मकवानपुर
दुई हजार आठ सय सुरक्षाकर्मी परिचालित
स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा दुई हजार ८६२ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना ४५०, नेपाल प्रहरी ६५५, सशस्त्र प्रहरी २८४ र एक हजार ४७३ म्यादी प्रहरी खटिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
उनले निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिने र गृहले तोकेको निर्देशनअनुसार प्रशासनले काम गर्ने बताए । ‘खटाइएका सुरक्षाकर्मीहरू मतदान केन्द्रमा बुधबारसम्म अनिवार्य पुगिसक्नेछन्,’ उनले भने, ‘सदरमुकामबाट लामो दूरीमा रहेको र विकटका मतदान केन्द्रमा सोमबारबाटै सुरक्षाकर्मी पुगिरहेका छन् ।’
१० स्थानीय तह रहेको मकवानपुरमा एक उपमहानगर, एक नगरपालिकासहित आठ गाउँपालिका छन् । चार लाख ६१ हजार ५३ जनसंख्या रहेको मकवानपुरमा दुई लाख २८ हजार ४७२ पुरुष र दुई लाख ३२ हजार ५८१ महिला छन् । जिल्लामा दुई लाख ९४ हजार नौ सय २९ मतदाता छन् ।
जसमध्ये हेटौँडा उपमहानगरपालिकामा एक लाख चार हजार चार सय ७३ र थाहा नगरपालिकामा ३२ हजार ३०७ मतदाता छन् । बागमती गाउँपालिकामा १२ हजार ३२८, इन्द्रसरोवरमा १२ हजार ४७१, कैलाशमा १४ हजार ५८६, बकैयामा २९ हजार ९४३, भीमफेदीमा १७ हजार ४२८, मकवानपुरगढीमा १९ हजार ११८, मनहरीमा २६ हजार ७२१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८३२ मतदाता छन् । जिल्लामा एक सय ६५ मतदान केन्द्रमध्ये १९ मतदान केन्द्रलाई स्थानीय प्रशासनले अतिसंवेदनशील मतदान केन्द्रको सूचीमा राखेको छ ।
बाँके
विश्लेषणका आधारमा सुरक्षा प्रबन्ध
स्थानीय तहको निर्वाचनका लागि बाँकेमा चार हजार सुरक्षाकर्मी परिचालन भएका छन् । बाँकेमा अतिसंवेदनशील र संवेदनशील गरी दुई थरीका मतदानस्थल र मतदान केन्द्र वर्गीकरण गरिएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
निर्वाचनस्थल, उम्मेदवार, मतदाता र मतपेटिकाको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रजिअ खत्रीका अनुसार बाँकेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । ‘बाँकेका विभिन्न मतदानस्थल र मतदान केन्द्रमा निजामती कर्मचारी, अर्धसरकारी र सुरक्षाकर्मी गरी ६ हजार दुई सयजना परिचालन भएका छन्,’ उनले भने । बाँकेमा एक सय ३६ मतदान केन्द्र र तीन सय ७९ मतदानस्थल छन् । तीमध्ये एक सय ६ मतदान केन्द्र अतिसंवेदनशील र ३० मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको बताए । ‘सुरक्षा विश्लेषणका आधारमा सुरक्षा प्रबन्ध मिलाइएको छ,’ प्रजिअ खत्रीले भने ।
कास्की
निर्वाचन सामग्रीसहित खटिए कर्मचारी
कास्कीमा रहेका पाँच पालिकाको नयाँ नेतृत्व चयनका लागि एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्दै छन् । निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीका अनुसार एक मतदान केन्द्रमा मतदान अधिकृतसँगै पाँच कर्मचारी र तीन सहयोगी खटिएका छन् ।
खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझेर आ–आफ्नो मतदानस्थलतर्पm लागेका छन् । निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र, रबर म्याट, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर, लाहा, खाम, बोरा, थैलोलगायत ६४ प्रकारका सामग्री बुझेर उनीहरू आ–आफ्नो केन्द्रमा लागेका पराजुलीले बताए । खटिएका कर्मचारीहरू कोही मंगलबारै पुगेका र कोही बुधबारसम्म आ–आफ्नो मतदानस्थलमा पुग्ने पराजुलीले बताए । निर्वाचन सामग्री लिन आउने कर्मचारीको दिनभर कार्यालयमा भिड लागेको थियो ।
