मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख २६ सोमबार १६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई जिताए फेरि संसद् भंग हुन्छ : प्रधानमन्त्री देउवा

Read Time : > 1 मिनेट
२०७९ बैशाख २६ सोमबार १६:५१:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा संसद् भंग गर्ने प्रवृत्ति पुनः दोहोरिने बताएका छन्। धनगढीमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद् जोगाउनका लागि पनि गठबन्धनको जित आवश्यक रहेको बताए।

‘आफ्नो दुईतिहाइ बहुमत आउँदा पनि संसद् भंग गर्ने। अदालतबाट संसद् फिर्ता ल्याएपछि पनि चल्न नदिने,’ देउवाले भने, ‘एमाले पार्टीलाई जिताएर के गर्ने फेरि संसद् भंग गर्ने ? फेरि त्यही गराउने ? ओलीजीको पार्टी जिताउनु भनेको संसद् भंग गर्नेलाई ल्याउनु हो।’

एमाले अध्यक्ष केपी ओली सरकारमा आउँदा संसदमा विपक्षीको विरोधलाई स्वीकार गर्न नसक्ने देउवाले आरोप लगाए। एमालेले जित्दा ओलीले पुनः संसद् भंग गर्ने देउवाको दाबी थियो। ‘संसदमा अलिअलि विरोध गर्‍यो कि भंग गरिदिने,’ ओलीलाई संकेत गर्दै देउवाले भने, ‘त्यसैले एमालेले जितेको खण्डमा ओलीजीले त्यही गर्नेवाला हो। त्यस्तो व्यक्ति फेरि सरकारमा आउनुहुँदैन।’

ओलीले स्थानीय तहसमेत भंग गर्न सक्ने प्रधानमन्त्री देउवाले दाबी गरे। प्रधानमन्त्री हुँदा ओलीले प्रदेश सभासमेत भंग गर्न खोजेको देउवाको आरोप थियो। ‘उनले (ओलीले) त स्थानीय सरकार पनि भंग गर्दिन्छन्,’ देउवाले भने, ‘यो सबैको सरकार हो। गठबन्धनको सरकार हो। त्यसैले यो सरकार बलियो बनाउन पनि गठबन्धनलाई स्थानीय तहमा जिताउन जरुरी छ।’

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिइने प्रस्ट पारेका छन्। उनले बागी उम्मेदवारलाई विज्ञप्ति निकालेर आधिकारिक उम्मेदवारको पक्षमा लाग्न पनि निर्देशन दिए। बागी उम्मेदवारको झगडा कांग्रेसमा कहिल्यै नहटेको भन्दै उनले यसपटक बागीलाई माफी नदिइने बताए। 

‘हामी उम्मेदवार छैनौँ भनेर फिर्ता लिनोस्। म अहिल्यै भन्न चाहन्छु– बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिनेछैन,’ देउवाले भने, ‘अहिले पनि कुनै पनि हालतमा माफ गर्नेछैनौँ।’ कैलारी र जोशीपुर गाउँपालिकामा गठबन्धनको तालमेलविपरीत कांग्रेसबाट उम्मेदवारी दिएकाहरूलाई आधिकारिक उम्मेदवारको पक्षमा लाग्न पनि देउवाले निर्देशन दिए।

‘यहाँको कैलारी गाउँपालिका र  जोशीपुर गाउँपालिकामा पनि त्यही समस्या छ। हाम्रा उम्मेदवारहरूले फिर्ता लिनोस्, अहिले नै फिर्ता लिएको आधिकारिक जानकारी केन्द्रबाट आउँछ,’ देउवाले भने, ‘फिर्ता लिनुभएन भने तपाईंलाई कारबाही हुनेछ। गठबन्धनको निर्णय पनि त्यही छ।’

गठबन्धनले जिल्लाका १३ वटै पालिकामा तालमेलको निर्णय गरेको थियो। कैलारीमा माओवादीबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिने सहमति भए पनि कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष दुवैमा उम्मेदवारी परेको छ। माओवादीले पनि उपाध्यक्षमा उम्मेदवारी दिएको छ। जोशीपुरमा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिने सहमति भए पनि कांग्रेसबाट उपाध्यक्षमा पनि उम्मेदवारी छ।