गोरखामा नेपाली कांग्रेस एक्लै चुनावमा उत्रने भएको छ। आइतबार बिहान कांग्रेस जिल्ला कार्यसमितिको बैठकले स्थानीय निर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए।
जिल्लामा गठनबन्धनका दलहरूबीच आठौँपटकको बैठकमा पनि सहमति जुट्न नसकेपछि गठबन्धन भंग भएको उनले बताए। ‘गठबन्धनलाई जीवित राख्न चाहन्थ्यौँ। दुःखको साथ भन्नुपर्छ केही साथीहरूले महत्वकांक्षा, राजनीतिक अपरिपक्वता देखाउनुभयो। त्यसकारण गठबन्धन गरेर निर्वाचनमा जान सकेनौँ,’ सभापति न्यौपानेले पत्रकार सम्मेलनमा भने।
गठबन्धन तोडिएसँगै कांग्रेस आफ्नो तयारीमा अघि बढेको उनले बताए। केन्द्रीय संयन्त्रले गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुन नसकेको खण्डमा मित्रवत् प्रतिस्पर्धा गर्न सक्ने भनेकाले यो निर्णयमा पुगिएको न्यौपानले बताए। आफ्नै संगठनको शक्ति र साथीहरूको मनोभावनाको कदर गर्दै एक्लै चुनावी प्रतिस्पर्धामा जाने कार्यकर्ताको भावनाअनुसार यस्तो निर्णयमा पुगिएको उनले प्रस्ट्याए।
शनिबार अपराह्न कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। उक्त विषय बाहिर आएपछि जनता समाजवादी पार्टीले गठबन्धन दलभित्रका सबै दलबीच सहमति हुनुपर्ने दबाब दिएको थियो। केन्द्रीय नेताहरूबाट सबै दलबीच तालमेल गर्न दबाब आएपछि अन्ततः कांग्रेस एक्लै लड्ने निष्कर्षमा पुगेको हो।
वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ११ वटै पालिका र ९४ वटै वडामा कांग्रेसको उम्मेदवारी रहने नेपाली कांग्रेसका जिल्ला सभापति न्यौपानेले बताए। आज बेलुकीसम्म वडा र पालिकाको उम्मेदवारको टुंगो लगाउने बताउँदै उनले सोमबार सबै तहमा मनोनयन दर्ता हुने बताए।