१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
दीपक भट्ट रामेछाप
२o८१ असार १९ बुधबार १५:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

कालोपत्रे गरेको १५ दिनमै उक्कियो पिच, स्थानीय आक्रोशित

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १५:२३:oo

पुष्पलाल राजमार्गअन्तर्गत सदरमुकाम मन्थलीस्थित देवकोटाचोक सडकखण्डमा गरिएको कालोपत्रे १५ दिन नबित्दै उक्किएको छ । हिउँदको समयमा काम नगरी निर्माण व्यवसायीले असारको मध्यमा आएर हिलो माटोमाथि नै सडक कालोपत्रे गरेपछि उक्त सडक उक्किएको हो।

कालोपत्रे गरेको सडक धेरै स्थानमा भासिएको छ भने केही ठाउँमा सवारीसाधन नगुड्दै खाल्टा परेका छन्। सदरमुकाम मन्थली बजारको व्यस्त सडकमा निर्माण व्यवसायीले गरेको कालोपत्रेको विषयमा स्थानीय आक्रोशित बनेका छन्। 

सडक डिभिजन कार्यालय खुर्कोटले एक करोड चार लाखमा टेन्डर आह्वान गरेको उक्त सडकको काम गर्ने जिम्मा सिन्धुलीको गोलन्जोर कन्स्ट्रक्सनले ६४ लाख रुपैयाँमा ०८१ जेठ ३२ गते सम्पन्न गर्ने गरी ०८० कात्तिक महिनामा योजना सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालयसँग सम्झौता गरेअनुसार निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त सडकको म्याद ०८१ असार ३२ गतेसम्म थप गरिएको हो। 

हतारहतार काम सम्पन्न गरेर भुक्तानी लिने दाउमा रहेका निर्माण व्यवसायीले स्थानीयको आँखामा छारो हाल्दै कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्रे गर्दा सडकको पिच उक्किएको रामेछापका नागरिक अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले बदमास निर्माण व्यवसायीको इजाजतपत्र नै खारेज गर्नेसम्मको काम राज्यले गर्नुपर्ने बताए।

सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालदेखि देवकोटाचोक, आकासे क्षेत्र र खिम्तीलगायतका स्थानमा गरिएको कालोपत्रे ठाउँठाउँमा भासिएको छ भने धेरै ठाउँमा उक्किएको छ। सडकमा सानासाना गाडीहरू गुड्दा सडक भासिन थालेपछि गाडीचालकले सडकमा गरिएको कालोपत्रे उक्काएका थिए। उक्त घटनाका सम्बन्धमा सडक डिभिजन कार्यालय खुर्कोटमा स्थानीयले जानकारी गराएपछि सो कार्यालयबाट सडक अनुगमन गर्न आएका इन्जिनियर सन्देशराज ढुंगेलले सडक कालोपत्रे गर्दा निर्माण व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएकाले तत्काल सुधार गर्न लगाउने बताए ।

उक्किएको र भासिएको सडकको सबै स्थानको सडकको कालोपत्रे निकालेर पुनः सडक कालोपत्रे नगरे निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको विरोधमा सदरमुकाम मन्थलीका सबै स्थानीय आन्दोलनमा उत्रने मन्थली नगरपालिका– १ का श्याम श्रेष्ठले जानकारी दिए । 
 

ad
ad
ad
ad