हिमालपारिको जिल्ला मनाङमा ६३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको छ। मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार चारवटा गाउँपालिकामा राति ९ बजेसम्म सबै बुथबाट मतपत्र आइपुगेपछि मतगणना सुरु गर्ने कार्यतालिका छ।
मनाङको सदरमुकाम चामेमा रहेको चामे गाउँपालिकामा कुल ७ सय ११ मतदाता रहेकोमा ६ सय १० अर्थात् ८६ प्रतिशत मत खसेको छ। मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५ सय ३५ मतदाता रहेकोमा १ हजार ६ सय ५७ अर्थात् ४७ प्रतिशत मत खसेको छ।
यस्तै मनाङको नासों गाउँपालिकामा कुल मतदाता १ हजार ८ सय २ रहेकोमा १ हजार ४ सय ९६ अर्थात् ८३ प्रतिशत मत खसेको छ। मनाङको विकट र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात् खसेको मतको ६८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए।
मनाङका चार गाउँपालिकामा २८ वटा मतदानस्थल र २८ वटै मतदान केन्द्र कायम गरिएको थियो। मनाङको चारवटै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।