लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।
८ सय ९५ कर्मचारी र दुई हजार चार सय ७२ सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीनजना कर्मचारी र तीनजना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।
निर्वाचनका लागि निजामती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन्। त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी दुई हजार बढी सुरक्षाकर्मीहरू परिचालन हुनेछन् । थप सुरक्षाकर्मीहरूसमेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।
निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । लमजुङमा मतदाताको संख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि एक लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।