मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १० शनिबार o६:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वाम–लोकतान्त्रिक  गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार o६:१५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी ७४औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले प्रतिगमनविरुद्धको संयुक्त संघर्षका क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । 

‘आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु,’ प्रचण्डको सन्देशमा छ । उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको पनि उल्लेख गरेका छन् । 

प्रचण्डले तत्कालका लागि प्रतिगमन परास्त भए पनि खतरा कायमै रहेको दाबी गरेका छन् । ‘देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा संघर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य भएको छैन,’ प्रचण्डको सन्देशमा छ ।

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरण 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनमा नया“ र उत्साहपूर्ण रूपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता–कार्यकर्ता पुरानै घरमा फर्केको बताए । 

प्रचण्डले कम्युनिस्ट र पूर्वमाओवादी नेता–कार्यकर्तालाई एकतामा आउन आह्वान गरे । ‘विभाजित भएका माओवादी शक्ति पुनः एकता हुने क्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ । जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ,’ प्रचण्डको भनाइ थियो । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरू एक ठाउँमा आउनुपर्ने वेला आइसकेको बताए । ‘परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिस्ट शक्तिलाई विशेष रूपले अपिल गर्न चाहन्छु,’ उनले भने । 

परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने बताए । ‘हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जित हुन्छ । माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ,’ उनले भने । 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेताहरू माओवादीमा प्रवेश गरेका थिए । जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बाग्लुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलीप थापामगरलगायतलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।