काभ्रेपलाञ्चोक नालाका कञ्चनराज गिरीको सानैदेखिको सपना थियो सरकारी जागिरे बन्ने। त्यही सपनालाई पछ्याउँदै उनले १० वर्षसम्म निरन्तर लोकसेवा पढे। करिब १५ वटा सरकारी कार्यालयमा लोकसेवाको परीक्षा दिए। तर उनी २१औँ पटकसम्म अनुतीर्ण नै भए। प्राय विद्यालयको परीक्षामा पहिलो र दोस्रो श्रेणीमा उत्तीर्ण भइरहने उनी लोकसेवामा भने पटकपटक अनुतीर्ण भएका थिए। २२औँ पटकको प्रयासमा गएको कार्तिकमा भने उनले नेपाल विद्युत् प्राधिकरणमा नाम निकाल्न सफल भए। यो पटक नाम लिकाल्दा उनको उमेरले पनि ३५ वर्ष पार गर्नै लागेको थियो।
सरकारी जागिरे बन्न यति मेहनत गर्ने सायदै होलान्। तर लामो मेहनतपछि लोकसेवामा नाम निकालेर जागिर सुरु गरेका गिरीले पाँच महिनामै सरकारी जागिरबाट राजीनामा दिए। गएको कार्तिकमा नेपाल विद्युत् प्राधिकरणमा नाम लिकालेपछि उनी मंसिर एक गतेदेखि कार्यालयमा हाजिर भएका थिए।
तर चैत्र २४ गते उनले उक्त जागिरबाट राजीनामा दिए। उनले अधिकृतको जागिरबाट राजीनामा दिनुको खास कारण थियो– काभ्रेकै बनेपा नगरपालिकामा प्रमुखको लागि स्वतन्त्र उम्मेदवार बन्ने। आइतबार उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए।
यद्यपि लोकसेवाको जाँच दिँदै गर्दा उनले जनप्रतिनिधि बन्ने हुटहुटी पनि पालेका थिए। त्यही कारणले सरकारी जागिर छाडेर जनप्रतिनिधि बन्नको लागि उम्मेदवार बनेको उनको भनाइ छ। ‘मलाई सरकारी जागिरप्रति निकै भोक थियो, तर लोकसेवाको परीक्षा दिने तयारी गर्दै गर्दा मेरो मनमा राजनीति पनि गर्नुपर्छ भन्ने सोच बढ्यो,’ उनले सुनाए।
उनले नागरिक उड्ड्यन प्राधिकरण, कर्मचारी सञ्चय कोष, गुठी संस्थान, नेपाल आयल निगम, विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम, खाद्य संस्थान, काठमाडौं महानगरपालिका, पयर्टन बोर्ड, सामाजिक सुरक्षा कोष, घरेलु तथा साना उद्योग विकास समितिलगायतमा लोकसेवाको परीक्षा दिएका थिए।
यसबाहेक निजामती सेवाका लागि उनले आठपटक लोकसेवा परीक्षा दिएका थिए। यी संस्थामा दिएको परीक्षामा पटकपटक अनुत्तीर्ण हुँदा पनि उनले हार भने खाएनन्। असफलताले नै सफलतालाई पछ्याउँछ भन्दै लागिपरे। ‘म फेल भइरहेको थिएँ, तर त्यो निकै सामान्य हो भन्ने लाग्थ्यो,’ उनले भने, ‘सधैँ म सकारात्मक भएँ, हार खाएर आफूलाई विचलित हुन दिइनँ।’
त्यसो त जागिर खाएको छोटो समयमै सरकारी कार्यालयको बेथिति र कर्मचारीको प्रवृत्ति उनलाई त्यति ठीक लागेन। सरकारी कार्यालयका थुप्रिएको कामको चाङ, कर्मचारीको काम नगर्ने प्रवृत्ति र अनियमितता हुने देखेपछि उनी सरकारी जागिरमा सन्तुष्ट हुन सकेनन्।
