१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत २९ मंगलबार १२:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : चर्चामा दाङका दुई उपमहानगर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार १२:३८:oo

दुईवटा उपमहानगरपालिका भएको दाङमा स्थानीय निर्वाचन नजिकिएसँगै राजनीतिक सरगर्मी बढेकाे छ। प्रभावशाली नेताहरू माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, एमालेका महासचिव शंकर  पोखरेल, कांग्रेस दिवंगत नेता खुमबहादुर खड्काको जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई निकै चासोका साथ हेरिनु स्वाभाविक हो।

अहिले राजनीतिक दलको चहलपहल त छ नै, चियापसलहरू पनि चुनावी गफबाट अछुतो छैनन्। खासगरी दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही  उपमहानगरपालिकालाई बढी चासोका साथ हेरिएको छ। वैशाख ३० गते हुन लागेको निर्वाचनमा सत्तागठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। ०७४ को निर्वाचनमा दुईवटै स्थानीय तहमा एमालेका उम्मेदवार विजयी भएका थिए। यी दुई उपमहानगरपालिकामा कुन दलबाट कसले टिकट पाउला भन्नेमा पनि उत्तिकै चासो छ।

एमालेले उम्मेदवार चयनलाई अन्तिम रूप दिने तयारी गरे पनि गठबन्धनले भने केन्द्रको निर्णय  पर्खिरहेको छ। दाङका १० वटा स्थानीय तहमध्ये कुन  स्थानीय तह कुन पार्टीले पाउने भन्ने टुंगो नलाग्दा गठबन्धन अझै उम्मेदवारहरको निष्कर्षमा पुग्न सकेको छैन। तर, उम्मेदवारीका लागि नेताहरूले आ–आफ्नो दाबी भने प्रस्तुत गरिरहेका छन्। तुलसीपुर उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी चर्चामा छन्। नातामा उनका भाइ केन्द्रीय सदस्य  तथा  पूर्वसिँचाइमन्त्री दीपक गिरी संघमा लड्ने र गेहेन्द्र उपमहानगरमा लड्ने गरी सहमति भएको कांग्रेसका एक नेताको दाबी छ। गिरी दाजुभाइले आ–आफ्नो गुट चलाउँदै आएका छन्। दिवंगत  नेता खुमबहादुर खड्काका विश्वासपात्र रहेका  गेहेन्द्र हाल देउवा प्यानलका हुन्। उनले यसअघिको स्थानीय निर्वाचनमा पनि खड्काकै बलमा उपमहानगरपालिकाको प्रमुखको टिकट पाएका थिए। उनी ०५४ सालका  संघीय  सांसद भइसकेका व्यक्ति हुन्।

दीपक गिरी कोइराला परिवारनिकट व्यक्ति हुन्। उनी शशांक कोइरालाका विश्वास पात्र  मानिन्छन्। यी दाजुभाइको गुटगट स्वार्थका कारण तुलसीपुरका हरेक निर्वाचनमा पराजय भोग्नुपरेको बताइन्छ। ‘तुलसीपुरमा कांग्रेसभित्रको राजनीति उनै दाजुभाइको वरिपरि घुम्न सक्छ। उनीहरबीच एकमत नहुँदा तुलसीपुरको कांग्रेसले धेरै ठाउँमा  क्षति व्यहोर्नु परेको छ,’ कांग्रेसका  एक नेताले भने, ‘अहिले दुवैले सहमति गरेर अघि बढ्ने गरी तयारी  गरेका हुन्।’

गेहेन्द्रले यसअघि दाङ क्षेत्र  नं. ३ को प्रदेश सभा २ बाट चुनाब लड्ने र मुख्यमन्त्री हुने आकांक्षा व्यक्त गर्दै आएका  थिए। तर, अहिले उनी मेयरमा लड्ने गरी छलफल अघि बढेको र लगभग सहमतिको नजिक पुगेको एक नेताले बताए। कांग्रेसभित्र अहिले मेयरका लागि  छलफल हुने गरेका अन्य पात्र दीपकनिकट सुरेश हमाल, विमल रिजाल तथा गेहेन्द्रनिकट घनश्याम रेग्मी, नहकुल केसी, कीर्तिबहादुर खड्का पनि हुन्। तर, गेहेन्द्रले उठ्ने इच्छा व्यक्त गरेमा सबैले समर्थन गर्न सक्ने आकलन गरिएको छ।

