सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन् । संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो ।सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल ०६० मा इन्स्पेक्टरमा भर्ना भएका हुन् । इन्स्पेक्टरको चौथो ब्याचका उनी सेवा उपसमूह परिवर्तन गरी लेखा समूहतर्फ लाग्दा बढुवामा पछि परेका छन् । उनीसहित सशस्त्रमा लेखा उपसमूहका ११ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा सिफारिस हुने अन्यमा गणेशबहादुर मल्ल, करबहादुर घर्तीमगर, रमेश थापा, खुसबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल र सुदन गिरी छन् । उनीहरूमध्ये सबैले इन्स्पेक्टरमा कम्तीमा १५ वर्ष बिताइसकेका छन् । हालै लेखातर्फ डिएसपीको दरबन्दी थपेर उनीहरूको बढुवा गरिएको हो ।
लेखातर्फ बढुवा भए पनि प्रशासनतर्फका पदमा भने बढुवा रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको असमझदारीले बढुवा हुन नसकेको स्रोत बताउँछ । सोमबारदेखि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई गृह नेतृत्वले दबाबमा राखेर आफूअनुकूलका अधिकृतलाई बढुवाको प्रयास गरेको थियो । तर, खनालले नमानेपछि बढुवा हुन नसकेको हो ।
इन्स्पेक्टर भर्नामा महिला उत्कृष्ट, मधेसीको संख्या शून्य
सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नामा पुष्पा बानियाँ पहिलो नम्बरमा उत्तीर्ण भएकी छिन् । बिहीबार सार्वजनिक गरिएको अन्तिम नतिजामा खुलातर्फ प्रतिस्पर्धा गरेकी उनी सर्वाेत्कृष्ट भएकी हुन् ।
समग्रमा भने महिलाको उपस्थिति कमजोर छ । महिला कोटातर्फ सातजनाको माग भएकोमा चारजना मात्र उत्तीर्ण भएका छन् । इन्स्पेक्टरमा कुल ७५ जनाका लागि खुलाइएको विज्ञापनमा ४९ जना मात्र सफल भएका छन् । लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएकोमा त्यसपछि गुणमापक परीक्षामा थप ११ जना फालिएका हुन् । समावेशी आरक्षणको कोटामा न्यून उत्तीर्ण भएका छन् । प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए । तर, गुणमापक परीक्षामा उनी फेल हुँदा एकजना पनि सफल हुन सकेनन् । पिछडिएको क्षेत्र, अमर/असक्त प्रहरीका सन्तानका कोटामा पनि कोही उत्तीर्ण भएनन् ।