प्रमुख विपक्षी दल एमालेले पनि मनोनयनको पहिलो दिन नगन्य मात्रामा उम्मेदवारी दर्ता गराएको छ । सात सय ५३ पालिकामध्ये अधिकांशमा दुई दिनअगावै उम्मेदवारी टुंग्याइसके पनि एमालेले पहिलो दिन दुई जिल्लाबाहेक अन्यमा उम्मेदवारी दर्ता गराएको छैन । केही ठाउँमा त चरम विवादसमेत देखिएको छ । एक महानगर र दुई उपमहानगरमा त मेयर–उपमेयरको उम्मेदवार नै टुंगो लगाउन सकेको छैन ।
दोलखाका नौ पालिका र ताप्लेजुङका केही पालिकामा आइतबार उम्मेदवारी दर्ता भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसबाहेक सबै स्थानीय तहमा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने एमालेको तयारी छ । सत्तागठबन्धनको सिट बाँडफाँड र उम्मेदवारी हेरेर मात्र मनोनयन गर्ने एमालेको रणनीति छ । सिट बाँडफाँड र उम्मेदवारी टुंग्याउन ढिलाइले सत्तारूढ गठबन्धन सबै जिल्लामा कार्यान्वयन नहुने र कार्यान्वयन भएका पालिकामा पनि विद्रोही उम्मेदवार खडा हुने एमालेको अनुमान छ ।
एमालेको त्यस्तो अनुमानमा बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार आयोजित एक कार्यक्रममा एमालेको षड्यन्त्रमा निर्वाचन आयोगले दुई दिन उम्मेदवार मनोनयन राखेको हुन सक्ने आशंका गरेका थिए । तर, एमालेले भने सत्तारूढ गठबन्धनलाई सहयोग पुग्ने गरी निर्वाचन आयोगले दुई दिनसम्म उम्मेदवारी मनोनयन राखेको आरोप लगाउँदै आएको थियो ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उम्मेदवारी टुंगिसके पनि कतिपय ठाउँका उम्मेदवारबीच रहेको विवाद मिलाउने र नरम–गरम सबै प्रतिक्रिया हेरेर मात्र अन्तिम दिन उम्मेदवारी दर्ता गराउने पार्टीको नीति रहेको बताए । ‘पार्टीको नीति नै सोमबार उम्मेदवारी दर्ता गर्ने भन्ने हो । हामी विपक्षी दल हौँ, हतार गर्नेभन्दा अन्तिम दिनससम्म हेरौँ, कतिपय ठाउँमा विवाद मिलाएर एकैचोटि उम्मेदवारी दर्ता गर्दा राम्रो होला भन्ने लागेको छ,’ रिजालले नयाँ पत्रिकासँग भने, ‘एकाध जिल्लामा साथीहरूले अलिकति हतारिएर उम्मेदवारी दर्ता गराउनुभएको छ, तर हामी नरम–गरम सबै प्रतिक्रिया हेरेर मात्र उम्मेदवारी दर्ता गराउने तयारीमा छौँ ।’
एमाले केन्द्रीय सचिवालयले शनिबार विराटनगर महानगरपालिकाबाहेक पाँच महानगरपालिका र ११ महानगरमध्ये जनकपुर र जितपुरबाहेक नौ उपमहागरको उम्मेदवारी टुंगो लगाएको थियो । पोखरा महानगरपालिकाका प्रस्तावित मेयरका उम्मेदवार दीपक पौडेलको विवादास्पद भिडियो सार्वजनिक भएपछि एमालेले त्यहाँ पनि नयाँ उम्मेदवारका विषयमा छलफल चलाइरहेको छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले १२ वैशाखमै सबै जिल्लामा उम्मेदवारी दर्ता गर्ने पूर्वतयारी रहेकाले आइतबार दोलखाबाहेकका जिल्लामा पार्टीले उम्मेदवारी दर्ता नगराएको बताए । ‘हामीले सबै जिल्लामा १२ गते नै गर्ने तयारी गरेका थियौँ, उम्मेदवारी नटुंगिएको त्यस्तो कुनै समस्या छैन । दोलखामा चाहिँ ११ गतेकै लागि तोकिएकाले आइतबार उम्मेदवारी दर्ता भएको हो,’ अध्यक्ष पाण्डेले भने, ‘अरू जिल्लामा सोमबार अपराह्न १२ बजेदेखि ५ बजेभित्र पूर्वतयारीअनुसार पार्टीले उम्मेदवारी दर्ता गराउनेछ ।’
सबै महानगर–उपमहानगरको टुंगो अझै लागेन, बरु पोखरामा विवाद बल्झियो
एमाले केन्द्रीय सचिवालयले शनिबार विराटनगरबाहेक पाँच महानगरका मेयर तथा जनकपुर र जितपुरबाहेक नौ उपमहानगरमा मेयरको टुंगो लगाएको थियो । पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, गुरुङले पार्टीको निर्णयपछि उपमेयर पद अस्वीकार गर्ने सार्वजनिक घोषणा गरेकी छिन् ।
यसअघि उपमेयर रहेकी उनले आफूले माग्दै नमागेको पद पार्टीले दिएको भन्दै आपत्ति जनाएकी छिन् । निर्णयअघि सल्लाहसमेत नगरिएको उनको भनाइ छ । त्यस्तै, मेयरका उम्मेदवार पौडेलको विवादास्पद भिडियो सार्वजनिक भएपछि एमालेमा थप तरंग उत्पन्न भएको छ । मेयरको उम्मेदवारसम्बन्धी निर्णयमा पुनर्विचार गर्न पार्टीभित्रैबाट आवाज उठेको छ ।
शीर्ष नेताहरूले पनि यस विषयमा छलफल चलाएका छन् । यद्यपि, आइतबार रातिसम्म पनि निर्णय पुनर्विचार गर्ने सम्बन्धमा कुनै औपचारिक निर्णय भने भइसकेको छैन । त्यस्तै, विराटनगर, वीरगन्ज र भरतपुर महानगरको उपमेयर पनि एमालेले आइतबार रातिसम्म टुंगो लगाएको छैन ।