लमजुङको बेँसीसहरमा सञ्चालित गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । चैत २५ गतेदेखि सञ्चालित १० दिने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको आइतबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री मधु अधिकारी गुरुङले समापन गरेकी हुन् । समापन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले महोत्सवले जिल्लाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताइन् । उनले भनिन्, ‘कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उकास्न महोत्सवले सहयोग पुगेको छ ।’
अधिकारीले जिल्लाको कृषि, जडीबुटी, पर्यटन, जलविद्युतको साथै स्थानीय व्यापार–व्यवसायको प्रवर्द्धनमा समेत महोत्सवले सहयोग पुगेको बताइन् । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय, परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्न महोत्सव सञ्चालन गरिएको बताए ।
जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, महोत्सवमार्फत साना तथा मझौला उद्योगको स्थापनामा प्रवर्द्धन गराई युवा जनशक्ति बिदेसिनबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, आर्थिक विकासमा महोत्सवले टेवा पुगेको संघले जनाएको छ । महोत्सवले जिल्लाको पर्यटकीय गन्तव्य एवं होमस्टेहरूको थप प्रवर्द्धनका साथै ऐतिहासिक ठाउँको प्रचारप्रसारमा सहयोग पुगेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए ।
महोत्सवमा जिल्लाको पहिचान बन्दै गएको अल्लो, अलैँची, चिया, कफी, सुन्तला र मह प्रवर्द्धन, स्थानीय तथा प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन, स्थानीय प्रतिभाहरूको प्रस्फुटन, स्थानीय कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्नाका विविध गतिविधि सञ्चालन गरिएको थियो । लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरेले महोत्सवले कोभिड– १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनर्स्थापन गर्न सहयोग पुगेको बताए ।
महोत्सवस्थल प्रवेशका लागि प्रति दर्शकका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लिइएको थियो । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइएको थियो । महोत्सवमा एक सय ७० वटा स्टल राखिएको थियो । आठवटा होटेल तथा रेस्टुरेन्ट, ३० वटा कृषि, घरेलु सामग्रीसम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहेको थियो । महोत्सव चैत २५ देखि वैशाख ४ गतेसम्म सहजी खेलमैदानमा सञ्चालन भएको थियो ।
टिकटको १० रुपैयाँँ सामाजिक क्षेत्रमा खर्च गरिने
सातौँ लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये १० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च हुने भएको छ । संघले विगतका वर्षझैँ यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट प्रतिटिकट सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको हो । जसमध्ये प्रतिटिकट दुई रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङलाई प्रदान गर्ने भएको छ । पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणार्थ प्रतिटिकट दुई रुपैयाँ सहयोग गर्ने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । उनका अनुसार सहजी खेलमैदान विकास समितिका लागि प्रतिटिकट दुई रुपैयाँ, विपत् व्यवस्थापन कोषका लागि तीन रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई एक रुपैयाँ, मानव सेवा आश्रमलाई एक रुपैयाँ र सर्वोदय ज्येष्ठ नागरिक आरोग्य आश्रमलाई प्रतिटिकट एक रुपैयाँ सहयोग गर्ने भएको हो ।