परिवर्तन चाहेका छन् भन्ने पक्का हो । राजनीतिक, सामाजिक, आर्थिक र विकासका सन्दर्भमा कार्यक्रमसहितको स्पष्ट रोडम्याप चाहेका काठमाडौंका मतदाताले निश्चय पनि राजनीतिक दललाई खबरदारी गरेका हुन् । विश्वको आधुनिक सहर र राजधानी बन्ने आकांक्षाका सन्दर्भमा काठमाडौँले विगत लामो समयदेखि राजनीतिक दलबाट आश्वासन प्राप्त गर्दै आएको हो । यसपटकको काठमाडौँको अभिव्यक्ति विगतका ती आश्वासन पूरा हुन नसकेकोप्रतिको असन्तुष्टि पनि हो ।
कांग्रेसका संस्थापक बिपी कोइरालाले पार्टी र सरकार सञ्चालनका सन्दर्भमा समावेशी र बहुलवादको अवधारणा कार्यान्वयनलाई जोड दिएका थिए । ०१५ को निर्वाचनमा सहभागी उम्मेदवार र त्यसपछि बिपीको नेतृत्वमा गठित सरकारको विश्लेषण गरियो भने यो स्पष्ट हुन्छ । बिपीकोे अवधारणालाई उनकै दलले पनि निरन्तरता प्रदान गर्न नसकेको भनी आलोचना भइरहेको अवस्थामा अन्य दलबाट समावेशी र बहुलवाद कार्यान्वयनको अपेक्षा गरिनु नितान्त अनुचित हुन्छ । बालेनप्रतिको जनअभिव्यक्तिलाई समावेशी र बहुलवादको पक्षमा खबरदारीका रूपमा पनि बुझ्दा अनुचित हुँदैन ।
विशेषगरी युवा मतदातामा बालेनप्रति जबर्जस्त ‘क्रेज’ देखिएको छ । त्यसो त यो क्रेज एक दिनमा बनेको होइन । बालेनप्रतिको क्रेजको निर्माण बालेन स्वयंको व्यवहार, प्रस्तुति र दृष्टिकोणका आधारमा त भएकै हो तर यसको निर्माणमा विगतमा सञ्चालित सामाजिक अभियान र सामाजिक सञ्जालको भूमिका पनि कम महत्वपूर्ण छैन । पछिल्ला समयमा काठमाडौंकेन्द्रित सामाजिक यान्त्रिकीकरण (सोसल इन्जिनियरिग) सँग सम्बन्धित कार्यक्रमको प्रभावको परिणामका रूपमा बालेन र उनले प्राप्त गरेको जनस्वीकृतिलाई लिन सकिन्छ । नेपाली राजनीति खास उमेर समूहको नियन्त्रणमा रहेको अनुभव गरिरहिएको समयमा बालेनप्रतिको मत रुझानले राजनीतिमा युवा हस्तक्षेपको आग्रह पनि राख्छ भन्दा गलत नहोला ।
देशको राजधानी काठमाडौंलाई सत्ता सञ्चालकहरूले जहिल्यै आफ्नो पक्षमा प्रयोग गरे । यहाँ काठमाडौं र सिंहदरबारको सत्तालाई फरक–फरक रूपमा बुझ्नु जरुरी छ । एउटा सार्वकालिक भाष्यको निर्माण गरियो, काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन । यो भाष्य निर्माणमा सत्ता अर्थात् सिंहदरबारको महत्वपूर्ण भूमिका रह्यो । यो भाष्य सर्वथा गलत थियो र छ । यसै भाष्यविरुद्ध काठमाडौं अर्थात् काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन । इतिहास साक्षी छ, सत्तामा रहेकाले आफ्ना पक्षमा जहिल्यै सुरक्षा घेराको निर्माण गरे र अन्यलाई आफूभन्दा पर रहन बाध्य बनाए । यस सन्दर्भमा सिंहदरबारले काठमाडौंलाई ‘कार्ड’का रूपमा प्रयोग गर्यो । विभिन्न नाममा जहिल्यै काठमाडौं र बाहिरियाबीचको दूरी बढाउने प्रयत्न गरियो । यस प्रवृत्तिले कालान्तरमा परम्पराको रूप धारण गर्यो । कुनै दुई मत छैन, पञ्चायतले यस परम्परालाई झांगिन मलजल गर्यो । पञ्चायतले सत्ता र शक्तिमा काठमाडौंलाई समेट्ने नाममा आफू ओभानो भएर काठमाडौंलाई असहिष्णु रूपमा प्रस्तुत गरिरह्यो, जो प्रकारान्तरले गलत थियो ।
