१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Thursday, 04 July, 2024
चार महिनादेखि साउदीको मौवासत अस्पतालमा उपचाररत सर्लाही लालबन्दीका २५ वर्षीय देवराज पौडेल
मुना कुँवर काठमाडाैं
२o७९ बैशाख १५ बिहीबार ११:३१:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल फर्काइदिन साउदी अस्पतालको बेडबाटै देवराजको गुहार

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार ११:३१:oo

चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार, भुक्तानी गर्न मौवासत अस्पतालको दबाब

होस आएपछि देवराजले बल्ल थाहा पाए उनको आधा शरीर मरिसकेको रहेछ । अस्पतालको बेडमा आधा शरीर र सास मात्रै बाँकी थियो । साथमा उनको अधुरो सपना । गाडीको स्टेरिङ समातेर साउदीको सहर–सहर डुलेका देवराज अहिले आफ्नै शरीर पनि घुमाउन सक्दैनन् । चल्छ त केबल हात अनि मुख । 

लालबन्दी सर्लाहीका २५ वर्षीय देवराज पौडेल जनवरी २०२१ मा साउदी अरब पुगेका थिए । श्रीमती र चार वर्षकी छोरीलाई आमाको जिम्मा लगाएर राम्रो आम्दानीका लागि भन्दै उनी परदेश भासिए । देवराज नेपालमा पनि ड्राईभिङ काम गर्थे । तर, साउदीमा कमाइ बढी हुने आशाले उनी विदेश हानिएका हुन् । 

दमामस्थित तलाल हमाद अल विनाली जनरल कन्ट्र्याक्टिङ कम्पनीमा उनी सवारीचालकको काम गर्थे । उनले महिनामा करिब ३८ हजार पारिश्रमिक पाउँथे भने खानाका लागि थप नौ हजार ६०० पाउँथे । कलिलै उमेरमा विवाह गरेका देवराजलाई परिवारिक दायित्व पनि थियो । त्यसैले दुई–चार वर्ष काम गरेर नेपालमै फर्किने देवराजको सोच थियो । 

तर, देवराजको सपना आधा हुन नपाउँदै उनी माथि विपत् आइलाग्यो । साउदी पुगेको एक वर्ष पुग्नै लाग्दा गत १३ जनवरीमा उनी ड्युटीमै थिए । उनी मिनी ट्रक चलाउँदै थिए । बाटो जाम भयो, अगाडि हेभी गाडी थियो । उनले ब्रेक लगाउँदा–लगाउँदै टायर चिप्लिएर अगाडिको गाडीमा ठोक्कियो । गाडीमा उनीसँगै अर्का एकजना सहकर्मी पनि थिए । दुर्घटनामा साथीलाई भने केही भएन । उसले नै प्रहरी बोलायो । प्रहरीले देवराजलाई अस्पताल पुर्‍यायो ।

यो दुर्घटनाले देवराजको सपना मात्रै होइन, शरीर पनि अधकल्चो बनाइछाड्यो । होस आउँदा देवराज अस्पतालको बेडमा थिए । सुरुमा उनलाई अन्दाज नै भएन । ‘म त दुर्घटना भएको ठाउँमा नै बेहोस भएको रहेछु । होसमा आउँदा अस्पतालको बेडमा थिए’ उनले भने । भाग्यवश, अस्पतालमा नेपाली डाक्टर नै थिए । डक्टरले उनलाई मेरुदण्ड भाँचिएकाले आधा शरीर नचल्ने बताए । आफ्नो अवस्थाका बारेमा थाहा पाउँदा देवराज विक्षिप्त भए । 

 बेड नम्बर ३२२
देवराज विगत चार महिनादेखि साउदी दमामस्थित मौवासत अस्पतालको बेड नम्बर ३२२ मा छन् । बेडमा नै बसेर उनले एक सय १३ दिन बिताइसकेका छन् । बेडमा बसेर नेपाल फर्कने कल्पना मात्रै गर्नु उनको दैनिकी बनेको छ । ‘मोबाइल खेलाउँछु, परिवारलाईसँग कुरा गर्छु । कसरी नेपाल फर्कने होला भनेर सोच्छु’ उनले मोबाइलमा कुरा गर्दै नयाँ पत्रिकासँग भने । 

देवराज एकछिन पनि नबोली बस्न सक्दैनथे । तर, आजकाल उनी बोल्न नै चाहँदैनन् । अस्पतालको बेडमा न त उनलाई बोलाउने नै कोही छ न त उनको कुरा सुन्ने नै कोही छ । कहिलेकाहीँ घरमा फोन गर्छन् । फोन गर्नेबित्तिकै दोहोरो रुवावासी सुरु हुन्छ । त्यसैले उनी घरमा उतिसारो फोन गर्दैनन् । उनलाई बिहान–बेलुका खाना दिन दुईपटक नर्स उनका रूपमा छिर्छन् । प्रत्येक दुई–दुई दिनमा उनको दिसा–पिसाब फेर्न सफाइकर्मी छिर्छन् । “अरू वेलामा कोही पनि आउँदैनन् । मलाई अरू के नै चाहिन्छ र ? न उठ्न सक्छु न कोल्टे फेर्न । लाससरह छ मेरो शरीर,” उनले पीडा पोखे । 

