नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. वेदराज केसी निर्वाचित भएका छन् । २५ र २६ चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशाैँ राष्ट्रिय सम्मेलनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्राध्यापक केसी यसअघि कार्यबाहक अध्यक्ष थिए ।
सम्मेलनबाट उपाध्यक्षहरूमा डा. खगराज शर्मा, रामकुमार राई, मनोज विष्ट, बलराम राय, भोला ओझा, तिलक भुसाल र सरिता निरौला, महासचिवमा डा. पदमप्रसाद खतिवडा र उपमहासचिवहरूमा डा. सुमन खरेल र नरेन्द्र कोइराला निर्वाचित भएका छन् ।
सम्मेलनले सचिवहरू क्रमशः होमबहादुर बस्नेत– प्रदेश एक, किशोरकुमार शाह–मधेस, देवराज अर्याल–बागमती प्रदेश, कृष्ण अधिकारी–गण्डकी, दिनेश पन्थी– लुम्बिनी, तेजविक्रम बस्नेत– कर्णाली, मानबहादुर जोरा – सुदूरपश्चिम र कोषाध्यक्षमा नन्दीकेशर नेपाललाई निर्वाचित गरेको छ ।
कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गरेका थिए । विशेष अतिथिको रूपमा एमालेका महासचिव शंकर पोखरेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सम्मेलनले प्राध्यापकहरूको हक हित र पेसागत सुरक्षाको सवालमा राज्य जिम्मेवार हुनुपर्नेतर्फ ध्यानाकर्षण गरेको छ । प्राध्यापकहरूको पदोन्नतिका लागि सेवा आयोगबाट नियमित रूपमा विज्ञापन हुनुपर्ने, अनुसन्धानको अवसरलाई फराकिलो बनाउनुपर्ने, स्वास्थ्य उपचारको सवालमा आवश्यक व्यवस्था गर्नुपर्ने, करार र आंशिक सेवामा रहेका प्राध्यापकहरूको पेसागत सुनिश्चितताका लागि सार्थक पहल गरिनुपर्नेलगायतका माग गरेको छ ।