दुई हजार ६ सय ८८ कर्मचारी खटिए, एक केन्द्रमा महिला कर्मचारी मात्र
कास्कीमा रहेका पाँच पालिकाको नयाँ नेतृत्व चयनका लागि एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्दै छन् । निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीका अनुसार एक मतदान केन्द्रमा मतदान अधिकृतसँगै पाँचजना कर्मचारी र तीन सहयोगी खटिएका छन् ।
खटिएका कर्मचारीहरूले निर्वाचन सामग्री बुझेर आ–आफ्नो मतदान स्थलतर्फ लागेका छन् । निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र, रबर म्याट, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर, लाहा, खाम, बोरा, थैलोलगायत ६४ प्रकारका सामग्री बुझेर उनीहरू आ–आफ्नो केन्द्रमा लागेका पराजुलीले बताए । खटिएका कर्मचारीहरू कोही मंगलबारै पुगेका छन् भने कोही बुधबारसम्म आ–आफ्नो मतदानस्थलमा पुग्ने पराजुलीले बताए । निर्वाचन सामग्री लिन आउने कर्मचारीहरूको दिनभर कार्यालयमा भिड लागेको थियो ।
एक मतदान केन्द्रमा महिला मात्र
कास्कीका तीन सय ३६ मतदान केन्द्रमध्ये पोखरा महानगरपालिका– ६ स्थित अन्नपूर्ण आधारभूत प्राविको मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । जिल्ला अदालत कास्कीमा कार्यरत सविता ढुंगानाको नेतृत्वमा सो केन्द्रमा कर्मचारीदेखि सहयोगी सबै महिला मात्र खटिएका छन् ।
५७ हजार २२ जना मतदाता बढे
कास्कीमा ५७ हजार २२ जना नयाँ मतदाता थपिएका छन् । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा ०७४ सालको स्थानीय तहको निर्वाचन दुई लाख २४ हजार आठ सय ११ जनाले मतदान गरेका थिए । ३० वैशाखमा हुने निर्वाचनमा दुई लाख ८१ हजार आठ सय ३३ जनाले मतदान गर्नेछन् । कुल मतदातामध्ये पुरुषको तुलनामा महिलाको संख्या करिब १५ हजार बढी छ । एक लाख ३३ हजार सात सय ४२ पुरुष , एक लाख ४८ हजार महिला र चारजना तेस्रोलिंगी रहेका छन् ।
यस्तो छ पाँच पालिकाको मतदाता संख्या
पोखरा महानगरपालिकामा ०७४ सालमा एक लाख ६८ हजार ६७ जना मतदाता रहेकोमा ३९ हजार ६ सय ४५ जना बढेर हाल दुई लाख सात हजार सात सय १२ जना पुगेका छन् । महानगरमा ३३ वडा रहेका छन् ।
कास्कीमा रहेको अन्य चार गाउँपालिकामध्ये सात वडा रहेको रूपामा ०७४ सालमा ११ हजार तीन सय १५ जनाले मतदान गरेकोमा तीन हजार तीन सय ६० जना थप भएर हाल १४ हजार ६ सय ७५ जना पुगेका छन् । ११ वडा रहेको अन्नपूर्णमा ०७४ सालमा १५ हजार पाँच सय ६९ जनाले मतदान गरेकोमा चार हजार सात सय ७९ जना मतदाता थप भएर हाल २० हजार तीन सय ४८ जना पुगेका छन् ।
९ वडा रहेको माछापुच्छ्रेमा ०७४ सालमा १६ हजार तीन सय एकजनाले मतदान गरेकामा चार हजार १५ जना थप भएर हाल २० हजार तीन सय १६ जना पुगेका छन् । यसैगरी १२ वडा रहेको मादीमा ०७४ सालमा १३ हजार पाँच सय ५९ जनाले मतदान गरेकोमा पाँच हजार दुई सय २३ जना थप भएर १८ हजार सात सय ८२ जना पुगेका छन् ।