
नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष भएको छ। यस अवसरमा दुवै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीले एकअर्कामा बधाई तथा शुभकामना आदानप्रदान गरेका छन्। बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको अर्को वर्ष ८ अप्रिल १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदलाई शुभकामना पठाउँदै पाँच दशकअघि स्वतन्त्र बंगलादेशलाई नेपालले तत्कालै मान्यता दिएको स्मरण गराएकी छिन्। त्यसयता दुई देशबीच सम्बन्ध उत्कृष्ट रहँदै आएको उनको भनाइ छ। ‘दुई देशबीच व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा सहकार्य सन्तोषजनक रूपमा बढेको छ,’ राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी शेख हसिनालाई पठाएको बधाई सन्देशमा दुई देशको सम्बन्ध ५०औँ वर्षमा हार्दिक र मित्रवत रहेको भन्दै प्रशंसा गरेका छन्। दुई देशबीच व्यापार, पर्यटन, ऊर्जा, कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारी बढ्दै आएको भन्दै पारस्परिक लाभमा आधारित नयाँ क्षेत्रहरुमा ध्यान दिनुपर्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्। ‘दुई देशले सार्क, बिमस्टेक, बिबिआइएनलगायत क्षेत्रीय मञ्च र संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठनजस्ता बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका विषयहरू जस्तै, जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापार, सार्वजनिक स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्दै आएका छन्’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
बंगलादेशका राष्ट्रपति हमिदले दुई देशबीच आर्थिक तथा व्यापारिक सहकार्य बढ्दै गएकोमा सन्तोष व्यक्त गरेका छन्। उनले तीन वर्षअघि नेपाल भ्रमणको सम्झना गर्दै सम्मृद्धिको साझा एजेन्डामा साझा दृष्टिकोणसहित सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
‘बंगलादेशलाई तत्कालै स्वतन्त्र मुलकुका रूपमा नेपालले मान्यता दिने तथा लगत्तै कूटनीतिक समबन्ध स्थापना गर्ने कार्यले दुई देशबीच निकट मित्रताको प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री हसिनाले समकक्षी देउवालाई पठाएको सन्देशमा उल्लेख छ।