मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १३ मंगलबार ०८:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनढुंगा खानीमा दोहन : सर्वाेत्तम र सिद्धार्थ सिमेन्टका सञ्चालकसँग धरौटी माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १३ मंगलबार ०८:०७:००

अनुमतिभन्दा बढी चुनढुंगा खानी दोहनको अभियोगमा मुद्दा खेपेका दुई सिमेन्ट उद्यमी धरौटीमा छुटेका छन् । सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने र सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका उपस्थित हुने निवेदन लिएर विशेष अदालतमा उपस्थित भएकोमा दुवैजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । 

विशेष अदालतका इजलास अधिकृत बालकृष्ण लवजुका अनुसार न्यौपानेलाई २५ लाख र उनको कम्पनी सर्वोत्तम सिमेन्टलाई २५ लाख गरी ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको थियो । मुरारका र उनको कम्पनीलाई ५०–५० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको लवजुले बताए । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश गरेको हो । न्यौपाने सर्वोत्तम सिमेन्टका सञ्चालक र मुरारका सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थ मिनरल्सलाई ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ र सर्वोत्तम सिमेन्ट र सञ्चालक न्यौपानेलाई १६ करोड ३१ लाख ८१ हजार रुपैयाँभन्दा बढी र बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । बिगो फरक भए पनि धरौटी भने बराबर माग भएको छ । 

न्यौपाने र मुरारकासहित नौ चुनढुंगा कम्पनीले खानी तथा भूगर्भ विभागबाट माइनिङ स्किममा तोकिएभन्दा बढी चुनढुंगा उत्खनन गरेको, उक्त कार्य रोक्न विभागबाट पटक–पटक भएको पत्राचार बेवास्ता गरेको अभियोग लगाइएको छ । अभियोगपत्रमा यी कम्पनीले अवैज्ञानिक ढंगले चुनढुंगा उत्खनन गर्नुका साथै वातावरणीय संरक्षणलाई समेत ध्यान नदिएको दाबी छ । 

यसअघि, आइतबार पनि युनाइटेड सिमेन्ट्स र सञ्चालक नरेश दुगड विशेषमा उपस्थित भएका थिए । कम्पनी र सञ्चालक दुवैलाई २०–२० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको थियो । दुगडविरुद्ध नौ करोड ६९ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । साथै, मारुती सिमेन्टलाई पनि ५० लाख धरौटी लिई रिहा गरिसकिएको छ ।

उक्त कम्पनीमाथि साढे २० करोडको बिगो मागदाबी थियो । सो मुद्दामा सिमेन्ट उद्योग र तिनका सञ्चालकसहित नौजना र नौ सरकारी कर्मचारीविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको थियो । जसमध्ये चार कम्पनी तथा सञ्चालक उपस्थित भइसकेका छन् । तीनजना कर्मचारी पनि उपस्थित भएका छन् ।