१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ बैशाख ७ बुधबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

जंगली जनावरको आतंकले सल्यानमा धमाधम गाउँ छोड्दै स्थानीय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार o८:o९:oo

मध्यवर्ती क्षेत्रमा १० वर्षको अवधिमा करिब ८० परिवारले गाउँ छाडे

कालिमाटी गाउँपालिका– ७ काप्रेचौरका धनवीर बुढा नौजनाको परिवारसहित बर्दियाको बेलुवामा बसाइँ सरे । काप्रेचौरको आमवासकै रेउते राणा पनि ६ जनाको परिवारसहित बसाइँसराइ गरे । आमवासकै डाइबर राणालाई पनि पाँचजनाको परिवारसहित बसाइँसराइ गर्नुपर्ने बाध्यता भयो । गाउँमा लगाएको अन्नबाली सबै जंगली जनावरले नष्ट गर्न थालेपछि कालिमाटी गाउँपालिका– ७ का स्थानीयले गाउँ छोड्न थालेका हुन् । 

जग्गाको लालपुर्जा नै बोकेर बसाइँसराइ गर्ने स्थानीयको संख्या बर्सेनि बढ्दै गएको छ । ‘जंगली जनावरको आतंकले गाउँबाट बसाइँसराइ गरेर जानेको संख्या बढ्दै गरेको छ,’ स्थानीय पवित्रा पुनले भनिन्, ‘धनसम्पत्ति जोडेर बसाइँसराइ गरेका कोही छैनन्, यहाँ वर्षभरि दुःख गर्‍याे, बाली भित्र्याउने वेलामा जंगली जनावरले खेतीपाती सबै सखाप पारिदिन्छन्, त्यसैले सबैले गाउँ छाड्न थाले ।’ 

पुनका अनुसार स्थानीय आफ्नो नाममा भएको जग्गा नै बाँझो छाडेर गएका छन् । ‘बसाइँसराइ गरेर गएका अधिकांश पुरुष भारतमा मजदुरी गर्छन् । अन्य सदस्य मजदुरी गरेर परिवार पाल्दै आएका छन् । कतिपय त सपरिवार कालापार छिरेका छन्,’ उनले थपे, ‘सबैले लालपुर्जा साथमै लगेका छन् ।’ सरकारले ०६७ सालमा काप्रेचौर क्षेत्रलाई समेत सिमानामा राखेर बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि जंगली जनावरबाट बाली र वस्तुभाउ जोगाउन मुस्किल भएर गाउँ छाड्नेको संख्या धेरै भएको उनको भनाइ छ ।

अर्का स्थानीय टेकबहादुर विकले राष्ट्रिय निकुञ्जले जंगली जनावरको उचित व्यवस्थापन गर्न नसक्दा धेरैको उठिवास लागेको बताए । ‘यो हाम्रो साझा समस्या हो, यदि हाम्रो पक्षमा निकुञ्जले काम गरेन भने दशौँ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाजमिन बाँझो छाडेर जानुपर्छ,’ उनले भने, ‘लालपुर्जाका आधारमा बस्ती स्थानान्तरण गरेको भए सपरिवार कालापार जानुपर्ने बाध्यता कसैलाई हुने थिएन ।’

निकुञ्ज स्थापना हुनुपूर्व ४२ घरधुरी भएको आमवासमा अहिले १९ घरधुरी मात्रै छन् । उनीहरू पनि बसाइँसराइ गरेर जाने तयारीमा रहेको मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बताए । एकातिर निकुञ्जले वनजंगल र वन्यजन्तुको संरक्षण गरे पनि अर्कोतर्फ भने निकुञ्ज क्षेत्रभित्र बसोवास गर्ने नागरिकको संरक्षण नहुँदा उठिवास लागेको उनको भनाइ छ ।

कालिमाटी गाउँपालिका वडा नम्बर ५ र ७ मा पनि मध्यवर्ती क्षेत्रबाट कति नागरिकले बसाइँसराइ गरेर गए भन्ने यकिन तथ्यांक छैन । तर, बर्सेनि जग्गाजमिन बाँझै छाडेर गाउँ छोड्नेको संख्या धेरै भएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष नैनसिंह रानाले बताए । उनले मध्यवर्ती क्षेत्रमा खटिएका कर्मचारीको मनपरी र जंगली जनावरकै कारण उनीहरूले गाउँ छाडेको बताए ।

मध्यवर्ती क्षेत्रमा करिब चार सय घरधुरी छन् । यस अवधिमा करिब ८० घरपरिवारले गाउँ छाडेर गएको उनको भनाइ छ । ‘यही क्रममा बसाइँसराइ गर्नेको संख्या रोकिएन भने अबको दश वर्षमा गाउँ शून्य हुने निश्चित छ, खेतीयोग्य सबै जमिन जंगलको रूपमा परिणत हुनेछन्,’ उनले भने, ‘आफ्नै नाममा भएको जग्गा बाँझो छाडेर लालपुर्जा बोकेर गाउँ छोड्ने क्रमलाई रोक्नुपर्छ ।’ निकुञ्ज र सरकार दुवैले स्थानीयको सुरक्षासहित बालीनाली जोगाउन विभिन्न योजना ल्याउनुपर्ने उनको भनाइ छ । 

ad
ad
ad
ad