मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ १ आइतबार o७:४१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोदीको लुम्बिनी भ्रमण : बुद्धिस्ट पर्यटक खोस्ने दाउ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o७:४१:oo

बुद्धिस्ट पर्यटक निम्त्याएर आफ्नो राष्ट्रिय आय बढाउने नेपालको चाहनामा मोदीका लागि लुम्बिनीमा बनेको हेलिप्याड तगारो बन्न सक्छ 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पाँचौँपटक नेपाल भ्रमणमा आउँदै छन् । पछिल्लोपटक साउने सोमबार पशुपतिको दर्शन गर्ने गरी नेपाल आएका उनी यसपटक बुद्ध पूर्णिमामा लुम्बिनी दर्शन गर्ने गरी आउन लागेका हुन् ।

पहिलोपटक नेपाल भ्रमण गर्दा सन् २०१४ मा संसद्को आफ्नो सम्बोधनमा उनले चारवटा ‘सी’को अर्थ खुलाउँदै त्यसमध्ये एक संस्कृति र सभ्यताले नेपाल–भारत सम्बन्ध मजबुत भएको बताएका थिए । बुद्धको स्वामित्व भारतले मात्रै लिने गरेको परम्परागत दाबीमाथि नेपालको पनि भाग छुट्याउँदै उनले बुद्ध नेपालमा जन्मिएको घोषणा गरिदिए । यद्यपि, उनको आफ्नै भनाइको मान नराख्दै केही समयपछि नै उनले बुद्धलाई भारतको एकलौटी सम्पत्तिका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, भारतको उच्च नेतृत्वले खुलेर बुद्धको स्वामित्व नेपालको पनि भएको वक्तव्यले नेपालीलाई निकै सन्तुष्टि दियो । 

धार्मिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका प्रधानमन्त्री मोदीले नेपालको भ्रमणमा महत्व दिएका स्थानहरूको लेखाजोखा गर्दा भारतले पछिल्लो समयमा सांस्कृतिक कूटनीतिलाई बलियो बनाउँदै लगेको देखिन्छ । पाँचपटक नेपाल भ्रमण गर्दा पशुपति, जनकपुर, मुक्तिनाथ र अहिले लुम्बिनीमा गर्न लागेको भ्रमणका आफ्नै अर्थ छन् । यसले मोदीको आफ्नो व्यक्तिगत झुकावसँग जोडिएको मात्र नभई भारतीय कूटनीतिलाई पुनः परिभाषित गर्ने दिशामा यी भ्रमण भएका देखिन्छन् ।

नेहरूवादी विदेशनीतिको आधार मानिने पञ्चशीलको सिद्धान्तलाई मोदीले पञ्चामृतको सिद्धान्तले प्रतिस्थापित गरेका छन् । सम्मान, संवाद, साझा समृद्धि, क्षेत्रीय र विश्वव्यापी सुरक्षा, संस्कृति र सभ्यताको सम्बन्ध यसको आधारस्तम्भ भएको दाबी भाजपा सरकारले गर्ने गर्छ । संस्कृति र सभ्यतालाई भारतको सफ्ट पावरका रूपमा विकास गर्न मोदी प्रशासन जोडबल लगाइरहेको छ । 

सांस्कृतिक कूटनीतिको अवधारणा बजार  बढाउन ‘ब्रान्ड’को प्रचारप्रसार गरे जस्तै हो । यो विश्वभर आफ्नो राम्रो छवि बनाउन र आफ्नो हितका लागि अन्य देशलाई प्रयोग गर्न शक्ति राष्ट्रहरूले अपनाउने रणनीति हो । 

मोदीले भारतको परम्परागत कूटनीतिलाई पूर्ण गर्न तीनवटा सांस्कृतिक सम्पदा बौद्ध धर्म, प्रवासी भारतीय र योगलाई सक्रिय रूपमा बढावा दिँदै आएका छन् । यसले भारतको अन्तर्राष्ट्रिय छविलाई सुधार्दै विदेशी लगानी, प्रविधि र पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ ।

नेपालसँग लिन मात्रै जानेको भारतीय मानसिकताले कुसीनगरमा बनेको आफ्नो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउन मात्र मोदीको लुम्बिनी भ्रमणलाई प्रयोग गरिरहेको छ 
 

विश्वको अधिकतम बौद्ध जनसंख्या 
एसिया क्षेत्रमा बस्छन् । दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका धेरै देशले बौद्ध धर्मलाई आफ्नो पहिचानका रूपमा लिन्छन् । मोदीले यस्ता देशप्रतिको आफ्नो नीतिमा बौद्ध धर्मलाई साझा सम्बन्धको आधार बनाउने प्रयास गर्दै आएका छन् । बुद्धविना २१औँ शताब्दी एसियाको शताब्दी हुन नसक्ने दाबी मोदीको छ । त्यसैले यी क्षेत्रबाट भारतमा हुने अथवा त्यसतर्फ हुने उच्च भ्रमणमा बुद्धको विषय महत्वपूण रूपमा उठाउने गर्छन् । त्यसले यस क्षेत्रका देशसँग समग्र सम्बन्धको आधार निर्माण गर्न बुद्धलाई भारतले प्रयोग गरिरहेको प्रस्ट हुन्छ । तर, हिन्दुवादी संस्था आरएसएसबाट दीक्षित भएर आएका मोदीले बुद्ध धर्मलाई गरिरहेको ‘प्रमोसन’को अन्तनिर्हित मर्म के हुन सक्छ त ? आरएसएसले हिन्दू धर्मको आध्यात्मिक सर्वाेच्चतालाई जोड दिएर धर्मनिरपेक्ष भारतको विचारलाई चुनौती दिँदै आएको छ । विनायक दामोदर सावरकर र दिनदयाल उपाध्याय यसका प्रमुख सिद्धान्तकार हुन् । 

