१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १० शनिबार o८:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सागका स्वर्ण विजेता भूपेन्द्र फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार o८:३७:oo

१३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भूपेन्द्रले ६३ केजी तौल समूहको सेमिफाइनलमा एपिएफका सोनमलाई तीन चरणमा हराए

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल पुलिस क्लबमा आबद्ध भूपेन्द्रले शुक्रबार वसन्तपुर डबलीमा पुरुष ६३ केजी तौल समूहको सेमिफाइनलमा एपिएफका सोनम सार्कीलाई तेस्रो चरणमा पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरेका हुन् । यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई तेस्रो चरणमा हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गरेका छन् ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपिएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाएका छन् । प्रेमले पुलिसका चन्द्रबहादुर थापामाथि सहज जित निकाले । प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोललाई पाखा लगाए । पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशीलाई निराश पार्दै अन्तिम दुई स्थान पक्का पारेका छन् । एपिएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई सहजै तीन चरणमा हराए । 

पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरे । १३औँ सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्दलाई अंकका आधारमा पराजित गरे । दनबहादुरले बागमती प्रदेशका शिरीष खनाललाई पाखा लगाए । पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोसिस श्रेष्ठलाई पाखा लगाए । प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिलराज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । ८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गरेका छन् । दीपकले प्रदेश १ का प्रसाङ लिम्बू र श्यामले बागमती प्रदेशका रोशन स्याङ्तानलाई पराजित गरे । 

पुरुषकै ९१ केजी तौल समूहमा एपिएफका रविन नेपाल र आर्मीका गणेश प्रधान फाइनलमा पुगेका छन् । रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश १ का प्रसिस रुचाललाई स्तब्ध बनाए । महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मिनु गुरुङले उपाधि भिडन्त पक्का गरे । दिवानाले एपिएफकी सञ्जुमाया थिङ र मिनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई पराजित गरे । महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी नङ्जा बुढामगरलाई हराउँदै अन्तिम दुई स्थान सुरक्षित गरेकी छिन् । पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गरिन् । 

महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाल र एपिएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए । दंगालले बागमती प्रदेशकी शशिकला राई र सुनारले प्रदेश १ की नारिका राईलाई पराजित गरे । प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच गरी १२ स्पर्धा समावेश भएको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताएका छन् ।  प्रत्येक स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।