पञ्चायतको पतनपछि सत्तामा आएकाले पनि सत्ताको पुरातन प्रवृत्ति कायमै राखे भन्दा अस्वाभाविक हुँदैन । नयाँ सत्ताले काठमाडौंलाई पनि सत्ताबाट अलग गर्यो । सत्ताले काठमाडौंमा बसेर काठमाडौं अनुभूत गर्न सकेन वा चाहेन । काठमाडौँले यो थाहै नपाएको भने होइन । सत्ताको ‘चाल’को भेउ पाएर काठमाडौंले निरन्तर खबरदारी गरेको हो । निरन्तर प्रतिक्रिया जनाएको हो । देशको राजधानीका रूपमा काठमाडौंले आफूप्रतिको आमस्वीकृतिलाई निरन्तर फराकिलो बनाउने प्रयत्न गरेको हो । तर, काठमाडौंको भावनालाई सत्ताले बुझ्ने प्रयत्न गरिदिएन र काठमाडौँ बाहिरियाबीच सधैँ आलोचित बनिरह्यो ।
काठमाडौंले आफूलाई सधैँ नै परिवर्तनका पक्षमा प्रस्तुत गरेको हो । पञ्चायतमा आयोजित निर्वाचनदेखि यसपटकको स्थानीय निर्वाचनसम्मको सन्दर्भ पारेर काठमाडौंले प्रत्येकपटक आफूलाई अभिव्यक्त गर्ने प्रयास गर्दै आएको छ । कांग्रेस र कम्युनिस्ट दुवैलाई माया गरेकोे काठमाडौं आफ्नो भावनाको कदर होला भनेर दुवैका पक्षमा उभियो । पटक–पटक दुवैलाई सत्तामा उक्लिने भर्याङ प्रदान गर्यो । काठमाडौं स्वयंले कसैप्रति कहिल्यै विभेद गरेन । यसपटक काठमाडौंले बालेनका माध्यमबाट मधेसलाई पनि मौका प्रदान गरेको छ भन्दा अस्वाभाविक हुँदैन ।
यस सन्दर्भमा महत्वपूर्ण त के हो भने काठमाडौंले आफ्नो परिचयमा परिवर्तनको संकेत गरेको छ र यसको प्रारम्भ यसपटकको स्थानीय निर्वाचनमार्फत गरेको छ । काठमाडौँ २१औँ शताब्दीको नेपालको राजधानीका रूपमा विकसित र स्वीकृत हुन चाहन्छ । काठमाडौं साँच्चै समावेशी हुन चाहन्छ । काठमाडौं प्रमाणित गर्न चाहन्छ, नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ र यो क्रान्तिको प्रारम्भ गर्ने सर्वाधिक उपयुक्त थलो यही हो ।
आमनेपालीलाई आश्रय प्रदान गर्न कहिल्यै पछि नपर्ने काठमाडौं आफूप्रतिको गुनासा सम्बोधन गर्ने पक्षमा प्रस्तुत भएको छ भन्दा गलत हुँदैन । यस सन्दर्भमा महोत्तरी पैतृक घर हुने बालेन एक पात्र मात्र हुन् । काठमाडौं बालेनका माध्यमबाट देशव्यापी रूपमा सामाजिक अभियान्त्रिकीकरणको दिशामा एक सन्देश दिन चाहन्छ । मधेसले काठमाडाँैसँग गर्ने निरन्तरको गुनासो सम्बोधनको माध्यम बनेका छन् बालेन । यही एउटा प्रयासले सबै उपलब्धि प्राप्त हुन्छ भन्ने त होइन, तर यो प्रारम्भ भने पक्कै पनि हो र यो प्रारम्भ भविष्यको नेपालको नयाँ चित्र कोर्न सहायक सिद्ध हुनेछ ।