मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Wednesday, 18 December, 2024
वसन्त महर्जन
२o७९ जेठ २ सोमबार o८:४८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बुद्ध स्वयं बौद्ध थिएनन् र?

Read Time : > 3 मिनेट
वसन्त महर्जन
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o८:४८:oo

सन्दर्भ : बुद्धजयन्ती

बुद्ध स्वयं हिन्दू वैदिक वा हिन्दू थिए भन्ने कुराको ऐतिहासिक पुष्टि कतैबाट हुँदैन 

बुद्ध र बौद्ध धर्म दर्शनको प्रसंगमा कतिपय व्यक्ति बुद्ध स्वयं बौद्ध नभएको मन्तव्य दिन्छन् । बुद्धलाई बौद्ध होइनन् भन्नु र इसापूर्व ५२८ मा बुद्धत्व प्राप्तिपछि मात्रै बौद्ध धर्मको उदय भएको ठान्नु वास्तवमा बुद्ध र बौद्ध धर्म दर्शनबारे कत्ति पनि नबुझ्नु हो । 

बुद्ध कुनै व्यक्ति–विशेषको नाम नभएर बोधिचर्या गर्ने क्रममा अनेकौँ जन्म लिई विभिन्न पारमिताको सम्पादन गरी अन्ततः जन्म र मृत्युको चक्रलाई तोड्न सफल भएका हुन् । अर्को शब्दमा त्यस्तालाई भगवान्, विनायक, तथागत, सम्यक् सम्बुद्धलगायत शब्दले सम्बोधन गरिन्छ । अनेकौँ सम्यक् सम्बुद्धमा एक हुन्, गौतम बुद्ध । 

विभिन्न नामका सम्यक् सम्बुद्धको चर्चा स्वयं गौतम बुद्धले गरेका छन् । ती बुद्धको विस्तृत विवरण ‘बुद्धवंश’ नामको ग्रन्थमा संग्रहित छ । बुद्धवंश त्रिपिटकअन्तर्गत एउटा सानो तर महत्वपूर्ण ग्रन्थ हो । अनेकौँ बुद्धको प्रसंग त्रिपिटकअन्तर्गतकै जातक कथा तथा सूत्रग्रन्थमा पनि पाइन्छन् । त्यसअनुसार अतीतकालमा तण्हंकर, मेधंकर र शरणंकर नामका बुद्धपछि दिपंकर नामका बुद्धको आगमन भएको थियो । बुद्धहरू जन्म र मृत्युको भवचक्रबाट मुक्त हुने भएका कारण एक बुद्धको पुनर्जन्म अर्को बुद्ध होइन । बुद्धको ‘अवतार’ हुँदैन ।

दिपंकर बुद्धको समयमा सुमेध नाम गरेका एक प्रभावशाली ऋषिले भविष्यमा आफू पनि दिपंकरजस्तै सम्यक् सम्बुद्ध हुने संकल्प गरेका थिए । बौद्ध जगत्मा यसरी संकल्प गर्नुलाई ‘बोधिप्रणिधान’ भनिन्छ । यो कुनै सम्यक् सम्बुद्धकै समक्ष गरेको हुनुपर्छ । सम्यक् सम्बुद्धले पनि तिमी बुद्ध हुन्छौ भनेर बोलेपछि कार्यान्वयनका लागि साधना गर्ने हुन्छ र त्यसलाई ‘बोधिप्रस्थान’ भनिन्छ । तत्पश्चात् त्यस्ता सŒव (प्राणी) लाई बोधिसत्व भनिन्छ र बोधिसत्वको आदर्श, आफूले जस्तोसुकै दुःख पाएर भए पनि अपार करुणाले द्रवीभूत भई अरू प्राणीको हितमा समर्पित हुनु हो । यस क्रममा अनेकौँ जन्म लिई साधना गरी अन्ततः बुद्धत्व प्राप्त गरेर बुद्ध हुने हो । सुमेध ऋषि यही प्रक्रियाबाट अनेकौँ जन्म लिँदै अन्ततः इसापूर्व ५२८ को वैशाख पूर्णिमामा बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध बनेका हुन् ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरी उपदेश दिन थालेपछि उनका शिष्यहरूले त्यसैलाई धर्मका रूपमा विकास गरेका हुन्, बुद्ध अर्कै धर्मका थिए भन्ने मन्तव्यमा ऐतिहासिकता छैन 

बुद्ध स्वयं बौद्ध होइनन् भन्ने गलत मन्तव्य दिनेले कुन बुद्धलाई बौद्ध होइनन् भन्न खोजेको हो स्पष्ट छैन । थेरवादी बौद्ध साहित्यमा २८ बुद्धको चर्चा पाइन्छ भने महायानी बौद्ध साहित्यमा यसबाहेक पनि अन्य मानव बुद्धको उल्लेख पाइन्छ । तिनलाई अतीत बुद्ध भनिन्छ । भविष्यमा पनि अन्य बुद्ध हुन्छन् । त्यसैले, बौद्धहरू अतीत, वर्तमान र भविष्यका सबै बुद्धलाई वन्दना गर्छन् । वर्तमान बुद्धको तात्पर्य गौतम बुद्ध हो ।

