१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Saturday, 28 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ बैशाख ११ आइतबार o६:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच महानगर र नौ उपमहानगरमा एमालेका मेयर–उपमेयरका उम्मेदवार टुंगिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार o६:o८:oo

संसद्को ठूलो दल एमालेले स्थानीय तह निर्वाचनका लागि काठमाडौंसहित पाँच महानगरपालिका र नौ उपमहानगरपालिकामा मेयर र उपमेयर उम्मेदवार चयन गरेको छ । वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा एमालेले नवप्रवेशीलाई उम्मेदवार बनाएको छ ।

केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले ती महानगर र उपमहानगरको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो । एमालेले तालमेलको सम्भावना भएको नगरमा भने उम्मेदवार छनोट गरेको छैन । बाँकी उम्मेदवार आइतबार बेलुकीसम्म टुंगो लगाउने एमालेले जनाएको छ । 

एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ । त्यस्तै, सुनिता डंगोललाई उपमेयर बनाउने निर्णय गरेको छ । स्थापित ०५४ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए । 

अघिल्लो स्थानीय निर्वाचनमा पनि उनी एमालेबाट काठमाडौंका मेयरका लागि प्रमुख आकांक्षी थिए । बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका स्थापित प्रदेश सांसदसमेत छन् । उपमेयर डंगोल पूर्वमिस नेवा हुन् । उनले स्वतन्त्रबाट मेयरमा उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । 

काठमाडौंबाट मेयरमा स्थापितसहित संघीय सांसद रामवीर मानन्धर, विद्यासुन्दर शाक्य, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको थियो । त्यस्तै, उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्लेको नाम सिफारिस भएको थियो । 

त्यस्तै, पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ बनाउने एमालेले निर्णय गरेको छ । गुरुङ अहिले पनि उपमेयर छिन् । पोखराको मेयरका लागि पौडेलसहित १२ जना उम्मेदवारको नाम मेयरमा सिफारिस भएको थियो । जसअनुसार प्रदेश सांसद कृष्ण थापा र राजीव पहारीलाई उम्मेदवार नबनाउने सचिवालयको पछिल्लो निर्णयसँगै नौजना प्रतिस्पर्धी थिए । जसमा दर्शन लामा, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारीको नाममाथि सचिवालयमा छलफल भएको थियो । उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगानाको नाम महानगर कमिटीले माथिल्लो कमिटीमा सिफारिस गरेको थियो ।

त्यस्तै, वीरगन्ज महानगरपालिकाको मेयरमा विजय सरावगी सर्वसम्मत चयन भएका छन् । जसपाबाट प्रवेश गरेका उनी अहिले पनि मेयर छन् । उपमेयर भने तालमेलका लागि छुट्याइएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । वीरगन्जमा एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ । 

त्यस्तै, भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उठाउने निर्णय गरेको छ । बागमती प्रदेशका पूर्वमन्त्री सुवेदी प्रदेश सांसदसमेत थिए । भरतपुरको उपमेयर भने टुंग्याउन बाँकी छ । त्यस्तै, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यको नाम निर्णय भएको छ । व्यञ्जनकार अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । उनी एमाले ललितपुरका पूर्वअध्यक्षसमेत हुन् । 

विराटनगरमा भने अर्को बैठकबाट निर्णय गर्ने एमालेको तयारी छ । त्यहाँ पाँचजनाको नाम मेयरमा सिफारिस भएको थियो । रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भए पनि टुंगो लागिसकेको छैन । उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’को नाम सिफारिस भएको छ । 

११ उपमहानगरमध्ये धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा चन्द्रकला राना थारूको निर्णय भएको छ । त्यस्तै, नेपालगन्जको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकालको नाम टुंगो लागेको छ । मिश्र जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका थिए । त्यस्तै, तुलसीपुर उपमहानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी चयन भएका छन् । 

घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी केसी, बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रादेवी अर्यालको नाम चयन भएको छ । हेटौँडा उपमहानगरको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बू, इटहरी उपमहानगरको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी, कलैयाको मेयरमा विनोद साह र उपमेयर टुंगो लाग्न बाँकी छ । 

जनकपुर र जितपुर–सिमरा उपमहागरपालिकाको भने टुंगो लगाउन बाँकी रहेको उपमहासचिव गुरुङले बताए । उनले टुंगो लाग्न बाँकी केही स्थानमा अन्य दलसँग तालमेलको सम्भावना रहेको समेत बताए । ‘जहाँजहाँ रिक्त छ, त्यहाँ तालमेलको पनि सम्भावना छ, आइतबार बेलुकीसम्म सबै टुंगो लगाउँछौँ,’ गुरुङले भने । 

नगरपालिका र गाउँपालिकाका उम्मेदवार भने प्रदेशबाटै एमालेले टुंगो लगाएको छ । समस्या भएका गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पार्टी अध्यक्षसँगको परामर्शमा निर्णय हुने पनि उनले बताए ।