१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २१ बुधबार
  • Saturday, 21 September, 2024
२o७९ बैशाख २१ बुधबार १o:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्मचारीमाथि विरंग हेल्थकेयरको शोषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २१ बुधबार १o:oo:oo

एकजनाको एकपटक डायलाइसिस गराएबापत सरकारबाट दुई हजार पाँच सय लिने विरंगले पाँच महिनादेखि कर्मचारीलाई तलब दिएन 

नेपाल सरकारसँग सम्झौता गरेर सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालन गरिरहेको निजी संस्था विरंग हेल्थकेयरले कार्यरत कर्मचारीलाई पाँच महिनादेखि तलब दिएको छैन । तत्काल तलब उपलब्ध नगराए पुनः सेवा बन्द गर्न बाध्य हुने कर्मचारीहरूले बताएका छन् ।

लामो समयसम्म तलब नपाएपछि आक्रोशित कर्मचारीले गत आइतबार दिनभर डायलाइसिस सेवा बन्द गरेका थिए । १२ कर्मचारीले पाँच महिनादेखि तलब नपाएको डायलाइसिस सेन्टरमा कार्यरत नर्सिङ स्टाफ निशा रावलले बताइन् । ‘आज आउँछ, भोलि आउँछ भनेर झुलाइरहेको छ,’ उनले भने, ‘काम गरेको पैसा लामो समयसम्म नपाउँदा हामी समस्यामा परेका छौँ ।’ 

धनगढीमा भाडामा बसेर काम गर्ने कर्मचारी तलब नपाउँदा बढी मारमा परेका छन् । कोठा भाडा तिर्न पनि समस्या भएको उनीहरूको गुनासो छ । ६ महिनादेखि डायलाइसिस सेन्टरमा कार्यरत कञ्चनपुरको बेलौरीकी पूजा विष्टले सुरुको एक महिनाको मात्रै तलब पाएको बताइन् । ‘तलब दिँदैन । जागिर छोडेर जाउँ भने पनि पाँच महिना काम गरेको पैसा डुब्छ,’ धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी उनले भनिन् ।

लामो समय तलब नदिएको विरंगले कर्मचारीलाई न्यून पारिश्रमिकमा काम गराइरहेको छ । डाक्टरबाहेक सबैको तलब १४ हजारभन्दा कम रहेको कार्यरत एक कर्मचारीले बताए । ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा जोखिम मोलेर दैनिक आठ घन्टा काम गर्छौँ । कामअनुसार कम्तीमा २० हजार रुपैयाँ तलब हुनुपर्ने हो,’ ती कर्मचारीले भने, ‘१२–१३ हजारमै काम गर्नुपरेको छ । त्यो पनि समयमा पाइँदैन ।’ 

समयमा तलब नदिने समस्या बारम्बार दोहोरिने गरेको कर्मचारीहरूले बताएका छन् । चार वर्षदेखि तलब नबढेको डायलाइसिस सेन्टरमा कार्यरत चन्द्रा साउदले बताइन् । बिरामी बढ्दा कामको चाप बढे पनि सेवा–सुविधा भने नबढेको उनको गुनासो छ । ‘पहिले पाँचवटा डायलाइसिस मेसिन थिए, अहिले १० वटा छन् । बिरामीको चापले नास्ता खाने फुर्सद हुँदैन, तर सुविधा चार वर्षदेखि बढेको छैन,’ उनले भनिन् ।

कर्मचारीमाथि शोषण गरिरहेको विरंग हेल्थकेयरले सरकारबाट भने एकजना बिरामीको एकपटकमा डायलाइसिस गराएको दुई हजार पाँच सय रुपैयाँ लिने गरेको छ । डायलाइसिस सेन्टरमा अहिले ७२ जना मिर्गौला रोगका बिरामीले नियमित डायलाइसिस सेवा लिइरहेका छन् । विरंगले डायलाइसिस गराएबापत मासिक करिब १० लाख रुपैयाँ बुझ्ने गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सेती प्रादेशिक अस्पतालमार्फत डायलाइसिस गरेबापतको रकम भुक्तानी गर्दछ ।

सरकारसँगको सम्झौतामा विरंगले जेठ ०७५ बाट सेवा सञ्चालन गरिरहेको छ । डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले तलब नपाएको समस्या समाधान भइसकेको बताए । ‘केन्द्रले पठाउने भनिसकेको छ । बुधबारसम्म सबैको खातामा जम्मा भइसक्छ,’ उनले भने ।