१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १० शनिबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषिमा अनुदान हटाउन अर्थमन्त्री शर्माको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार o७:२८:oo

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको छलफलमा उनले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् । 

‘बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस्,’ उनले भने, ‘उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बिउको उपलब्धता, सही समयमा रासायनिक तथा जैविक मलको उपलब्धता, प्रविधि र प्राविधिकको सहयोगलगायत माध्यमहरूबाट किसानलाई प्रोत्साहन गर्नु जरुरी छ ।’

कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश सञ्जेलले आगामी आवका लागि प्रस्तावित कार्यक्रममा कृषि अनुदानको विषय उठाएपछि मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । आगामी बजेटका लागि ४२ अर्ब ७३ करोड रुपैयाँको सिलिङ पाएको कृषि मन्त्रालयले बजेट सीमाभित्रै रहेर कार्यक्रमहरूको प्रस्ताव गर्ने जनाएको छ ।

चालू आवमा कुल बजेटको तुलनामा कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट विनियोजन भएको र पछिल्लो १० वर्षमा कृषि तथा पशुपक्षी क्षेत्रको औसत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ । छलफलमा अर्थमन्त्री शर्माले सीमानाकामा क्वारेन्टिन स्थापना गर्न बारम्बार निर्देशन दिए पनि ढिलाइ गरेको भन्दै गुनासो गरेका थिए ।

‘यसअघि भएका नियमित बैठकमा सीमानाकामा छिटो क्वारेन्टिन राख्नुस्, त्यसका लागि के–कति बजेट आवश्यक पर्छ, तुरुन्तै भुक्तानी दिन्छौँ भनेका थियौँ,’ मन्त्री शर्माले भने, ‘तर, अहिलेसम्म तयारी नै देखिएन, यसरी ढिलाइ गर्नुभएन ।’ क्वारेन्टिन राखेर आयातीत कृषिउपज तथा खाद्य वस्तुको गुणस्तर, विषादीको मात्रा, खाद्य वा अखाद्य मात्रा, लेबलिङको अवस्थालगायत परीक्षण सूक्ष्म रूपले अगाडि बढाउन उनले निर्देशन पनि दिएका छन् । 

जेठ–असारमा धान रोप्ने तयारी गरेका किसानलाई उन्नत जातको बिउ वितरण गरी उत्पादन बढाउन पनि मन्त्री शर्माले निर्देशन दिए । ‘धान धेरै फल्ने जातका बिउ किसानलाई वितरण गरिहाल्नुस्, यसका लागि पनि केही बजेट चाहिन्छ भने हामी दिन्छौँ,’ उनले भने, ‘जतिसक्दो छिटो धान उत्पादन बढाएर आयातलाई बिस्तारै घटाउनुपर्नेछ ।’ चालू आवको नौ महिनामा तीन खर्ब २५ अर्ब रुपैयाँको कृषि वस्तु आयात भएको भन्दै उनले कृषि उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्नुको विकल्प नरहेको पनि बताए ।

छलफलमा कृषिसचिव डा. गोविन्द शर्माले बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर तीन मेट्रिकटनभन्दा बढी र चैते धानको उत्पादकत्व प्रतिहेक्टर सात मेट्रिकटनभन्दा बढी रहेको जानकारी दिए । अर्थसचिव मधुकुमार मरासिनीले आगामी आवका लागि कुन–कुन कार्यक्रम राख्ने भन्ने विषयमा प्रतिफलयोग्य कार्ययोजना ल्याउन निर्देशन दिए । छलफलमा आलु, प्याज, च्याउ, सागलगायतको उत्पादन बढाउने गरी कार्यक्रम तयार गर्ने सहमति भएको छ ।

छलफलमा कृषिमन्त्री महिन्द्रराय यादवले बर्सेनि कृषि क्षेत्रमा कम बजेट विनियोजन हुने गरेको भन्दै आगामी वर्ष पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । ‘न्यून बजेटले कृषिको उत्पादन वृद्धि र निर्यात गर्ने स्थिति हुँदैन, त्यसैले बजेट वृद्धि गर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित गरी त्यहाँको लगानीलाई सदुपयोग गर्नुपर्छ ।’

ad
ad
ad
ad