सामान्यतः जसले बुद्धको शिक्षालाई आफ्नो जीवनदर्शन बनाउँछु भनेर बुद्धलाई मार्गदर्शकका रूपमा स्वीकार गर्छ, ऊ बौद्ध हो । साधकहरू स्वतः बौद्ध हुने भइहाले । यसअनुसार भविष्यमा बुद्ध नै हुन्छु भनेर कठोर साधना गर्ने बोधिसत्वहरू स्वतः बौद्ध हुन्छन् । गौतम बुद्धले बोधगयामा बुद्धत्व प्राप्त नगरुन्जेलको जीवन भनेको बोधिसत्व जीवन हो । मायादेवी र सुद्धोदनबाट जन्मेदेखि ३५ वर्षको उमेरसम्मको बोधिसत्व जीवनलाई बौद्ध होइन भन्नुको कुनै तुक छैन । 

बुद्धले बुद्धत्व प्राप्त गरी उपदेश दिनथालेपछि उनका शिष्यहरूले त्यसैलाई धर्मका रूपमा विकास गरेका हुन्, बुद्ध अर्कै धर्मका थिए भन्ने मन्तव्यमा ऐतिहासिकता छैन । त्यस्तो मन्तव्य दिनेहरूका अनुसार बुद्धको कुलपरम्परा तत्कालीन वैदिक धर्मअनुसार थियो । अहिलेको भाषामा भन्नुपर्दा तिनीहरू हिन्दू हुन् । तर, यो साँचो कुरा होइन । बुद्ध स्वयं हिन्दू वैदिक वा हिन्दू थिए भन्ने कुराको ऐतिहासिक पुष्टि कतैबाट हुँदैन । 

गौतम बुद्धको जन्म इसापूर्व छैटौँ शताब्दी, अर्थात्, इसापूर्व ५६३ हो । तत्कालीन समाजमा दुई परम्परा थियो, श्रमण र ब्राह्मण परम्परा । यी दुई परम्पराको जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै फरक छ र गन्तव्य पनि स्वतः फरक पर्ने भइहाल्यो । दुई परम्परामा खासै मिल्ती पनि थिएन । गौतम बुद्धको पारिवारिक पृष्ठभूमि श्रमण परम्पराअन्तर्गत थियो । त्रिपिटकमा वर्णित उनीहरूको तत्कालीन सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनशैली हेर्दा पनि त्यहाँ वैदिक परम्पराभन्दा श्रमण परम्परा नै देखिन्छ । यही परम्परामा जैन धर्मका महावीर वर्धमानको पनि जन्म भएको थियो । श्रमण परम्पराभित्र अन्य थुप्रै सम्प्रदाय थिए । ब्राह्मणहरू श्रमण परम्परालाई हेय दृष्टिले हेर्थे । श्रमणहरूको बोलवाला भएका ठाउँलाई ब्राह्मणहरू आर्यभूमि मान्दैनथे । ती क्षेत्रमा नजान र जानै परे पनि वास नबस्न निर्देश गरिएको हुन्थ्यो । बुद्धलाई ‘महाश्रमण’ पनि भन्नुको खास कारण यिनी श्रमण परम्पराबाट भएकाले हो । यसअनुसार पनि गौतम बुद्ध तथा उनको परिवारलाई वैदिक वा आजभोलिको भाषामा हिन्दू भन्न सकिन्न । 

गौतम बुद्धका कतिपय शिक्षा वा उपदेश वैदिक वा हिन्दू धर्मसँग मिल्दैन । त्यसलाई हिन्दू परम्परा वा प्रभावका रूपमा बुझिहाल्नु अलि हतार हुन्छ । शील तथा आचरणका यी उपदेश कुनै धर्मसम्प्रदाय विशेषका पेवा होइनन् । मूल कुरा कसले कस्तो खालको जीवनदर्शन बोकेको छ भन्ने प्रश्न हो । दुई वा दुईभन्दा बढी सम्प्रदायले प्रयोग गर्ने भाषा एउटै पनि हुन सक्छ र भाषाको समानताले उस्तै–उस्तै भएजस्तो पनि लाग्ने हुन्छ । यस अवस्थामा भाष्य के हो भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि हिन्दू धर्ममा प्रयोग हुने ‘मोक्ष’ बौद्ध समाजमा पनि यदाकदा प्रयोग गर्ने गरेको पाइन्छ । तर, दुई धर्मको भाष्यमा आकाश–जमिनको फरक पर्ने हुन्छ । हिन्दू धर्ममा आत्मा (जीव) जव परमात्मामा लीन हुन पुग्छन्, त्यसलाई मोक्ष भनिन्छ । तर, बौद्ध धर्ममा आत्मा र परमात्माको प्रसंग नै आउँदैन । यी कुराहरूको अस्तित्व नै स्वीकार्य हुँदैन । 

[email protected]