मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७९ बैशाख १५ बिहीबार ११:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगमा १२ घन्टासम्म लोडसेडिङ

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७९ बैशाख १५ बिहीबार ११:००:००

भारतबाट मागअनुसार विद्युत् नआउँदा नेपाललाई तीन सय मेगावाट विद्युत् अपुग, उद्योगलाई आयातका आधारमा विद्युत् दिइने, १०–१५ दिनमा समस्या समाधान गर्ने कुलमानको दाबी

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा दैनिक १२ घन्टासम्म विद्युत् कटौती गर्ने भएको छ । भारतबाट मागअनुसार विद्युत् आयात नहुँदा प्राधिकरणले उद्योगमा रातिको समयमा विद्युत् कटौती गर्ने भएको हो । 

मागभन्दा करिब तीन सय मेगावाट विद्युत् नपुग भएपछि उद्योगमा विद्युत्को आपूर्ति कटौती हुने भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले उद्योगमा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन् । 

‘हामीले भारतबाट विद्युत् खरिद सम्झौता (पिपिए), इनर्जी एक्स्चेन्ज मार्केट र द्विपक्षीय सम्झौताअनुसार बिहारबाट गरी तीन माध्यमबाट विद्युत् आयात गरिरहेका थियौँ, तर अहिले विद्युत् व्यापार कम्पनीहरूले पनि विद्युत् दिएको छैन, इनर्जी एक्सचेन्जमा बोलकबोल गर्दा पनि चाहेजति विद्युत् पाउन सकेका छैनौँ र बिहारले पनि केही दिनयता रातिको समयमा विद्युत् दिन छाडेको छ,’ उनले भने, ‘त्यसैले, केही समय उद्योगमा विद्युत् कटौती गर्नुैपर्ने अवस्था आएको छ, मागअनुसार विद्युत् आयात भएको अवस्थामा भने २४सै घन्टा विद्युत् दिनेछौँ ।’ उनले घरायसी प्रयोगमा भने विद्युत् कटौती नगर्ने बताए । 

प्राधिकरणले उद्योगलाई दैनिक रूपमा जानकारी दिएरै विद्युत् कटौती गर्ने जनाएको छ । यद्यपि, कुनै नियमित सूची भने हुनेछैन । प्राधिकरणले हरेक दिन साँझ ६ बजे उद्योगलाई भोलिपल्ट हुने विद्युत् आपूर्तिका विषयमा जानकारी गराउने घिसिङले बताए । ‘उद्योगमा केही दिनदेखि राति विद्युत् आपूर्तिमा डिस्टर्ब छ, कुनै वेला स्वीकृति लोडअनुसार नै २४सै घन्टा विद्युत् उपलब्ध गराएका छौँ, कुनै वेला १२ घन्टा, १८ घन्टा दिनुपर्ने हुन्छ’ उनले भने, ‘विद्युत् पाएको वेला दिइरहेका छौँ, नत्र अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हुन्छ भनेर जानकारी गराउँछौँ ।’ 

आयातका आधारमा उद्योगलाई विद्युत् आपूर्ति गर्ने उनले बताए । ‘आयातको आपूर्ति चेन कसरी हुन्छ सोही आधारमा उद्योगलाई विद्युत् आपूर्ति हुन्छ,’ उनले भने, केही समस्या आयो भने बेलुका–बिहान केही ठाउँमा विद्युत् कटौती गर्नुपर्ने अवस्था हुन सक्छ । यो लामो नहुन सक्छ, विद्युत् पर्याप्त भएका वेला भने २४सै घन्टा विद्युत् दिनेछौँ ।’ यो समस्या १०–१५ दिनमा समाधान हुन सक्ने उनको जिकिर छ । 

अहिले दक्षिण एसिया क्षेत्रमै ऊर्जाको आपूर्तिमा समस्या रहेको उनले सुनाए । खासगरी युक्रेन–रुस युद्ध र कोइलाको बढ्दो मूल्यले ऊर्जाको आपूर्ति चेनलाई प्रभावित पार्दा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशमा समेत विद्युत् आपूर्ति सहज नभएको उनले बताए ।

महँगो भएका कारण विद्युत् आयात गरेन भन्नु गलत : निर्देशक घिसिङ
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले महँगो भएकै कारण आवश्यकताअनुसार विद्युत् आयात नगरेको भन्ने आरोप गलत भएको दाबी गरेका छन् । उनले महँगो पैसा हाल्छु भन्दा पनि विद्युत् पाउने अवस्था नरहेको बताए । ‘हामीले अहिले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट विद्युत् आयात गर्छौँ जहाँ १८ करोड युनिटका लागि डिमान्ड बिड पर्ने गरेको छ, तर सप्लाई बिड आठ हजार करोड युनिट मात्रै पर्ने गरेको छ,’ उनले भने, ‘त्यसैले हामीले पाँच सय मेगावाट डिमान्ड बिड हाल्दा एक सय मेगावाट हाराहारी मात्रै विद्युत् पाइरहेका छौँ ।’ इनर्जी एक्सचेन्जमा बढाबढ हुने भए पनि अहिले अधिकतम मूल्य १२ रुपैयाँ भारु तोकिएको उनले जानकारी दिए । ‘सबै बिड गर्नेले १२ रुपैयाँ भारुमा बिड हाल्ने हो, हामीले पनि १२ भारुमै बिड हाल्ने हो,’ उनले भने, ‘महँगो भएका कारण प्राधिकरणले विद्युत् आयात र आपूर्ति गरेन भन्नु गलत हो ।’