कांग्रेसले एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानले उद्देश्यअनुसार लक्ष्य पूरा गरेको जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी कांग्रेसले अभियानका कारण कांग्रेसका नेता–कार्यकर्तामा अभूतपूर्व उत्साह जागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अभियानसँगै तल्लो तहसम्म भरपर्दो पार्टी कांग्रेस नै हो भन्ने मान्यता स्थापित भएको दाबी गरे । अभियानका क्रममा एमसिसीबारे जनस्तरमा रहेको भ्रम निवारण गरेकोे, कांग्रेसले गरेका विकास निर्माणका कामबारे जानकारी गराएको, केपी ओली नेतृत्वको सरकारले गरेका भ्रष्टाचारको भन्डाफोर गरेको उनले जिकिर गरे ।
‘अभियानले स्थानीय तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गरेको छ । तर, एक विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाईसँगै लिएर हिँड्ने सदासयअनुरूप हामी स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा पनि छौँ,’ उनले भने, ‘एकमहिने अभियान उत्साहका साथ व्यापक जनसहभागितामा सम्पन्न भएको छ ।’