साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको दुईवटा उडान सुरु गरेको नेवानिकी प्रवक्ता अर्चना खड्काले बताइन् ।
नेवानिले भारतका तीनवटा सहर दिल्ली, मुम्बई र बैंग्लोरमा उडान गर्दै आइरहेको छ । दिल्लीमा दैनिक दुईवटा, मुम्बई र बैंग्लोरमा सातामा तीन–तीनवटा उडान गरिरहेको नेवानिले जनाएको छ । यस्तै, नेवानिले कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ र जापानको नारितामा उडान गर्दै आइरहेको छ ।
नेवानिले क्वालालम्पुर र बैंककमा पनि साताको तीन–तीन वटा उडान गरिरहेको छ । दोहामा साताको पाँच, दुबईमा पनि साताको पाँच, हङकङमा एक र नारितामा तीनवटा उडान गर्दै आइरहेको नेवानिले जनाएको छ । छिट्टै दोहा र क्वालालम्पुरमा दैनिक एक–एक उडान सञ्चालन गर्ने नेवानिको तयारी छ । उल्लिखित गन्तव्यका उडानहरूमा नेवानिका जहाजका सिटहरू ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेको निगमको दाबी छ । नेपालीको प्रमुख श्रम गन्तव्यहरूमा नेवानिले उडानलाई प्राथमिकता दिइरहेको छ । कतार, मलेसिया, साउदी अरेबिया, भारत, दुबईलगायत मुलुक नेपालका प्रमुख श्रम गन्तव्य हुन् ।
अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी एयरबस–३२० र दुईवटा वाइडबडी एयरबस–३३० जहाज रहेका छन् । नेवानिको काठमाडौं–दिल्ली–काठमाडौं उडानमा यात्रु खचाखच हुने गरेका छन् ।
पछिल्लो समय नेवानिले आफ्ना जहाजलाई पूर्ण क्षमतामा उडाउन विभिन्न देशमा उडान विस्तारमा तीव्रता दिइरहेको छ । भइरहेका गन्तव्यमा उडान थप्ने र अहिले उडान नभइरहेका सम्भावित गन्तव्यमा उडान सुरु गर्ने निगमले रणनीति बनाएको छ ।