बौद्ध दर्शनले हिन्दुत्वका मुख्य आधार चतुरवर्ण र ब्राह्मणवादको सिद्धान्तलाई चुनौती दिन्छ । सावरकर र उपाध्यायले त्यही विषयमा आपत्ति जनाउँदै बुद्ध धर्मलाई आलोचना मात्र होइन, घृणा नै गर्थे । भारतका संविधान निर्माता बाबा साहेब अम्बेडकरले हिन्दू धर्म त्यागेर बौद्ध धर्म अपनाएको केही दिनमै सावरकरले ‘बुद्ध धर्म अपनाएकै कारण समाजमा छुत हुन नसक्ने’ एक लेखमार्फत घोषणा गरेका थिए । बुद्ध धर्मावलम्बीलाई हिन्दू समुदायभित्रको गैरवैदिक सम्प्रदाय भएकाले उनीहरू अछुत नै रहने सावरकर र उपाध्यायले तर्क गरेका थिए । यतिसम्म कि बुद्धले भारतमा वैदिक परम्परा र संस्कृतिलाई समाप्त पार्ने प्रयास गरेको उनीहरूले आरोप लगाएका थिए । उनीहरूले अखण्ड भारतका सम्राट् अशोक बुद्धका अनुयायी बनेर हिन्दू सभ्यता कमजोर बनाएका कारण मुसलमान र अन्य धर्मका समर्थकले अतिक्रमण गर्न सकेको उल्लेख गरेका छन् । 

यस पृष्ठभूमिमा सावरकर र उपाध्यायका उत्तराधिकारी मोदी आफैँले बौद्ध धर्मलाई खुलेर प्रचार गर्नुमा धार्मिकभन्दा आर्थिक कारण बढी छ । सन् २०११ को जगणनाअनुसार भारतको कुल जनसंख्यामा शून्य दशमलव ७ प्रतिशत मात्र बौद्ध धर्मावलम्बी छन् । भारतमा आज पनि हिन्दू धर्मले तल्लो जातको भनी परिभाषित गरेका समुदाय बौद्ध धर्मप्रति आकर्षित छन् । भाजपा सरकारमा आएपछि भारतमा बढ्दो जातीय र धार्मिक असहिष्णुताले बुद्धप्रति मोदीको झुकावमा विरोधाभाष देखिन्छ ।

जनगणतन्त्रातिक चीन सरकारले आफ्ना बुद्धिस्ट छिमेकी देशमा गुम्बा निर्माण र संरक्षण गर्न लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । बुद्ध धर्मावलम्बीका तीन महत्वपूर्ण तीर्थस्थल भारतमा भए पनि आफ्नो धार्मिक सम्पदा बुद्धलाई सदुपयोग गरी भारतको अन्तर्राष्ट्रिय शक्ति बढाउनेबारे मनमोहन सिंह सरकारको समयबाट मात्रै बहस सुरु भएको हो । मोदी सरकारमा आएपछि भने त्यसलाई कार्यान्वयनमा लैजाने रणनीति भारतले बनाउन थालेको छ । विश्वमा सबैभन्दा बढी बुद्ध धर्मावलम्बी भएको चीनको यस क्षेत्रमा धार्मिक प्रभाव कम गर्न भारत प्रतिस्पर्धीका रूपमा अगाडि आएको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । चीनले बुद्धको जन्मस्थान लुम्बिनी भएकाले त्यसलाई बौद्ध धर्मको केन्द्रबिन्दु मानेको छ । 

अक्टोबर २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा काठमाडौँ र पोखरालाई लुम्बिनीसँग जोड्ने रेलवे निर्माण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगयालाई भारतले बौद्ध धर्मको केन्द्रबिन्दु दाबी गर्दै आएको छ । यसैका आधारमा बुद्धको देश भारत भएको दाबी भारतीयले गर्ने गरेका छन् र त्यहीअनुसार उनीहरू अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत हुने गर्छन् । 

पर्यटनलाई मुख्य आयस्रोत बनाउने प्रयास गरिरहेको नेपालको हितमा भारतले आफ्नो स्वार्थ हाबी गराउँदै बुद्धिस्ट पर्यटकहरू खोस्ने रणनीति बनाइरहेको छ । पञ्चामृतको सिद्धान्तमा साझा विकास भन्ने आफ्नै कूटनीतिक सिद्धान्तविपरति नेपाललाई हित हुन सक्ने हरेक कदमबाट पछाडि हटेको छ । भाजपा सरकारले नेपालसँग बुद्धिस्ट सर्किट बनाउने सैद्धान्तिक सहमति गरेको भए पनि भारतकै अरुचिले त्यसमा कुनै प्रगति भएको छैन । मोदीको जहाज नेपालमा भर्खर निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने भइदिएको भए विश्वमा यस विमानस्थलप्रति भरोसा मात्र होइन, नेपालको पर्यटन प्रवद्र्धन गर्न ठूलो सहायता पुग्न सक्थ्यो । तर, सधैँझैँ नेपालसँग लिन मात्रै जानेको भारतीय मानसिकताले कुसीनगरमा बनेको आफ्नो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउन मात्र मोदीको यस भ्रमणलाई प्रयोग गरिरहेको छ । त्यसमा अत्यधिक बहुमतले बनेको गठबन्धनको सरकारले लाहा छाप लगाएर मोदीलाई लुम्बिनीको दुरुपयोग गर्न निम्त्याएको छ । बुद्धिस्ट पर्यटक निम्त्याएर आफ्नो राष्ट्रिय आय बढाउने नेपालको चाहनामा मोदीका लागि लुम्बिनीमा बनेको हेलिप्याड तगारो बन्न सक्छ ।