१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १५:oo:oo

महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो।

अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र सशस्त्र प्रहरीका एसपी विनोद केसीसहितले संयुक्त रूपमा सम्मान गरेका हुन्।

पछिल्लो तीन वर्षदेखि नगरपालिकालाई बालविवाहमुक्त बनाउन पालिकाले अभियान थालेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। आगामी ०८३ सम्म पालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने नगरपालिकाको लक्ष्य छ।

नगरप्रमुख मण्डलले बालविवाह निर्मूल गर्न अभिभावक, पण्डितसहित सरोकार राख्ने सबै पक्षलाई जनचेतनासँगै कानुनी व्यवस्थालगायतबारे शिक्षित गरिएको र त्यसकै फलस्वरूप बालविवाह शूून्यमा झर्ने आस पलाएको बताए। उनले धेरै अभिभावकले कानुनको जानकारी नहुँदा तथा अन्य विभिन्न कारणले बालबालिकाको उमेर नपुग्दै विवाह गराउने गरेको पाइएको बताउँदै अभिभावकहरू बिस्तारै सचेत हुँदै गएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बालविवाह कानुनी अपराध रहेको उल्लेख गर्दै यसले बालबालिकाको पढ्न पाउने, आफ्नो जीवनबारे आफैँ निर्णय लिन सक्ने अधिकार तथा आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार खोसिरहेको बताए। बालविवाह भइरहेको थाहा पाए तत्काल जानकारी गराउनसमेत उनले आग्रह गरे।

बालविवाह शून्यमा झार्ने पालिकाको अभियानमा २० वर्षपछि विवाह गरेका सन्तानको परिवारबारे वडाले गरेको सिफारिसका आधारमा आज सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले जानकारी दिइन्। बालविवाह न्यूनीकरणमा महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र लोहारपट्टी नगरपालिकालगायत विभिन्न पालिकाले अभियान थालेका छन्।

ad
ad
ad
ad