उनलाई प्राधिकरणले कालीगण्डकी ए जलविद्युत् केन्द्रको कार्यालय स्याङजामा खटाएको थियो। तर त्यहाँको अवस्था आफूबाट मात्रै परिवर्तन हुने उनले देखेनन्। ‘मैले त सरकारी सेवामा राम्रै हुन्छ होला भन्ने सोचेको थिएँ,’ उनले सुनाए, ‘आफूले मात्रै सुधार गरौँ भनेर हुँदो रहेनछ, मैले काम गर्ने ठाउँमा बेथितिको चाङ नै थिए, म कार्यालय प्रमखको भूमिकामा थिइनँ।’ उनले भने । उनी त्यहाँ शाखा प्रमुख थिए।
उनले सरकारी कर्मचारी र राजनीति दुवै विषयलाई एकैसाथ अघि बढाउन नसकिने भएकाले दुईमध्ये एकलाई रोजेको पनि बताए। ‘लोकसेवा दिँदै गर्दा मैले भित्री मनले राजनीति पनि गर्नुपर्छ भनेर सोचेको थिएँ, जागिर खाएको केही महिनामै चुनाव आयो अनि जागिर छाडेर राजनीतिलाई रोजेको हुँ,’ उनले सुनाए।
उनी यसअघि नौ वर्ष निजामती अस्पताल वानेश्वरमा पनि करार कर्मचारी भएर काम गरेका थिए। त्यससँगै उनले लोकसेवा पनि पढिरहेका थिए। पाँच वर्षअघि उनले निजामती अस्पतालको करार कर्मचारीबाट राजीनामा दिएका थिए। त्यसपछि उनी लोकसेवाको पढाइमा केन्द्रित भएका थिए।
छोटो समय जागिरे अनुभव बटुलेका उनले प्राविधिक कार्यालयमा प्रशासनको भूमिकामा संकुचित रहेको सुनाए। त्यस्तो ठाउँमा आफू अडिन नसकेको उनको अनुभव छ। ‘सरकारी कार्यालयमा सीमित काम गरेर बस्न मन लागेन, त्यहाँ आफ्नै तरिकाले काम गर्ने वातावरण पनि हुने रहेनछ,’ उनले सुनाए, ‘त्यस्ता कुराले पनि समयमै जागिर जागिर छाड्नुपर्छ भन्ने लाग्यो।’
लामो समयको मेहनतपछि लोकसेवामा नाम लिकालेर जागिरे बनेका उनी पछिल्लो समय राजनीतिक प्रचार प्रसारमा जुटेका छन्। ‘अहिले म जनताको घरदैलोमा छु,’ उनले सुनाए, ‘तर स्वतन्त्र उम्मेदवारलाई सजिलो चाहिँ छैन।’ उनले आफूले लोकसेवाको जागिर छाडेर आएकोले पनि मत माग्न केही सहज भइरहेको बताए। उनले अब आफू नगरमा कार्यकारी प्रमुखको रूपमा जाने तयारीसहित प्रचार-प्रचारमा लागेको दाबी गरे। ‘कर्मचारीतन्त्रलाई राजनीतिले निर्देशित गर्छ, अब म त्यही पदमा पुगेर मेरो नगरलाई व्यवस्थित पार्छु,’ उनले भने, ‘यदि पराजित भइहाले भने केही न केही काम गर्छु।’
स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा होमिएका उनले केही योजना पनि अघि सारेका छन्। जसमा सरकारी विद्यालय सुधार गर्ने, बनेपाको फोहोरमैला व्यवस्थापन गर्ने, सहरलाई मौलिक र व्यवस्थित पार्ने, रोजगारी सिर्जना गर्ने, शिक्षालाई व्यावसायिक बनाउने, भक्तपुरसम्म आउने विदेशी पयर्टकलाई बनेपासम्म लैजाने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने, घरघरमै पुगेर नगरका सेवा प्रवाह गर्नेलगायत योजना अघि सारेका छन्।