राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्ने लक्ष्यसहित भरतपुरमा शनिबार (आज)देखि अंकुरम यू–२० रग्बी सेभेन्स च्याम्पियनसिप हुँदै छ । भरतपुर–७, कृष्णपुर स्पोर्टस् मैदानमा समान महिला र पुरुषका १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चितवन, मकवानपुर, धनगढी र काठमाडौंका टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रग्बी संघका प्रतियोगिता कमिटी संयोजक विनोद तामाङले अर्को वर्ष यू–१९ एसिया अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने जनाएका छन् ।
सोही प्रतियोगिताको तयारीस्वरूप नै अंकुरम यू–२० राष्ट्रिय रग्बी सेभेन हुन लागेको तामाङले बताएका छन् । प्रतियोगितामा चितवन रग्बी संघले व्यवस्थापन जिम्मेवारी लिएको छ । अंकुरम एकेडेमीकै सक्रियतामा दुई वर्षअघि स्कुलस्तरीय रग्बी खेलको प्रशिक्षण भएको थियो । गत वर्ष प्रशिक्षकलाई तालिमसमेत दिइएको चितवन रग्बी संघका अध्यक्ष एवं अंकुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए ।