नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएका छन्। शनिबार प्रदेश कार्यालयका प्रमुखहरू र ७७ वटै जिल्लाका प्रहरी प्रमुखसँग र ब्युरो प्रमुखहरुलाई उनले निर्वाचन सुरक्षालाई व्यवस्थित पार्न निर्देशन दिएका हुन्।
सिंहले उपत्यका एवं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई पनि निर्वाचनको वेला ट्राफिक व्यवस्था सुरक्षित पार्न निर्देशन दिएका छन्। निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भीकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ छ। निर्वाचनलक्षित गतिविधिहरूमा सीमित साधनस्रोतका बाबजुत नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै उनले आउँदा दिनमा आउन सक्ने चुनौतीलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवं समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताए।
प्रहरी कार्यालय प्रमुखहरूले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारीसम्बन्धी आवश्यक ब्रिफिङ गरेका थिए। निर्वाचनका समयमा सम्भाव्य घटना हुन नदिन कानुनसम्मत कारबाही गर्न पनि सिंहले निर्देशन दिएका छन्। त्यस्तै, सीमावर्ती क्षेत्रमा हुन सक्ने तस्करीलगायतका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उनको भनाइ छ।