कास्कीका तीन सय ३६ मतदान केन्द्रमध्ये पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित अन्नपूर्ण आधारभूत प्राविको मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । जिल्ला अदालत कास्कीमा कार्यरत सविता ढुंगानाको नेतृत्वमा सो केन्द्रमा कर्मचारीदेखि सहयोगी सबै महिला मात्र खटिएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा कास्कीमा ५७ हजार २२ जना मतदाता बढेका छन् । एक महानगर र चार गाँउपालिका रहेको कास्कीमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा दुई लाख २४ हजार आठ सय ११ जनाले मतदान गरेका थिए । हाल त्यो संख्यामा ५७ हजार २२ जना थपिएका छन् । ३० वैशाखमा हुने निर्वाचनमा दुई लाख ८१ हजार आठ सय ३३ जनाले मतदान गर्नेछन् ।
रसुवा
आठ सय सुरक्षाकर्मी खटिए
स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक सुरक्षाकर्मी खटिएका हुन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ नेपाल प्रहरी, दुई सय ८८ म्यादी प्रहरी र दुई सय १९ सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार हुने मतदानका लागि जिल्लामा ३४ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्नेलगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
मुगु
व्यक्तिगत नामका हतियार बुझाइएन
व्यक्तिगत नामका इजाजतप्राप्त १२ वटा हातहतियार अझै प्रशासनमा बुझाइएको छैन । स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक सूचना गरी हातहतियार सुरक्षा निकायलाई बुझाउन निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पटक–पटक सूचना जारी गर्दा पनि व्यक्तिगत नाममा इजाजत लिइएका हतियार नबुझाइएको जानकारी दिए । भरुवा बन्दुक, बाह्रबोरलगायतका हतियार बुझाउन प्रशासनले पटक–पटक सूचना निकालेको थियो । नबुझाइएका हतियार कहीँ कतै दुरुपयोग भएको पाइए इजाजत लिने व्यक्ति र हतियार दुरुपयोग गर्नेलाई कारबाही गरिने प्रजिअ महतले बताए ।
संखुवासभा
आठ मतदानस्थल अतिसंवेदनशील
संखुवासभाका आठ मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समिति संखुवासभाले जिल्लाभित्रका आठ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । जिल्लामा एक सय तीन मतदानस्थल छन् । तीमध्ये सुरक्षा संवेदनशीलताका हिसाबले आठ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । खतिवडाले ७९ मतदानस्थल संवेदनशील र १६ सामान्य सूचीमा रहेको जानकारी दिए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ती मतदानस्थलका लागि विशेष सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ खतिवडाको भनाइ छ । अतिसंवेदनशील मानिएका आठ मतदानस्थलमा तीन हजार ४३८ मतदाता छन् । जिल्लामा ६० हजार ६७८ पुरुष र ५७ हजार ५३ महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख जयप्रकाश बस्नेतले सबै मतदानस्थलमा निर्वाचन सामग्री पठाइएको जानकारी दिए ।
रुपन्देही
१२ हजार कर्मचारी तथा सुरक्षाकर्मी
रुपन्देहीको निर्वाचन सुरक्षाका लागि झन्डै १२ हजार कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबारबाट कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलहरूमा खटिने जानकारी दिए । रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार रुपन्देहीका दुई सय आठ मतदानस्थलमा सात सय मतदान केन्द्र छन् । यी केन्द्र्रमा झन्डै १२ हजार कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । रुपन्देहीमा तीन लाख २३ हजार सात सय ७८ पुरुष, तीन लाख आठ हजार पाँच सय ७४ महिला, आठ अन्य गरी ६ लाख ३२ हजार ३६० मतदाता छन् । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा धेरै मतदाता रहेको पालिका बुटवल उपमहानगर हो । यहाँ ९० हजार ६५ मतदाता छन् ।
हेटौँडामा सुदीप शिवाकोटी, रसुवामा अनु आचार्य, लमजुङमा शान्ता कमली, संखुवासभामा नवीन गरुङ, मुगुमा अच्युतराज भण्डारी, बुटवलमा विष्णु घिमिरे, कास्कीमा रोहितराज पराजुली