दुई उपमहानगरपालिकामध्ये घोराही माओवादी केन्द्रले पाउन सक्ने र तुलसीपुर कांग्रेसले पाउने सक्ने आकलन गरिएको छ। त्यसैले पनि अहिले तुलसीपुरमा माओवादी केन्द्रबाट मेयरमा खुलेर आकांक्षा राख्ने गरेका  छैनन्। मेयर माओवादी केन्द्रले पाएमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटी सदस्य सेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज, प्रेमराज वली ‘प्रभात’, केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित, पार्टीका तुलसीपुर नगर सहइन्चार्ज चित्रबहादुर खड्का ‘अनुपम’, प्रदेश कमिटी सदस्य मीना बुढा, पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, उपाध्यक्षहरू शान्ति महत र यज्ञबहादुर केसीको नाम चर्चामा  छ।

भण्डारी ०७४ सालको निर्वाचनमा पनि माओवादी  केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थिए। अहिलेको निर्वाचनमा पनि उनी उम्मेदवारका आकांक्षी रहेको बताइन्छ। ‘यदि हामी (माओवादी केन्द्र)लाई मेयरको भाग परेमा मेयरमा पनि आकांक्षी छु,’ उनल भने, ‘यदि कांग्रेसको भागमा मेयर पर्‍याे भने उपमेयरमा मेरो आकांक्षा छ।’ आफ्नो लामो राजनीतिक इतिहास भएको भन्दै यसमा पार्टीले आफूलाई न्याय गर्ने उनी बताउँछन्। मेयरका अर्का आकांक्षी प्रभात पनि आफू बलियो दाबेदार भएको बताउँछन्। उनी पूर्वजनमुक्ति सेनाका कमान्डर पनि हुन्।

एमालेबाट पनि विभिन्न व्यक्तिको चर्चा हुने गरेको छ। तर, टीकाराम खड्कालाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। उनी पुराना नेता भए पनि अहिलेसम्म सत्तामा सहभागी हुने अवसर प्राप्त गरेका छैनन्। एमालेमा  विनोद शर्मा, कृष्ण भुसाल, हालका उपमेयर माया आचार्यले पनि आकांक्षा व्यक्त गर्दैै आएका छन्। उनीहरूको नाममा पनि अहिले पार्टीभित्र चर्चा चल्दै आएको छ।

तुलसीपुरमा ०७४ मा एमालेले  विजय हासिल गरेको थियो। मेयरमा  एमालेका घनश्याम पाण्डेले २२ हजार आठ सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार नाै सय तीन मत प्राप्त  गरेका थिए। माओवादी केन्द्रका सेसुराम भण्डारीले आठ हजार ६ सय ९३ मत  प्राप्त गरेका थिए।

घोराहीमा पुरानैको चर्चा
घोराहीमा गठबन्धनबाट माओवादी केन्द्रले पाउने आकलन गरिएको छ। माओवादीले पाएको अवस्थामा ०७४ मा मेयरको उम्मेदवार  बनेका जीवन गौतम नै पुनः उम्मेदवारका रूपमा आउने देखिन्छन्। उनी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पनि हुन्। नारायणकाजी श्रेष्ठ निकट उनीसँगै हेमराज शर्मा ‘डायमन्ड’को नाम पनि चर्चामा छ। उनी पार्टीका केन्द्रीय सदस्य हुन्।

कांग्रेसबाट पनि ०७४ का उम्मेदवार भूपबहादुर  डाँगीको चर्चा छ। उनी कांग्रेसको १४औँ महाधिवेशनका पार्टीका जिल्ला सभापतिका उम्मेदवार पनि हुन्। तर, उनले पछि शंकर डाँगीलाई समर्थन जनाएका  थिए। घोराहीको मेयर दिने सहमतिपछि उनले शंकरलाई समर्थन गरेका बताइन्छ। कांग्रेसबाट किशोरचन्द्र  गौतम र प्रकाश श्रेष्ठको नाम  पनि चर्चामा छ।

एमालेबाट हालका मेयर नरुलाल चौधरीको नाम चर्चामा छ। शंकर पोखरेलका विश्वासपात्रका रूपमा चिनिने चौधरी दोहोरिने चर्चा हुने गरेको छ। ०७४ को स्थानीय तह निर्वाचनमा घोराहीमा एमालेका नरुलाल चौधरी विजयी भएका थिए। उनले २२ हजार ३० मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार चार सय ८९ मत प्राप्त  गरेका थिए। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।

ad
ad
ad
ad