मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विराट नर्सिङ होममा बन्धक रहेका प्रकाश विश्वकर्मा र मंगलबार निधन भएका उनका हजुरबुबा पदम विश्वकर्मा ।
गणेश लम्साल विराटनगर
२०७९ बैशाख २८ बुधबार ०८:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपचार खर्च तिर्न नसक्दा २० दिनदेखि बन्धक

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ बैशाख २८ बुधबार ०८:१२:००

दुर्घटनामा घाइते भएका प्रकाश विश्वकर्माले उपचार खर्चमध्ये साढे तीन लाख चन्दा उठाएर तिरे, बाँकी पाँच लाख तिर्न नसक्दा विराट नर्सिङ होममै बन्धक, हजुरबुबाको दाहसंस्कारमा समेत सहभागी हुन दिएन अस्पतालले

सुनसरीको वराहक्षेत्र नगरपालिका–९ बामन डाँडाका २५ वर्षीय प्रकाश विश्वकर्मा २० दिनदेखि विराटनगरस्थित विराट नर्सिङ होममा बन्धक छन् । पाँच लाख रुपैयाँ उपचार खर्च तिर्न नसक्दा उनलाई अस्पताल प्रशासनले घर जान नदिएको हो । कतिसम्म भने सोमबार हृदयाघातका कारण मृत्यु भएका हजुरबुबाको अन्तिमपटक मुख हेर्ने उनको चाहना अस्पताल प्रशासनकै कारण पूरा हुन पाएन ।

१९ चैत ०७८ मा सयपत्री चोक भन्ने ठाउँमा लाइसेन्स नभएका चालकले कुदाएको ट्रयाक्टरले विपरीत दिसाबाट आइरहेको को.३१प ३५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँका २२ वर्षीय अमृत विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकलपछाडि सवार २५ वर्षीय प्रकाश विश्वकर्मा गम्भीर घाइते भएका थिए । बेहोस अवस्थामा रहेका उनलाई प्रहरीले उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम पठायो ।

अस्पतालमा एक महिना लामो उपचारपछि टाउको, हात, छाती र अन्य विभिन्न भागमा चोट लागेका प्रकाश निको भए । चिकित्सकले निको भएको भन्दै उनलाई डिस्चार्ज पनि गरिदिए । तर, अस्पताल प्रशासनले बाँकी रहेको पाँच लाख रुपैयाँ बुझाएपछि मात्र पठाउने भन्दै घर जान दिएन । प्रकाश निको भएर पनि उपचार खर्च बुझाउन नसक्दा २० दिनदेखि अस्पतालमै बन्धकझैँ बस्न बाध्य छन् । उनको उपचारमा साढे आठ लाख रुपैयाँ लागेकोमा साढे तीन लाख रुपैयाँ चन्दा उठाएर अस्पताललाई बुझाइसकिएको आफन्तले बताएका छन् ।

७३ वर्षीय पदम विश्वकर्माको सोमबार दिउँसो ३ बजे हृदयाघातका कारण मृत्यु भयो । परिवारका सदस्यको सवारी दुर्घटनामा मृत्यु भएपछि विश्वकर्मा चिन्तामा थिए । गरिबी र अस्पतालमा नाति प्रकाश विश्वकर्माको उपचार गर्दा लागेको खर्च तिर्न नसकेकै कारण विश्वकर्मा तनावमा रहेको उनका आफन्तले बताएका छन् । प्रकाशको एक महिनाअघिदेखि विराटनगर मुनालपथस्थित विराट नर्सिङ होममा उपचार भइरहेको थियो ।

