मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७९ बैशाख १ बिहीबार o८:२o:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध उजुरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o८:२o:oo

वार्षिक ५० हजार तलब दिने विद्यालय व्यवस्थापन समितिको निर्णयपछि जनज्योति आधारभूत विद्यालयकी कार्यालय सहयोगी दाडोमा शेर्पाको चार वर्ष तलब माग्दै बित्यो

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको जनज्योति आधारभूत विद्यालयकी कार्यालय सहयोगी दाडोमा शेर्पाले तलब नपाएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । चार वर्षसम्म तलब नदिई श्रम शोषण गरेको भन्दै उनले प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा उजुरी हालेकी हुन् ।

दाडोमा शेर्पा, पीडित

चार वर्षसम्म तलब नै नपाए पनि काम गरिरहेँ । पछि आर्थिक रूपले निकै समस्या भयो । आफूले पाउनुपर्ने तलबबारे जति ताकेता गरे पनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुनै चासो नदिएपछि ०७६ असारमा जागिर छोडिदिएँ । त्यहीवेला उजुरी दिने सोचमा थिएँ, तर गाउँठाउँका मानिस भएकाले मुद्दा–मामिलाविनै तलब दिनुहुन्छ भन्ने लागेको थियो । कतै उजुरी गर्नुपर्दैन, चाँडै तलब दिलाइदिन्छौँ भनेकै कारण कुरेकी थिएँ । जति आग्रह गरे पनि तलब नपाएपछि उजुरी गर्न बाध्य भएकी हुँ । 

शेर्पा ०६४ देखि खिजीदेम्बा–६ को जनज्योति आधारभूत विद्यालय खिजीफलाटेमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन् । सुरुमा एक हजार तलब सुविधा पाउँदै आएकी उनको पछि तलब पाँच सयले वृद्धि भएर मासिक एक हजार पाँच सय रुपैयाँ पुगेको थियो । ०७२ साउनसम्म उनले नियमित रूपमा तलब पाइरहेकी थिइन् । ४ भदौ ०७२ मा विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनलाई वार्षिक ५० हजार रुपैयाँ तलब दिने निर्णय गरेको थियो । सो निर्णयपछि पनि उनले विद्यालयमा कार्यालय सहयोगीका रूपमा काम गरिरहेकी थिइन् । तर, वार्षिक ५० हजार तलब दिने निर्णय गरेपछिका चार वर्षसम्म उनले तलब सुविधा पाइनन् । 

विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई पटक–पटक ताकेता गर्दा पनि चार वर्षसम्म तलब नदिएपछि आफूले बाध्य भएर उजुरी दिनुपरेको शेर्पाले बताइन् । विद्यालयमा पटकपटक आफूले पाउनुपर्ने तलबबारे ताकेता गर्दा प्रधानाध्यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बहाना गर्दै आलटाल गरेर चार वर्षसम्म झुलाएर तलब नदिएको उनको गुनासो छ ।

‘चार वर्षसम्म तलब नै नपाए पनि काम गरिरहेँ । पछि आर्थिक रूपले निकै समस्या भयो । आफूले पाउनुपर्ने तलबबारे जति ताकेता गरे पनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुनै चासो नदिएपछि ०७६ असारमा जागिर छोडिदिएँ । त्यहीवेला उजुरी दिने सोचमा थिएँ, तर गाउँठाउँका मानिस भएकाले मुद्दा मामिलाविनै तलब दिनुहुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘कतै उजुरी गर्नुपर्दैन, चाँडै तलब दिलाइदिन्छौँ भनेकै कारण कुरेकी थिएँ । जति आग्रह गरे पनि तलब नपाएपछि उजुरी गर्न बाध्य भएकी हुँ ।’ शेर्पाले विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा १३ चैतमा उजुरी दर्ता गरेकी हुन् । 

प्रधानाध्यापक भन्छन्– तलब दिने विषयमा जिम्मेवार छैन
कार्यालय सहयोगी शेर्पाको तलबको विषयमा आफू जिम्मेवार नहुने प्रधानध्यापक होमराज तामाङले बताए । यो विषय विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीभित्र पर्ने उनको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समिति अध्यक्षले आफैँ तलब दिलाउँछु भनेर कार्यालय सहयोगीका रूपमा उहाँलाई राख्नुभएको हो । प्रायः आर्थिक कारोबार पनि उहाँले नै गर्नुहुन्छ । उहाँलाई तलब दिने विषय पनि उहाँकै जिम्मेवारी भएकाले यसबारे धेरै बोल्दिनँ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले भने प्रधानाध्यापक तामाङले आफूलाई जानकारी नै नदिई बैंकबाट रकम निकासा गर्ने गरेकाले समस्या भएको बताए । प्रधानाध्यापकले आर्थिक हिनामिना गरेकाले लामो समयसम्म कार्यालय सहयोगीलाई समेत तलब दिलाउन नसकेको उनको दाबी छ । ‘प्रधानाध्यापकले मनोमानी रूपमा बंैकबाट पैसा निकाल्नुहुने रहेछ । कार्यालय सहयोगी शेर्पालाई तलब दिलाउने विषयमा पहिल्यैदेखि विवाद थियो । उनले जागिर छाडेपछि तलब दिलाउन झनै समस्या भयो,’ अध्यक्ष शेर्पाले भने, ‘हामीविरुद्ध प्रहरीमा उजुरी नै परिसकेछ । अब सरसल्लाह गरेर टुंगोमा पुग्छौँ ।’ 

खिजीदेम्बा गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अनियमितता भएको गुनासो आएपछि स्पष्टीकरण सोधेको छ । कर्मचारीले तलब नपाएको, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षबीच विवाद भएको विषयमा स्पष्टीकरण सोधिएको खिजीदेम्बा गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख बुद्धिराज मुलिचाले बताए । 

जिल्ला प्रशासन कार्यालयले भने उजुरी परेको विषय छानबिनकै क्रममा रहेको जनाएको छ । ‘चार वर्षसम्म तलब नपाउँदा पनि उहाँले किन उजुरी दिनुभएन, यो सामान्य विषय होइन । हामी छानबिन गर्छौँ,’ प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने, ‘सम्बन्धित पक्षलाई झिकाएर उहाँहरूसँग छलफल गरेर कार्यालय सहयोगी शेर्पा आर्थिक शोषणमै परेको पुष्टि भए दोषीउपर कारबाही र पीडितलाई न्याय दिलाउँछौँ ।’ 

पीडित शेर्पाले भने विद्यालयका प्रधानाध्यापक तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर्पाले चाँडै पाउने जति सबै तलब दिलाउने आश्वासन दिएकै कारण उजुरी दिन ढिलाइ भएको बताएकी छिन् । गत ३१ भदौमा रामेछापको मन्थलीस्थित कुनौरीमा भएको बोलेरो दुर्घटनामा श्रीमान् गुमाएपछि उनले थप आर्थिक संकट झेल्नुपरेको छ । बालबालिकाको शिक्षादीक्षामा सहयोग पुग्ने भएकाले आफूले पाउनुपर्ने तलबबापतको रकम माग गरेको शेर्पाको भनाइ छ ।