देवराजको घाँटी र मेरुदण्डको हड्डी पनि भाँचिएको छ । हड्डीको अप्रेसन गर्ने समयमा उनले काम गर्ने कम्पनीका प्रतिनिधि आएका थिए । त्यसपछि भने कम्पनीले कुनै प्रतिक्रिया नदिएको देवराजले पीडा पोखे । साउदी सरकारको नियमअनुसार श्रमिकको दुर्घटना भएमा सम्बन्धित रोजगारदाताले नै उपचार गर्नुपर्ने व्यवस्था छ । तर, उनले पाएनन् । कम्पनी नयाँ भएकै कारण आर्थिक सहयोग गर्न पन्छिएको उनको अनुमान छ । 

साउदी गएको एक वर्ष बित्न नपाउँदै देवराज दुर्घटनामा परे । त्यसैले साउदी जाँदा लिएको ऋणसमेत चुक्ता गर्न नपाइएको उनले सुनाए । ‘यस्तो अवस्थामा अस्पतालको बिल कसरी चुकाऊँ । कम्पनीलाई फोन गर्‍योे, प्रतिक्रिया नै दिँदैन,” उनले भने । अस्पतालले भने बिल भुक्तानी गरेर डिस्चार्ज हुन दबाब दिएको उनले बताए । 

 सहयोगको प्रतीक्षामा
आधा शरीर लिएर अस्पतालको बेडमा बसेका देवराज नेपाल फर्कन चाहन्छन् । तर, अस्पतालले उनको उपचारमा खर्च भएको ८२ लाख ४१ हजार रुपैयाँको बिल थमाएको छ । बिल भुक्तानी गरेर डिस्चार्ज हुन उनलाई अस्पतालले दबाब दिइरहेको छ । तर, न त उनी त्यो रकम भुक्तानी गर्न सक्छन् न त आफू अस्पतालबाट भाग्न सक्छन् ।  

अस्पतालको बिल मात्रै होइन, उनीसँग नेपाल फर्कन सक्ने कुनै बाटो पनि छैन । त्यसैले सहयोग गरिदिन उनले अस्पतालको बेडबाट नै गुहार मागेका छन् । दुर्घटना भएपछि उनले साउदीस्थित नेपाली दूतावासमा समेत इमेल गरेका थिए । दूतावासका कर्मचारी आएर देवराजलाई भेटे र कम्पनीसँग पनि कुरा गरे । देवराजका अनुसार दूतावासले नेपाल फर्काइदिने आश्वासन दिएको छ । त्यसका लागि भने कम्पनीबाट एक्जिट लेटर लिएर आऊँ भनेको छ । तर, कम्पनी भने एक्जिट लेटर दिन तयार छैन । कम्पनीसँग कुनै पनि रकम लिन छैन भन्ने पत्रमा हस्ताक्षर गरे मात्रै लेटर दिने भन्दै कम्पनीले धम्क्याएको उनले बताए । अन्यथा अस्पतालको बिल चुकाउनुपर्ने भन्दै कम्पनी तर्किएको छ । 

दूतावासले पनि अस्पतालको रकम भुक्तानी गर्ने बजेट नभएको बताएको उनले गुनासो गरे । दुर्घटनापछि देवराजका परिवारले वैदेशिक रोजगार बोर्डमा निवेदन दिएका थिए । तर, एक महिना बितिसक्दा पनि बोर्डले कुनै प्रतिक्रिया नदिएको उनकी श्रीमती सविना पौडेलले बताइन् । ‘परारष्ट्र मन्त्रालय र बोर्डमा गएर निवेदन दिएको हो । खै फोन पनि आएको छैन,’ उनले भनिन् । देवराज परिवारले उनलाई नेपाल झिकाउन हरप्रयास गरिरहेका छन् । 

तर, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने बिरामी झिकाउन केही समय लाग्ने बताए । ‘साउदीबाट कामदार झिकाउँदा अलि झन्झटिलो प्रक्रिया छ । परिवारले निवेदन दिएपछि हामी कामदारका विषयमा सबै छानबिन गर्छौँ । यदि श्रम स्वीकृति लिएको गएको र करार अवधिभित्रमा नै बिरामी परेको हो, हामी थप प्रक्रिया अगाडि बढाउँछौँ’ उनले भने । 
 

ad
ad
ad
ad