काठमाडौंको लाजिम्पाटस्थित एक होटेलबाट आइतबार हालसम्मकै ठूलो परिमाणमा सेतो हेरोइन बरामद भएको छ । नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सात किलो सेतो हेरोइन बरामद गरेको हो । अवैध बजारमा यसको करिब १४ करोड रुपैयाँ मूल्य पर्छ । क्यारेबियन मुलुकबाट भारतको दिल्ली लैजाने तयारी गरिएको उक्त हेरोइन दक्षिण अफ्रिकाको जोहनसबर्ग र कतारको दोहा हुँदै काठमाडौं ल्याइएको थियो । सुटकेसभित्र फल्स बटम बनाई लुकाइएको हेरोइन जोहनसबर्ग र दोहा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेरा छलेर काठमाडौं आइपुगेको थियो । तर, तस्करहरूले लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई छल्न सकेनन् ।
ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठले संसारकै सुरक्षा व्यवस्था चुस्त मानिएका विमानस्थल पार गरेर हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताए । प्रहरीले तस्करमा संलग्न अफ्रिकी मुलुक जिम्बावेका नागरिक ३५ वर्षीया कपुतुला अविसर्ग र भारतीय नागरिक ३५ वर्षीया लाल नुनपुइलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद हेराइन जिम्बावेली नागरिक अविसर्गले जोहनसबर्गबाट दोहा हुँदै ३ वैशाखमा काठमाडौं ल्याएकी थिइन् । भारत लैजानका लागि लाल नुनपुई ४ वैशाखमा भारतबाट काठमाडौं आएकी थिइन् । उनीहरू लाजिम्पाटस्थित होटेलमा बसेका थिए । यही क्रममा उनीहरूले हेराइन प्याक गरिएको सुटकेस आदान–प्रदान गरेका थिए भने भारत लैजान नुनपुईले जहाजको टिकटसमेत काटेकी थिइन् ।
हेराइनसहित काठमाडौंमा पक्राउ जाम्बियाली नागरिक अविसर्ग स्नातकमा अध्ययनरत विद्यार्थी हुन् । उनी केही वर्षदेखि जाम्बियाली पुरुषको प्रेममा थिइन् । उनीहरूले यही क्रममा नेपाल घुम्ने योजना बनाए । जोहनसबर्गबाट नेपालसम्म आउन कतार एयरवेजको टिकट पनि काटे । दुवै नेपाल आउन जोहनवर्ग पुगे । तर, अन्तिममा अविसर्गका प्रेमीले निजी मामिला देखाउँदै नेपाल जान नसक्ने बताए । प्रेमिकालाई एक्लै नेपाल जान भनेका उनले तीन दिनपछि नेपालमै भेट्ने विश्वास दिलाए । विमानस्थल आइसकेकी अविसर्गलाई उनले आफूसँग ल्याएको सुटकेस पनि लिएर जान र नेपाल पुगेपछि उनलाई भेट्न आउने व्यक्तिलाई दिन अह्राए ।
विश्वासमा परेकी अविसर्ग सुटकेस लिएर नेपाल आइन् । बुक गरिएको लाजिम्पाटस्थित होटेलमा बसिन् । भोलिपल्ट सुटकेस लिन भारतीय नागरिक नुनपुई आइपुगिन् । होटेलमा दुईजनाबीच सुटकेस आदान–प्रदान भयो । निगरानीमा रहेको प्रहरीले यही क्रममा दुवैलाई पक्राउ गर्यो । सुटकेस फोडेर हेर्दा फल्स बटमभित्र सात किलो सेतो होरोइन फेला प¥यो । ब्युरोका एसपी श्रेष्ठले जाम्बियाली नागरिकले अविसर्गलाई प्रेममा परेको नाटक गरेर तस्करीमा प्रयोग गरेको देखिएको बताए ।