मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Wednesday, 18 December, 2024
किरण दहाल काठमाडौं
२o७९ बैशाख ६ मंगलबार १६:१९:oo
Read Time : > 2 मिनेट
निर्वाचन डिजिटल संस्करण

एकीकृत समाजवादीको घोषणापत्र : हरेक परिवारलाई २०० युनिट बिजुली नि:शुल्क,  बजेटमा स्वास्थ्य उपचार पहिलो प्राथमिकता (पूर्णपाठसहित)

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार १६:१९:oo

एकीकृत समाजवादीले स्थानीय चुनावको घोषणापत्रमा हरेक घरपरिवारलाई दुई सय युनिटसम्म निःशुल्क विद्युत् दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले सुशासनलगायतका अन्य कार्यक्रम पनि अगाडि सारेको छ । 

हरेक घरपरिवारलाई  दुई सय युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने एकीकृत समाजवादीको प्रतिबद्धता छ । ‘स्थानीय सरकारमार्फत हरेक घरपरिवारलाई वार्षिक दुई सय युनिटसम्म विद्युत् महसुलमा छुट दिइनेछ । यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिनेछ,’ घोषणापत्रमा छ । 

यसबाहेक घोषणापत्रमा अन्य विभिन्न प्रतिबद्धता पनि समेटिएका छन् । स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचार राखिने र जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु , मिर्गौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचार स्थानीय अस्पतालबाट नि:शुल्क रूपमा उपलब्ध गराइने बताइएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन उम्मेदवारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने र निर्वाचित हुनुअघि आफू संलग्न कारोबार वा व्यवसायको कार्यकारी जिम्मेवारीबाट अलग हुने एकीकृत समाजवादीको प्रतिबद्धता छ ।

उसले भ्रष्टचारविरोधी नारासमेत अघि सारेको छ । ‘भ्रष्टाचारविहीन स्थानीय सरकार, भ्रष्टाचारमुक्त नेपाली समाज’को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदि कडाइका साथ नियन्त्रण गरिने बताइएको छ । ‘हाम्रा जनप्रतिनिधिको आर्थिक आचरण शुद्ध हुनेछ । जो–कोही भ्रष्टाचारीलाई कडा कारबाही गरिनेछ,’ घोषणापत्रमा छ ।

‘बिदेसिएका युवालाई स्वदेश फर्काऊँ : कृषि उत्पादनमा वृद्धि गरौँ’ भन्ने आह्वानका साथ युवाहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गरिने एकीकृत समाजवादीको लक्ष्य छ । सीपमूलक शिक्षालाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ । ‘सीपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिनेछ । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइनेछ,’ घोषणापत्रमा छ । 

एमालेप्रति आक्रोश
एमालेविरुद्ध आक्रोश व्यक्त गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले एमालेको नेतृत्वमा विकसित भएको दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, आचरण, तानाशाही र षड्यन्त्रकारी कार्यशैली सुधार्न नसकिने ठहर भएपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएको छ ।

नयाँ पार्टी बाध्यतावश गठन गरेको घोषणापत्रमा उल्लेख छ । ‘त्याग र बलिदानको जगमा निर्माण भएको पार्टीबाट विद्रोह गर्नु हाम्रो रहर थिएन, बाध्यता थियो । कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन जोगाउन सकिने थिएन,’ एकीकृत समाजवादीको भनाइ छ ।

केपी ओली नेतृत्वको सरकारले सुरुदेखि नै जनअपेक्षाबमोजिम काम नगरेको एकीकृत समाजवादीको आरोप छ । ओली सरकारले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएको र त्यसको प्रभाव प्रादेशिक र स्थानीय तहमा पनि परेको बताइएको छ । आफूहरूले स्थानीय तहमा राम्रो काम गरेकालाई पुरस्कृत गर्नुपर्ने र भ्रष्टाचारीलाई दण्डित गर्नुपर्ने आवाज उठाए पनि ओली नेतृत्वको सरकारले नसुनेको एकीकृत समाजवादीको आरोप छ । ‘हामीले राम्रो काम गरेका स्थानीय सरकारका पदाधिकारीलाई पुरस्कृत र प्रोत्साहित गर्नुपर्ने तथा भ्रष्टाचार गर्नेलाई दण्डित गर्नुपर्ने आवाज उठायौँ । तत्कालीन नेकपा (एमाले)को भ्रष्ट नेतृत्वले हाम्रो सुझाव सुनेन, बरु अनियमितता गर्ने र भ्रष्टाचारमा लिप्त हुनेलाई संरक्षण गर्न थाल्यो,’ घोषणापत्रमा भनिएको छ ।

अहिलेको गठबन्धनलाई तीन तहको निर्वाचनसम्म बलियो बनाएर लैजानुपर्ने एकीकृत समाजवादीको जोड छ । ‘यो गठबन्धन निर्माणमा हाम्रो निर्णायक भूमिका रहेको छ । राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि आक्रमणको खतरा अझै पनि कायमै रहेको छ । एकपटकका लागि तीनवटै तहका निर्वाचनमा सँगै मिलेर जानुपर्दछ भन्ने हाम्रो विश्लेषणका आधारमा हामी वर्तमान गठबन्धनलाई अझै बलियो बनाउन चाहन्छौँ,’ घोषणापत्रमा छ, ‘गठबन्धनलाई बलियो बनाएर लैजानका लागि हाम्रो अधिकतम प्रयास रहनेछ । वर्तमान गठबन्धनलाई आगामी संसदीय निर्वाचनमा समेत सँगै लैजानका लागि हाम्रो पार्टी पूर्णतः इमानदार छ ।’

एकीकृत समाजवादीको इमानदारितालाई कमजोरी नठान्न गठबन्धनका दललाई पनि आग्रह गरिएको छ । गठबन्धनको सहयात्रालाई सम्मान गर्दै एक्लै चुनावमा जान पनि आफूहरू तयार रहेको एकीकृत समाजवादीको भनाइ छ ।

अपमानको विरुद्ध विद्रोेह गरेर जन्मेका हौँ, अपमान सह्य हुँदैन :  अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला–जिल्लामा अरूको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गर्ने काम हुने गरेको रिपोर्ट आएको भन्दै नेपालले सैह्य नहुने बताएका हुन् । 

काठमाडौंमा मंगलबार आयोजित एकीकृत समाजवादीसँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए ।

‘जिल्ला–जिल्लामा हामीले सुनिरहेका छौँ– कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ । कतिपय ठाउँमा गाह्रो छ । सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट आइरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौँ । हामीलाई आफ्नो शक्ति र सामथ्र्यमा विश्वास छ ।’

यस्तो छ घोषणापत्र :