मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने आज (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुनेछ ।
मधेस प्रदेशका विभिन्न जिल्लामा पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड देखिएको छ । चैती छठका लागि सिरहाको दुर्गा पोखरी, पञ्चमुखी हनुमानजी पोखरी, जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर, वीरगन्जको घडिअर्वा पोखरी सिंगारिएका थिए । चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।
चारदिने चैती छठ
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरू निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने चलन छ । प्रसादस्वरूप खिर, केरा, दूध, मीठा (सक्कर) राखेर बनाइएका विभिन्न परिकार, फलफूल चढाइने गरिन्छ ।
पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने चलनअनुसार बिहीबार व्रतालुहरूले अस्ताउँदो सूर्यको प्रतीक्षा गरेका थिए । अर्घमा विशेष प्रकारले बनाइएको ठकुवा, भुसवासँगै मुला, उखु, भन्टा, केरा, नरिवल, झुप्पावाला केरालगायत सामग्री तयारी गरिएको थियो । सन्ध्या अर्घपछि रातभरि व्र्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्रशुक्ल सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुन्छ ।