प्रकाशले ‘हजुरबुबाको मुख अन्तिम पटक हेर्न जान पाऊँ, फेरि फर्केर आउनेछु’ भनेर अस्पताल प्रशासनसँग हारगुहार गरे । तर, अस्पतालले पहिले बाँकी खर्च बुझाए मात्र जान दिने भन्दै प्रकाशलाई दाहसंस्कारमा सहभागी हुन अनुमति दिएन । प्रकाशकी दिदी राधिका विश्वकर्मा, केही पत्रकार, दलका नेताहरूले उनलाई केही घन्टाका लागि पठाउन अस्पताल प्रशासनलाई अनुनयविनय गरेका थिए । तर, अस्पतालले आजसम्म त्यस्तो कुनै परम्परा नभएकाले उपचार खर्च भुक्तानी नभई कुनै हालतमा बिरामीलाई बाहिर जान नदिने अडान लियो । अन्तिम समयसम्म नातिलाई अस्पतालले आउन नदिएपछि उनलाई पर्खेर बसेका आफन्तहरूले मंगलबार दिउँसो २ बजेतिर कोसी नदी किनारमा बराइलीको दाहसंस्कार गरे । ‘हामीले बाहिरबाट रेफर भई आएका गम्भीर बिरामीलाई आईसीयूमा राखेर बचायौं । पैसा जुटाउने काम परिवारको हो । बाँकी पैसा नबुझाई बाहिर जान दिने चलन छैन,’ नर्सिङहोमका लेखा प्रमुख सुवास पोखरेलले नयाँ पत्रिकासँग भने ।

दुर्घटना गराउने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका चालकलाई पक्राउ गरेको छैन । एकपटक पक्राउ गरेर लगे पनि अनुसन्धानको बहानामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले छाडिदिएको छ । दुर्घटना गराउने चालक को हो भन्ने पनि प्रहरीले अझैसम्म सार्वजनिक गरेको छैन । बरु योजना मिलाएर ट्रयाक्टर पनि छाड्ने तयारी भइरहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार वराहक्षेत्र–९ की कलावती चन्द्रवंशीको नाममा केही महिनाअघि मात्र नयाँ ट्रयाक्टर किनिएको थियो ।

ट्रयाक्टर उनका श्रीमान् सत्यनारायण चन्द्रवंशीले चलाएका थिए । तीव्र गतिमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएपछि चालक मकैबारी हँुदै फरार भएका थिए । उनी अझैसम्म फरार छन् । पीडित पक्षले मृतकबारे कानुनअनुसार क्षतिपूर्ति हुने र घाइतेको उपचारमा लागेको खर्च दिएमा मिलापत्र गर्ने प्रस्ताव गरेको थियो । तर, ट्रयाक्टर धनीले पहुँचको बलमा प्रहरीसँग मिलेर सहयोग गर्न कुनै चासो दिएको छैन ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर टीकाबहादुर कार्कीले आफू भर्खरै जिम्मेवारीमा आएको र आउनासाथ निर्वाचनको जिम्मेवारी प्राथमिकतामा परेकाले फरार चालकलाई पक्राउ गर्न ढिलाइ भएको बताए । ‘सवारी ज्यान कसुरमा मुद्दा दर्ता भइसकेको छ । यसैले निर्वाचनको जिम्मेवारी सकिनासाथ हामी अति गम्भीर घटना मानेर फरारको खोजतलास गर्नेछौँ । कानुनको कुनै कसुर बाँकी राख्दैनौँ,’ उनले भने । 

अमृतको परिवार विस्थापित
सवारी दुर्घटनामा पतिको मृत्यु भएपछि अमृतकी श्रीमती दुई नाबालक छोराछोरीसहित विस्थापित भएकी छन् । कोसी तटबन्ध रहेको ऐलानी जमिनमा बसेर गुजारा चलाउँदै आएका श्रीमान्को मृत्यु भएपछि स्थानीयको सहयोगमा श्रीमती र छोराछोरी माइतीघर गएको छिमेकी कमला लिम्बुले बताइन् । उनका अनुसार अमृतका बुबा १२ वर्षअघि भारत आसामको कोइलाखानीमा काम गर्न गएका थिए । उनको अझैसम्म कुनै अत्तोपत्तो छैन । एक मात्र छोरा प्रकाश दुर्घटनामा घाइते भएर अस्पतालमा बन्धक भएपछि उनका सुकुमबासी आमाबाबु, श्रीमती र छोराछोरी पनि बिलखबन्दमा परेका छन् । दुर्घटनामा मृत्यु भएका अमृत र घाइते भएका प्रकाश दुवै सुनचाँदी पसलमा काम गर्दथे । अमृत वराहक्षेत्रकै चक्रघट्टीमा रहेको सुन पसलमा र प्रकाशले काठमाडौंको सुन पसलमा काम गर्दै आएका थिए ।