१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
रासस काठमाडौं
२o८१ असार १९ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १५:१o:oo

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन्।

विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरूले उक्त सुझाव दिएका हुन्।

बैठकमा सांसद पदमबहादुर परियारले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकताअनुसार बजेट विनियोजन नभएको उल्लेख गर्दै सोह्रौँ आवधिक योजनाले शिक्षा क्षेत्रको बजेट १० प्रतिशतमाथि राख्ने लक्ष्य राखेकामा शिक्षामा बजेट घटाउन नहुने बताए।

आगामी आवका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रु. दुई खर्ब तीन अर्ब ७४ करोड ४९ लाख विनियोजन भएको छ।

‘यो कुल बजेटको १०.९५ प्रतिशत हुन आउँछ, चालू आव ०८०/८१ मा शिक्षामा ११.२७ प्रतिशत बजेट छुट्याइएकामा आगामी आवका लागि  घटेर आएको छ। शिक्षा क्षेत्रमा बजेट नघटाइयोस्,’ सांसद परियारले भने। उनले अपांगता भएका शिक्षक र विद्यार्थीका लागि विभिन्न कार्यक्रम ल्याइएकामा खुसी व्यक्त गरे।

सांसद आनन्दप्रसाद ढुंगानाले कृषिको आधुनिकीकरण र व्यावसायिकरण नगरेसम्म गरिबी न्यूनीकरण सम्भव नभएको बताए। ‘कृषि नेपालको विकासको मेरुदण्ड हो, तर अझै किसानका समस्या समाधान हुन सकेका छैनन्,’ खर्च कटौतीको प्रस्तावसहितको छलफलमा उनले भने, ‘कृषि क्षेत्रमा छुट्याइएको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन।’

आगामी आवको बजेटमा कृषि क्षेत्रमा रु. एक अर्ब बजेट कटौती गरिएको उल्लेख गर्दै सांसद ढुंगानाले बजेट घटाएर कसरी कृषिको आधुनिकीकरण सम्भव हुन्छ भनेर प्रश्न गरे। सरकारले किसानलाई मल दिन नसकेको यथार्थ सुनाउँदै उनले समयमै पर्याप्त मात्रामा मल, बिउ र सिँचाइ सुविधा उपलब्ध गराइनुपर्ने बताए।

ad
ad
ad
ad