स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा देशभरबाट एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार पालिकाको प्रमुखमा तीन हजार दुई सय ७६ र उपप्रमुखमा दुई हजार नौजनाको मनोनयन दर्ता भएको छ ।
यस्तै, पालिका अध्यक्षमा तीन हजार दुई सय ६४ र उपाध्यक्षमा दुई हजार दुई सय ९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार दुई सय १७, महिला सदस्यमा २३ हजार पाँच सय २१, दलित महिला सदस्यमा २१ हजार दुई सय २१ र वडा सदस्यमा ४९ हजार दुई सय ३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार सात सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार चार सय ८३ सदस्य गरी कुल ३५ हजार दुई सय २१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदै छ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भएको छ । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।