चलचित्र विकास बोर्डले विनाअनुमति रातको समयमा हल चलाउने चार हललाई कारबाहीका लागि सिफारिस गरेको छ। अनुगमनका क्रममा राति हल चलाएको पाइएपछि बोर्डले बिग मुभिज, एफक्युब, बिएसआर र वान सिनेमाजलाई कारबाहीका लागि सिफारिस गरेको हो।
बोर्डका सदस्य तथा बक्स अफिसका संयोजक फणिन्द्रराज कटुवालका अुनसार यी मल्टिप्लेक्सलाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय र गृह मन्त्रालयमा सिफारिस गरिएको हो।
दक्षिण भारतीय चलचित्र केजिएफ–च्याप्टर २ को लागि काठमाडौं उपत्यकाका केही हलहरूले अनुमतिविना रातको समयमा पनि सो थप गरेका थिए। रातको १ र ३ बजे पनि केही मल्टिप्लेक्सहरूले हल चलाएपछि बोर्डले अनुगमन गरेको हो। चलचित्र नियमावली २०५७ ले मन्त्रालयले तोकेको समयमा मात्र हल चलाउन पाउने व्यवस्था गरेको छ। नियमावलीको दफा १९ मा भनिएको छ, ‘प्रदर्शकले मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रदर्शन गर्नुपर्नेछ।’ यद्यपि, नियमावलीले कति बजेसम्म हल चलाउने भन्ने तोकेको छैन।
अनुमतिविना रातको समयमा हल चलाउनु नियमविपरीत मात्र नभएर सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त नभएको बोर्डका सदस्य कटुवालले बताए। बोर्डले अझै केही दिन अनुगमनलाई निरन्तरता दिने जनाएको छ।