बुधबार कोटेश्वरस्थित महादेवस्थानको सर्लाही ग्यास सप्लायर्समा ग्यास पाउन नाम दर्ता गर्नेको लामो लाइन नै लागेको थियो । सर्लाही स्टोरका सञ्चालक रामचन्द्र किशोर पासवानले डिलरले नै उपलब्ध नगराएका कारण ग्राहकलाई चाहेर पनि ग्यास दिन नसकेको बताए । उनको पसलमा दुई सय ५० जनाभन्दा बढीले ग्यास लिन नाम टिपाएका छन् । ग्राहकले अग्रिम पैसा दिँदा पनि ग्यास दिन नसकेका कारण नाम टिप्दै पठाइने गरेको उनले बताए । ‘हामीले ताकेता गरिरहेका छौँ, ग्यास छैन भन्छ, अझै १५ दिन कुर्न भनेका छौँ,’ उनले भने ।
प्रेमकुमार श्रेष्ठ महानिर्देशक, वाणिज्य आपूर्ति, उपभोक्ता संरक्षण विभाग
हामीलाई धेरैपटक गुनासो आइसकेको छ । अनुगमनलाई चुस्त बनाएका छौँ । समस्या कहाँ भएको छ, अनुगमनको टोली खोज्नलाई परिचालित गरिनेछ । यदि कालोबजारी भएको हो भने कारबाही गर्छौँ ।
बानेश्वरको एक पसलमा एक हप्ताअघिदेखि नाम टिपाएका काभ्रेका सुनील कार्की पनि लामो लाइन लाग्दा पनि ग्यास नपाएको गुनासो पोख्छन् । ‘सधैँ लिने गरेको पसलमा ग्यास छैन भन्छन्, तर नाम लेखाएर जानुुस्, पछि आएपछि फोन गर्छुु भनेका छन्,’ उनले भने । बानेश्वरको ग्यास विक्रेताकोमा खाली ग्यासको चाङ नै लगाएर राखिएको छ । बजारमा ग्यास सहज नहुँदा अधिकांश ग्यास विक्रेता पसलअगाडि खाली सिलिन्डरको लाइन लाग्न थालेको छ ।
६ चैतदेखि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि ग्यास अभाव हुन थालेको हो । सार्वजनिक यातायातजस्तै इन्धन ढुवानीमा पनि वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम समिति नै बनाएर आन्दोलन गरिरहेका थिए ।
ग्यास विक्रेताहरूले यसलाई कारण देखाउँदै एकाएक ग्यास नभएको बहाना पार्न सुरु गरेका हुन् । रुस र युक्रेन द्वन्द्वका कारण मूल्यवृद्धि हुने हल्लाले पनि व्यवसायीले कृत्रिम अभाव गर्न थालेपछि बजारमा ग्यास अभाव हुन थालेको छ । आपूर्ति सहज भए पनि व्यवसायीहरूले नै ग्यास लुकाएर महँगो मूल्यमा बेच्न अभावको सिर्जना गरेका हुन् । नेपाल आयल निगमका प्रवक्ता विनीतकुमार उपाध्यायले ग्यास मात्र नभएर सबै पेट्रोलियमको आपूर्ति सहज भएको बताए ।
प्रेमलाल महर्जन अध्यक्ष, उपभोक्ता अधिकार मञ्च
दुई–चार दिन ग्यास नआउँदै ग्यास नै अभाव हुनुपर्ने त्यस्तो छ र, सरकारले अनुगमन गरी खोज्नुपर्छ । हामी उपभोक्तावादीले पनि सरकारलाई, निगमलाई भनेका छौँ, उहाँहरू सहज छ भन्नुहुन्छ, उपभोक्ताले ग्यास पाएका छैनन्, आखिर ग्यास कहाँ छ भनी खोज्ने अधिकार सरकारको हो ।
रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको झोंकमा ६ बुँदे माग राख्दै व्यवसायीले इन्धन लोड गर्न नै बन्द गरेका थिए । तर, निगमले जायज माग सम्बोधन गर्ने सहमति जनाइसकेपछि पनि ग्यास अभाव भने कायम छ । २२ चैतमा मात्र निगमले एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढाएको छ । तर, इन्धनको भाउ अझै बढ्न सक्ने भन्दै आयल निगमले बताइरहेको छ । सोही कारण पनि महँगो मूल्यमा ग्यास बिक्री गर्न व्यवसायीले ग्यास अभावको सिर्जना गरेको हो ।
एलपी ग्यास उद्योग संघका पूूर्वअध्यक्ष गोकुुल भण्डारीले ग्यास सहज हुन अझै केही दिन लाग्ने बताए । यसअघि अभाव हुन सक्ने त्रासले उपभोक्ताले स्टक राखेको हुँदा अहिले असहज भएको उनको भनाइ छ । ‘अहिले ग्यास लोड–अनलोडको काम भइरहेको छ, सुुरुवातमा एक हप्ताजस्तो बन्द भएपछि अहिले अभाव सिर्जना भएको हो, अबको हप्ता दिनभित्र सहज हुन्छ,’ उनले भने ।
यस्तै, व्यवसायीहरूले ग्यास लुुकाएको विषयमा अनुुगमन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुुमार श्रेष्ठले बताए । ‘हामीलार्ई पनि निकै गुनासोहरू आएका छन्, म अनुुगमन टोलीलाई खटाउन लगाउनेछु, यसअघि पनि अनुुगमन गर्ने क्रममा त्यस्तो नभएको हुँदा फेरि पठाउँछौँ,’ उनले भने । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताले ग्यास नपाएको विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । ‘व्यवसायीले ग्यास लुकाए त भन्दैनन् नि, अनुगमन गर्ने काम विभागको हो,’ हामी उपभोक्ताकर्मीले जोडजाड रूपमा माग उठाएका छौँ,’ उनले भने ।
निगमका प्रवक्ता विनीतकुमार उपाध्यायले पनि व्यवसायीको माग सम्बोधन भइसकेको बताए । ‘हामीले व्यवसायीको माग सम्बोधन गर्ने सहमति भइसकेको छ, ग्यास अभाव हुनुपर्ने कुनै त्यस्तो कारण देखिँदैन,’ उनले भने ।