मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Wednesday, 18 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ बैशाख १ बिहीबार o६:१८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o६:१८:oo

विपक्षी गठबन्धनले पनि पायो औपचारिकता

एमालेले स्थानीय तह निर्वाचनमा मिलेर जाने गरी राप्रपा नेपाल र परिवार दलसँग छुट्टाछुट्टै पाँच–पाँच बुँदे सहमति गरेको छ । सहमतिअनुसार राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरू एकपछि अर्को राजनीतिक ध्रुवीकरणतिर उन्मुख भएका छन् । पाँचदलीय सत्तागठबन्धनले देशैभर तालमेलका आधार र प्रक्रिया टुंग्याएको अर्को दिन प्रमुख प्रतिपक्ष दल एमालेले अन्य दुई राजनीतिक शक्तिसँग स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति गरेको छ । योसँगै केही विपक्षी गठबन्धन बनाउने प्रयासले पनि औपचारिकता पाएको छ । 

एमालेले स्थानीय तह निर्वाचनमा मिलेर जाने गरी राप्रपा नेपाल र परिवार दलसँग छुट्टाछुट्टै सहमति गरेको छ । एमाले र राप्रपा नेपालबीच स्थानीय निर्वाचनकेन्द्रित पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको छ । त्यसैगरी, एमाले र परिवार दलबीच पनि पाँचबुँदे सहमति भएको छ । यसअघि एमालेको केन्द्रीय कमिटीले तालमेलका लागि केन्द्रमा निर्णय नगर्ने र आवश्यकताअनुसार जिल्लामा तालमेल गर्ने निर्णय लिएको थियो । 

एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पटक–पटकका संवादपछि सहमति सम्भव भएको हो । बुधबार एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट महामन्त्री सुशील श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदान–प्रदान भएको हो । राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । तर, उनीहरू निर्वाचित भएपश्चात् राप्रपा नेपालमै आबद्ध रहनेछन् ।

देशभरिका तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने एमाले र राप्रपा नेपालको सहमति छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई सघाउनेछ । सहमतिपत्रमा छ, ‘आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारहरूलाई सघाउने । एमालेले राप्रपा नेपालका उम्मेदवारहरूलाई सघाउने ।’

एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले सहकार्यको प्रस्ताव तयार पार्नेछन् । ‘एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफ्नो पार्टी केन्द्रमा पठाउने । केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन गर्ने,’ सहमतिपत्रमा छ ।

गठबन्धनका लागि एमाले र राप्रपाबीच निरन्तर संवाद भइरहेको थियो । छलफलका लागि एमालेले दाहाल र राप्रपा नेपालले श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । गठबन्धनकै लागि एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच छलफल चले पनि निष्कर्ष निस्किएको छैन ।

एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । बुधबार नै एमालेका तर्फबाट दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै दलले देशैभरका पालिकामा सम्भव भएसम्म तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएकोे छ ।

नेपाल परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । दुवै दलबीच जिल्ला तहमा भएका छलफल र सहमतिका सम्बन्धमा आ–आफ्नो प्रदेश र केन्द्रीय नेतृत्वसमक्ष नियमित रूपमा प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

लोसपा र सिके राउतको नीति : स्थानीय आवश्यकताअनुसार तालमेल 
१२ चैतमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले मूलतः एक्लै प्रतिस्पर्धा गर्ने, तर स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने ढोका खुला राखेको थियो । तर, सत्तापक्षको गठबन्धन निश्चित भएपछि एमालेले त्यस्तो निर्णयमा पुनर्विचार गर्दै केन्द्रीय स्तरबाटै सत्तागठबन्धनबाहेकका दलहरूसँग तालमेल गर्ने नीतिलाई प्राथमिकता दिएको हो । 

एमालेले मधेस प्रदेशमा नयाँ शक्तिका रूपमा संगठन विस्तार गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि तालमेलका लागि अनौपचारिक प्रयास गरिरहेको छ । तर, जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले पार्टीको केन्द्रीय कमिटीले कुनै पनि दलसँग तालमेल नगरी आफ्नै सामथ्र्यमा चुनाव लड्ने निर्णय गरेकाले एमालेसँगको वार्ता औपचारिक रूपमा अगाडि बढ्न नसकेको बताए ।

‘एमालेबाट तालमेलका लागि अनौपचारिक प्रस्ताव आएको थियो, तर केन्द्रीय कमिटीको बैठकले नयाँ पार्टी भएका कारण तालमेल नगर्ने घोषणा गरेकाले औपचारिक रूपमा छलफल अगाडि बढेन,’ साहले नयाँ पत्रिकासँग भने, ‘किसान आन्दोलनका कारण तराईमा हामीप्रतिको आकर्षण बढेकाले जनसमर्थन राम्रै देखिएका कारण ठूला दलसँग तालमेल गरेर अगाडि जाँदा स्थानीय तहमा संगठन धराशयी हुन्छ भन्ने पार्टीको निष्कर्ष छ । त्यसैले औपचारिक रूपमा हामी कुनै पनि दलसँग तालमेल गर्दैनौँ ।’ यद्यपि, स्थानीय आवश्यकता र औचित्यका आधारमा पालिका र वडा कमिटीहरूले अन्तिम अवस्थामा निर्णय गरेर तालमेल गर्न छुट दिइएको उनले जानकारी दिए ।

जनमत पार्टीले मधेस प्रदेश, काठमाडौं उपत्यकाका तीन जिल्लासहित ३४ जिल्लामा संगठन विस्तार भएको निर्वाचन आयोगलाई दल दर्ता गराउँदा जानकारी दिएको छ । नयाँ पार्टीका रूपमा जनमत पार्टी लाउडस्पिकर चिह्नबाट प्रतिस्पर्धा गर्दै छ ।

उता, सरकारबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले चुनावी तालमेल गर्ने चर्चा हुँदै आए पनि सो पार्टीका प्रवक्ता केशव झाले केन्द्रीय कार्यकारिणी समितिले कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको बताए । तर, स्थानीय आवश्यकता र औचित्यका आधारमा जिल्ला समितिहरूले नै तालमेलको निर्णय गर्न सक्ने गरी अधिकार दिइएको उनको भनाइ छ । 

‘अहिलेसम्म कुनै पार्टीसँग तालमेलका विषयमा कुराकानी भएको छैन । केन्द्रीय कार्यकारिणी समितिबाट केन्द्रबाट तालमेल कसैसँग नगर्ने, तर जिल्लाहरूलाई आवश्यकता र औचित्यका आधारमा जुन दलसँग कुरा मिल्छ, त्यहीसँग तालमेल गर्न छुट दिएर सर्कुलर गरेका छौँ, यसको अर्थ आवश्यकता देखिएको अवस्थामा गर्न सकिन्छ भन्ने नै हो,’ झाले भने, ‘बुधबार केन्द्रीय कार्यालयमा आएको जिल्लाहरूको रिपोर्ट हेर्दा स्थानीयस्तरमा कसैसँग तालमेल गर्ने कुरा आएको छैन, तर अझै समय छ, तालमेल नभए पनि सहयोग आदान–प्रदान पनि हुन सक्छ । अन्तिमसम्म कुरा मिल्ने दलसँग तालमेलको सम्भावना पनि छ ।’